फोहोरलाई मोहर बनाउन सकिन्छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ चैत्र २०७४, बुधबार ०४:१४

काठमाडौ । काठमाडौ उपत्यकामा फोहोरमैलाको समस्या कुनै नयाँ होईन । उपत्यकामा भएको फोहोरको डंगुरले राजधानीलाई दुर्गन्धित मात्र बनाएको छैन, प्रदूषणको ढोत्तरीले अनेक किसिमका रोग फैलन थालेको छ । फोहोर व्यवस्थापनमा हुने गरेको राजनीति, आन्दोलन र अवरोधले काठमाडौ प्रतिदिन प्रदूषित र दुर्गन्धित हुन थालेको छ । राजधानीका गल्लीमा छरिएका फोहोरले काठमाडौबासीलाई नाक थुनेर हिडन बाध्य बनाइरहेको छ भने बाहय पर्यटकका लागि ज्यालै असहय विषय बनेको छ ।

काठमाडौका सडक र नदीहरु हिजोआज फोहोर र ढल थुपार्ने डम्पिङ साइट बनन थालेका छन् । वास्तवमै यी फोहोरका डंगुरले वातावरणलाई दूषित बनाउनुका साथै हाम्रो सभ्यतामाथि समेत ठूलो प्रश्नचिन्ह लगाएको छ । दैनिक ४०० देखि ५०० टन भन्दा बढी फोहोरमैला निस्किने काठमाडौ उपत्यका देशकै सबैभन्दा धेरै फोहोरमैला उत्पादन हुने क्षेत्र हो । फोहोरबाट मोहोर बनाउन सकिने तथ्यप्रति ध्यान दिने हो र अन्य मुलुकका ज्ञान, सीप र प्रविधिको अनुसरण गर्ने हो भने स्थानीय वासिन्दा मात्र होइन यही फोहोरले मुलुकभरि नै विशेष योगदान पुर्याउन सकिन्छ । काठमाडौमा देखिएको फोहोर भनेको घरायसी फोहोरमैला नै हुन् । तर यसलाई धन आर्जन गर्ने माध्यम पनि बनाउन सकिन्छ । यसले फोहोर व्यवस्थापन हुनुको साथसाथै हाम्रो जस्तो कृषिप्रधान देशमा मलको माग केही मात्रामा भए पनि पूर्ति गर्न सकिन्छ । बर्षोनि करोडौ रुपियाँ मुल्य बराबरको मल अन्य मुलुकबाट नेपा भित्रिने गरेको अवस्थामा यसतर्फ ध्यान दिने हो भने यहीँको फोहोरमैलाबाट मल उत्पादन गरी मल उत्पादनमा हामी आत्मनिर्भर बन्न सक्छौं । सहरी क्षेत्रबाट निस्केका अधिकतम मफोहोरमैला कुहिने प्रकृतिको पाइएको छ भने अरु धेरैजसो फोहोर पनि पुनः प्रयोग तथा रिसाइकल गर्न सकिने खालको छ । थोरै मात्र ल्यान्डफिल्ड साइटसम्म पुर्याउन योग्य छन् । कुहिने र सडने फोहोरमैलामा विभिन्न किसिमका कीरा र व्याक्टेरिया हुन्छन जसले माटोको उर्वरा शक्ति बढाउनुका साथै उत्पादनमा पनि वृद्धि गराउँछ । घरायसी फोहोरमैलालाई बैकल्पिक स्रोतको रुपमा प्रयोग गरेर वायोग्यास उर्जा पनि प्राप्त गर्न सकिन्छ । सम्बन्धित निकायमा गएर सल्लाह र सुझाव लिई आफ्नै घरबाट निस्किएको फोहोरबाट वायोग्यास बनाउने प्रविधि एकदमै सरल, सस्तो र सर्वसुलभ पनि छ । एकातिर यसले खाना पकाउने एल पी ग्याँसको खपतमा कमी ल्याउँछ भने अर्कोतिर घरायसी प्रयोजनबाट निस्किने कुहिने फोहोरमैलालाई उचित व्यवस्थापन गरी सहरी वातावराणमा सुधार ल्याई वातावरण स्वच्छ सुनदर र सफा राख्न पनि सहयोग गर्छ ।
त्यसैले काठमाडौ लगायतका सहरका फोहोरमैला व्यवस्थापन चुस्त तथा प्रभावकारी बनाउन र फोहोरबाट मोहोर आर्जन गर्न योग्य तथा लक्ष जनशक्तिको प्रयोग उचित तालिमको व्यवस्था, स्रोतसाधनको आवश्यक व्यवस्थापन जनसहभागिता साथै व्यवसायमूलक शिक्षा नितान्त आवश्यक छ । वर्षोनि करोडौ रुपियाँ खर्चेर अहिलेको जस्तै अनुत्पादक तरिकाले फोहोर व्यवस्थापन गर्नुभन्दा निजी क्षेत्रलाई फोहोर व्यवस्थापन गर्न जिम्मा दिई फोहोरबाट धन उपार्जन गर्नेतर्फपनि सम्बन्धित निकायको ध्यान जानु आवश्यक देखिन्छ ।
-उत्सव श्रेष्ठ, उदयपुर
स्रोत : गोरखापत्र दैनिक

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१