सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न धमाधम आरोही गन्तव्यतर्फ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ चैत्र २०७४, बुधबार ०४:३१

काठमाडौँ।  हिमाल आरोहणको मुख्य याम वसन्त ऋतु शुरु भएसँगै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न यतिखेर धमाधम आरोही गन्तव्यतर्फ जान थालेका छन् ।

सगरमाथा, मकालु, कञ्चनजङ्घा, ल्होत्से अमादब्लमलगायत हिमाल आरोहणका लागि नेपालसहित विभिन्न मुलुकका ठूलो संख्यामा आरोही हिमालतिर लागेका हुन् ।

पर्यटन विभागका अनुसार हिमाल आरोहणका लागि सोमबारसम्म ३४ वटा आरोहण समूहले निवेदन दिएकामा २३ समूहले आरोहण अनुमतिप्राप्त गरेका छन् । यीमध्ये १५ वटा सगरमाथा आरोहण समूह छन् । आरोहणका लागि अनुमति लिनेको अहिलेसम्मको अवस्थालाई हेर्दा यो वर्ष पनि आरोहीको उत्साहजनक सहभागिता हुने विभागको अनुमान छ ।

आरोहणका लागि सम्पर्क अधिकृत पनि खटाइसकिएको विभागले जनाएको छ । छ हजार ५०० मिटरमाथिका हिमाल आरोहणमा सरकारले सम्पर्क अधिकृत खटाउने गरेको छ ।

विभागबाट अनुमति प्राप्त गर्ने दल तथा आरोहीको संख्यात्मक विवरण हेर्दा सन् २०१७ मा ४३ वटा समूहका ३६६ जना र सन् २०१६ मा ३८ वटा समूहका ३१८ जना आरोहीले सगरमाथा आरोहण अनुमति लिएका थिए ।

सन् २०१७ मा २९१ समूहका दुई हजार २२६ जना र सन् २०१६ मा २७८ समूहका एक हजार ९३४जना आरोहीले सगरमाथा सहितका हिमाल आरोहण अनुमति लिएका थिए ।

सगरमाथासहितका हिमाल आरोहणका लागि वसन्त ऋतु उपयुक्त मानिने र सो अबधिको आरोहणलाई हेर्दा सन् २०१७ मा १०८ समूहका ८३४ जनाले र सन् २०१६ मा ९८ समूहका ७४०जनाले हिमाल आरोहण गरेको देखिन्छ ।

सगरमाथा आरोहणमा जानेबाट सरकारले प्रतिव्यक्ति (विदेशी) सँग रु ११ लाख दस्तुर लिन्छ । नेपालीले रु ७५ हजार तिर्नुपर्छ । विदेशीले एक पटक सगरमाथा आरोहण गर्दा कम्तीमा रु ३० लाखदेखि रु एक करोडसम्म खर्च गर्छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१