तिम्रो लोग्ने र म अनि त्यो रात…

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ चैत्र २०७४, मंगलवार ०५:५२

लेखक: निरुपा ढुङ्गाना ‘प्रसुन’
सौभाग्य हो कि दुर्भाग्य, म केही जान्दिनँ । एक बर्ष अगाडि एकदिन साहित्यिक कार्यक्रममा तिम्रो लोग्नेसँग भेट भएको थियो । त्यसदिन मैले ठानेँ, एउटा तीस, एकतीस वर्षको युवक, पक्कै पनि कसैको लोग्ने भैसकेको छैन होला । कविता लेखेर साहित्यमा नमेटिने नाम दर्ता भैसकेको केटो, जसको प्रत्यक्ष अनुहार देख्नु भन्दा अगाडि नै म उसको जबरजस्त फ्यान थिएँ । आकर्षक शरीर, माया गरूँगरूँ लाग्ने अनुहार, ठ्याक्कै उसको कविताजस्तै सुन्दर लाग्यो । म त त्यो दिनको उसको पहिलो हेराइमै घायल भैसकेकी थिएँ । अब उपचार उसैबाट मात्र सम्भव थियो । जब त्यसदिन कार्यक्रम सकियो, भनेँ-
‘म तपाईंसँग फोटो खिच्छु नि ।’
उसलाई नछोइकनै उभिएँ म । मेरो क्यामरा अरूले क्लिक गर्दियो । म दङ्ग थिएँ । कुरा कहाँबाट सुरू गर्ने कुनै आपत्तिको विषय थिएन ।
‘मलाई तपाईंको कविता असाध्यै मन पर्छ । दोहोर्याएरसमेत पढेकी छु । त्यो बेला तिम्रो लोग्नेले मेरो कुरा सुनेर जरूरीभन्दा बढी मख्ख पर्दै भनेको थियो, ‘ओ रियल्ली ? तपाईँ पनि लेख्नुहुन्छ ।’
‘म त लेख्दिनँ । लेख्न आउँदैन । तपाईँहरूले लेखेको पढ्नमा सौखिन छु म ।’
मज्जाले हाँस्यो ऊ । मेरो आँखामा आँखा जुधाएर सोध्छ, ‘तपाईँको हबि ? ‘
‘मेरो हबि भनेको, मलाई मन परेको सिर्जनाको सर्जकलाई भेट्नु हो ।’
‘आज मनपर्ने कसलाई भेट्नु भयो त ?’
तपाईंलाई । तपाईँको त्यो चर्चित कविता ‘आँसुको रगत’ पढेदेखि नै तपाईंलाई भेट्ने रहर जागिरहेको थियो ।
‘अझ तपाईं त यस्तो उमेरकै हुनुहोला भन्ने लागेको थिएन ।’
ऊ फेरि हाँस्यो ।
‘साँच्चै हो र ?’ शङ्का ब्यक्त गर्यो उसले । शङ्कालु त आइमाई मान्छे पो हुन्छन् भन्थे ।
‘हो नि । आज भगवान् भेटेझैँ भएको छ मलाई ।’
‘मान्छेलाई मान्छेकै रूपमा स्वीकार्नु राम्रो होला कि….।’
हामी त्यो दिन छोटो कुराकानी पछि नै छुट्टयिौँ । तिम्रो लोग्नेलाई टाढा पुग्नु थियो । कार्यक्रम स्थलको जिल्लाभन्दा ठ्याक्कै जोडिएको अर्को जिल्लाको मान्छे थियो ऊ । म भने त्यहीकी बसिन्दा थिएँ । कुनै हतार थिएन मेरो घर नजिकै थियो । तिम्रो लोग्नेले सबैसँग बिदा लिएर बाइक स्टार्ट गर्यो र त्यो बेला मतिर हेर्दा पनि नहेरी गएको थियो ।
त्यो दिन त्यो कुराले मलाई रिस उठिरहेको थियो । दुई दिनसम्म फोन गरिनँ । पछि एसएमएस गरेँ । त्यो दिन खिचेको फोटो उसले ईमेल गर्दिनु भनेको थियो । यता मेरो क्यामेरा बिग्रिएर सबै फोटोहरू डिलिट भएछ ।
‘सरी, क्यामरा बिग्रियो । फोटो पठाउन सकिनँ ।’
तिम्रो लोग्नेको उत्तर आयो –
‘नो प्रोब्लम तिम्लाई कस्तो छ ? यतिखेर म तिमीलाई नै सम्झदै थिएँ ।’
उसको एसएमएसले म त दङ्गदास बनेँ । त्यो दसैँको बेला थियो । म दसँै मनाउन घर गएकी थिएँ । विगत १० वर्षदेखि काठमाडौँ मै बस्दै आएकी छु । तिम्रो लोग्ने मोफसलमै बस्थ्यो । ऊ राम्रो कविता लेखेर देशभरि चर्चित बनेको थियो । तिम्रो लोग्ने लेक्चरर पनि रहेछ । होइन त ?
म दसँै सकेर काठमाडौँ आएँ । नियमित काममा लागँे । शनिबार अथवा कुनै विदाको दिनमा म साहित्यिक माहोलमा रम्थेँ । यसो गर्न मेरो मन र विवेकले अह्राउथ्यो । त्यस्तै, एकदिन म गुरुकुलमा कविता सुन्न गएकी थिएँ । त्यो बेला उसलाई देखेर चिच्याएँ म त…..। वरिपरिका मान्छेहरू पनि ट्वाल्ल परेर हेर्याहेर्यै भए हामीलाई । तिम्रो लोग्ने पनि अलि अप्ठ्यारो मान्दै थियो क्यारे ।
‘तपाईं कसरी काठमाडौँ ?’
‘म आजकल यहीँ बस्छु । ‘
‘मलाई किन खबर गर्नु भएन त ?’
‘यसैगरी यही भेट हुन्छ भन्ने थाहा भएर । ‘
हामी दुबै मज्जाले हाँस्याँैं । त्यो दिन त्यतिमै सीमित रहेन । उसले कोठा पुगेर फोन गर्यो । घर छोडेर एक्लै कोठामा बसेको पहिलोपहिलो अनुभव सुनाउँदै थियो । मलाई यही बेलादेखि उसको माया लाग्न सुरू गरेको थियो क्यारे ।
‘एक्लै केटामान्छे, खाना बनाउनु भाँडा माँझ्न अल्छी लाग्दैन ।’
‘लागेर के गर्नु त अब ?’
‘म आइदिऊँ त ?’
‘आउँछ्यौँ ? आऊ न त । ‘
‘काम गरे बापत तलब कति दिनुहुन्छ त ?’
‘थाउजेन्ट किसेस …घण्टाको ।’
मलाई लाज लाग्यो । यहीँ मेरो कोठामा आएर उसले चुम्बन गरेको आभास भयो । एउटा मीठो नरम अनुभूति ।
‘भो त्यसो भएँ आउँदिन ।’
सुन्छ्यौ ?, तिम्रो लोग्ने त म भन्दा अगाडि पो निस्कियो । मलाई पो ऊ मन परेको थियो त….,उल्टो ऊ नै पो मलाई …हाँसो पनि लाग्यो । पत्यार पनि लागेन ।
‘पत्याएनौ ? आई एम रियल्ली फल इन लब विथ यु बेबी ।’
‘होइन होला ।’ शङ्का व्यक्त गरेँ मैले ।
‘पहिलो पटक तिमीलाई देख्ने बित्तिकै, यति राम्री स्मार्ट केटी को होली भनेर तिमीमै मेरो सारा ध्यान थियो । अगाडि मन्चमा बसुन्जेल तिमीलाई नै हेरिरहेकी थिएँ म । तिमीलाई नै सोच्दै थिएँ म …..।’
यो एसएमएस चाहिँ मैले दोहोर्याएर पढेकी थिएँ । छक्क परेँ । रमाइलो पनि लाग्यो । मैले पनि त्यो बेला अगाडि मञ्चमा दस जनामध्ये उसैलाई हेरिरहेकी थिएँ । अझ मञ्चमै उसको अटोग्राफ लिन गएकी थिएँ म । त्यस्तै सुरूको एक रात उसले फोन गर्दा २ घण्टा १५ मिनेट ८ सेकेन्ड कुरा भएको थियो । तिमी अनुमान पनि लगाउन सक्दिनौ घण्टौँ के गफ गर्यौँ हामीले भनेर । भोलिपल्ट बिहान तिम्रो लोग्नेको एसएमएस आँखा मिच्दै पढे ।
‘हाइ, स्वीटहार्ट, आर यु अल राइट ?’
‘म पहिले पो बिसन्चो थिएँ क्यारे तपाईँसँग कुरा गरे पछि बल्ल पो सन्चो भएँ । ‘
सुन्यौ, अब कुरै कुरामै हामीबीच कुनै दूरी बाँकी थिएन । मैले पनि उसलाई प्रेम गरेको इजहार गर्दिसकेकी थिएँ ।
ऊ भन्थ्यो, प्रेम भनेको मनसँग छुट्याएर गर्ने होइन । शरीर र मनसँगै हुन्छन् । मलाई पनि उसको कुरा होजस्तै लाग्यो । भावना र भौतिक भनेर बेकार मायालाई अलग्याइरहन्छु म पनि……….। तिम्रो लोग्नेले भनेजस्तै मन र शरीर एउटै त हो नि ! भन्ने पक्षमा गएँ म पनि । खै के हो ? तिम्रो लोग्नेले जे बोल्यो त्यहीले चित्त बुझ्छ । त्यही कुरा होझैँ लाग्छ । अरू सब झुठ । आफ्नै मान्यता र सिद्धान्त पनि बेकामका ठहरिएका थिएँ । तिम्रो लोग्नेको अगाडि ।
अब त आधा रातमा ब्यूँझिएर पनि उसैलाई सम्झन थालेकी थिएँ । तिम्रो लोग्ने मेरो धड्कनको नशा बनेको थियो ।
एक दिन ऊ घर फर्कियो । मलाई काठमाडाँै नै शून्य लागेर आयो । उसको रिक्तत्तामा पहिल्यै पढिसकेकी उसको कविताको किताब झिकेर पल्टाउन थाले । थाहा छ तिमीलाई ? जब त्यो किताबको लेखकीय पढेँ नि ! म त छाङ्गाबाट खसेसरि भएँ । ऊ त तिम्रो लोग्ने भैसकेको रहेछ । अझ विवाहको साक्षी तिमीहरूको ४ वर्षकी छोरीसमेत रहिछे । उफ ! छटपटी भो । असाध्यै रीस उठ्यो । तत्काल तिम्रो लोग्नेलाई फोन गरेँ ।
‘तिमीले किन भनेनौ यी सब कुराहरू ?’-तिम्रो लोग्नेलाई तिमी भन्ने भैसकेकी थिएँ म ।)
‘के कुरा ?’
‘तिम्रो त छोरीसमेत भैसकेको रहेछ ।’
मेरो कुराले उसलाई कुनै आश्चर्यमा ल्याएन । शान्तसँग भन्छ-
‘छे त छोरी, के तिमीलाई थाहा थिएन र ?’
‘कहिल्यै सुनाउने कष्ट गर्यौ र ? नभनी कसरी थाहा हुनु नि !’
‘अहिले कसरी थाहा पायौं ?’
‘तिम्रो किताब मै रै’छ नि त ।’
‘हो त । मैले मेरो किताबमै लेखेको कुरा तिमीलाई थाहै होला नि भनेर, भन्न जरूरी ठानिनँ ।’
हुन पनि हो । तिम्रो लोग्नेको के दोष ? उसले त तिम्रो बारेमा सार्वजनिक गरेकै रहेछ, मैले पढिन त के गर्नु ..?
त्यसपछि तिम्रो लोग्नेको माया भित्रैदेखि मार्नु पर्ने हो मैले तर त्यसो भएन । झन् झाङ्गियो हाम्रो अबैध प्रेम…….।
उसले मलाई तिमीलाई भन्दा बढी प्रेम गरेको ठान्थेँ म । तिम्रो लोग्नेले भन्थ्यो पनि बारम्बार-म पहिलो पुरुष होइन जसले घरमा स्वास्नी भएर पनि अर्कीसँग प्रेम गर्छ । हो त, म पनि पहिलो युवती थिइनँ जो पहिलो पटक अरूको लोग्नेसँग प्रेम गर्दैछे । हामी भेट्थ्यौ । सार्वजनिक ठाउँमा तिम्रो लोग्नेको प्रतिष्ठाको सवाल उठ्थ्यो त्यसैले निजी ठाउँ, साँघुरो ठाउँहरूमा भेट्थ्यौ हामी । भेट्नभन्दा बढी फोनमा कुरा गथ्यौँ । ऊ अफशोच व्यक्त गर्थ्यो, हाम्रो भेट ढिलो भयो भनेर । उसको कुरामा म मैनझै पग्लिएकी थिएँ । हामीले एकरातसँगै बाहिर बिताएका पनि थियौँ । त्यसपछि झन् तिम्रो लोग्ने संसारको प्रिय प्रेमी बन्यो मेरोलागि ।
यो कुरा त तिमीलाई पनि थाहै छ । अचानक ऊ बिरामी भयो । यो कुरा तिमी, घरबाट तिम्रो लोग्नेको हेरबिचारको लागि आएको दुई दिनपछि बल्ल मलाई आफू बिरामी भएको कुरा सुनाएको थियो ।
पहिलोपल्ट ब्रहृमज्ञान भो मलाई ऊ त केबल तिम्रो लोग्ने हो भन्ने कुराको । बिरामी भएर त्यति टाढाबाट तिमी आयौ, म उसको छेऊमै बसेर पनि मलाई थाहासम्म दिएन उसले । कस्तो सम्बन्ध हो यो ? मैले पनि उसलाई तिमीलेझै हस्पिटल लैजान सक्थेँ । जाउलो पकाएर खुवाउन सक्थेँ । किन तिमीलाई नै बोलाउन जरूरी
ठान्यो ? ननिको लागेको थियो मलाई । उसलाई देखाएरसमेत माया गर्न सक्दिनथेँ म । उसलाई सञ्चो भैसकेको थिएन । तिमी पनि घर फर्किसकेकी थिइनांँै । ऊ डाक्टरकोमा आउँदा मलाई भेट्यो । ऊ आउनुपर्ने डाक्टरको क्लिनिक र मेरो अफिससँगसँगै थियो । उसलाई भेट्न पाएकीमा म असाध्यै खुसी थिएँ । अलि दुब्लाएको रहेछ ऊ । मैले उसका लागि फलफूल र अरू खाने कुरा किनेकी थिएँ । त्यो किनिरहँदा मलाई अनौठो खालको आनन्द लागेको थियो ।
यही आनन्द, यही खुसी अन्तिम रहेछ तिम्रो लोग्नेसँगको । तिमीसँग अकाट्य सम्बन्ध रहेछ उसको । त्यो तिमी स्वयं पनि जान्दिनौ होली …,मैले किनेकी केही सामान पनि लगेन उसले । मलाई दोस्रो पल्ट असाध्यै नराम्रो लाग्यो । अर्काको लोग्नेलाई माया गर्नु निरर्थक लाग्यो । कस्तो प्यारसँग किनेकी थिएँ । फगत तिम्रो कारणले …। तिमीले शङ्का गछ्र्यौं भन्ने भयले…। तिम्रो मन दुख्ला भन्ने कत्रो होसियारी जतन ? मेरो दिलको हालत तिम्रो लाग्नेलाई के मतलब ?
सुन्छ्यौ ? तिम्रो लोग्नेलाई प्रेम गर्दाको सजाय भोगँे मैले । कोठामा आएर धेरैबेर रोएँ । आँशुले नै तिम्रो लोग्नेसँग भएका कुराहरू, बिताएका पलहरू धोइदिएँ । केही घण्टापछि नै मन हलुका भो । चयनसँग सास फेरँे । यो हाम्रो सम्बन्ध कुनै गन्तव्यमा पुग्नु थिएन, न त एक-अर्कोलाई प्राप्त गर्नु थियो । बस्, हामी प्रेम गर्थ्यौं । प्रेम गर्थ्यौ भन्ने भम्रमा रहिँछु म । अब त त्यो पनि बाँकी रहेन । अचम्म, अचम्मको प्रेममै माथि हुनुपर्ने ? कहिले मान्छेको रूपरङ्ग मन परेर त्यसैमा दिल खस्छ, कहिले लेखेको कुरा मन परेर त्यही लेखकसँग दिल बस्छ । कहिले ……, साँच्चै त्यो बेला पनि तिम्रो लोग्नेसँग मेरो प्रेम बसेकै थियो । अब छैन ।
साभार: मझेरी डट कम

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१