राष्ट्र बैंककै मिलेमतोमा अहिलेसम्मकै ठूलो बैंक घोटाला प्रकरणको छानविन कार्य तीब्र

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० चैत्र २०७४, शनिबार ०४:५३

काठमाडौं । नेपालको बैंकिङ इतिहासमा सबैभन्दा बढि एक अर्ब ५१ करोड रुपैंयाँ घोटाला भएको छ त्यो पनि नियामक निकाय केन्द्रीय बैंकको मिलेमतोमा ।

चार बर्षअघि तीनवटा वित्तीय संस्था मिलेर बनेको एपेक्स डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष विष्णुप्रसाद धितालसहितका पदाधिकारीहरुले बैंकको डेढ अर्ब रकम घोटाला गरेका हुन् ।

यो घोटालासँगै नेपालको बैंकिङ क्षेत्रमा अभूतपूर्व तरंग उत्पन्न भएको छ । २०७० सालमा रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, रारा विकास बैंक र अपी फाइनान्स मर्ज भएर एपेक्स डेभलपमेन्ट बैंकको नाममा कारोबार शुरु भयो । बैंकिङ क्षेत्रलाई सधैं ऋणात्मक बाटो हिडाउन चाहने तत्कालीन रारा विकास बैंकका अध्यक्ष विष्णुप्रसाद धितालले ब्यक्तिगत लाभका कारण ८० प्रतिशत खराब कर्जा बोकेको रोयल मर्चेन्टसँग मर्जर गराएका थिए । खराब कर्जा बोकेको बैंकलाई मर्ज गर्नु नै अनियमितताको संकेत भएको तत्कालीन बैंकको कार्यसमितिका सदस्यहरु बताउँछन् ।

एपेक्स बनेपछि अनियमित कर्जा २०३ करोड पुगेको थियो । तर, त्यो सबै लुकाएर राष्ट्र बैंकले प्रत्यक्ष एपेक्सलाई एनसिसीमा मर्ज गर्न अनुमति प्रदान गरेको थियो । एनसिसीसँग मर्ज हुनुभन्दा पहिले नै बैकमा १ अर्ब ५१ करोडको भ्रष्टाचार भएको तथ्य सार्बजनिक भएपनि नेपाल राष्ट्र बैंकले तत्काल छानविन भने गर्न सकेन् । एपेक्स र एनसिसी मर्ज भएपछि बैंक कार्यसमितिमा वैमनस्यता बढेको र अनियमितताको तथ्य छताछुल्ल रुपमा बाहिर आएपछि नेपाल राष्ट्र बैंकले प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० लाई छानविनका लागि अनुमति दिएको थियो ।

प्रहरीले डेढ अर्ब रुपैयाँ घोटाला गरेको अभियोगमा तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष धितालसहित सञ्चालक तथा कर्मचारी गरी १८ जनालाई पक्राउ गरेको छ ।

सिआइबीले १२८ फाइलको लगभग अध्ययन कार्य सकिसकेको र अन्य अनुसन्धानको कार्य पनि अघि बढिरहेको जनाएको छ । प्रहरीका अनुसार उनीहरुले कृत्रिम ऋणी खडा गरि ऋण प्रवाह गरेको, भिरालो पाखोबारी र कमशल जमिन धितो राखेर ऋण प्रवाह गरेको खुलेको छ । त्यस्तै ऋणीको नक्कली आयस्रोत बनाएर पनि ऋण प्रवाह गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, चैत्र ६, २०८०