११ वर्षको उमेरमै राजनीतिमा प्रवेश गर्ने को हुन् विना मगर ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ चैत्र २०७४, शनिबार ०४:३३

काठमाडौं। नेपाल सरकार, खानेपानी मन्त्रालयमा नवनियुक्त मन्त्री बिना मगरको जन्म २०४० साल मंसिर २२ गते कञ्चनपुरको पुनर्वासमा बुबा चन्द्रबहादुर मगर र आमा सावित्रीमाया मगरको ज्येष्ठ सुपुत्रीको रुपमा भएको हो। उनले पुनर्वासको अरनिको वस्तीस्थित अरनिको प्राविबाट शिक्षारम्भ गरिन। पुनर्वासकै गौरीशंकर निम्न मावि हुँदै जनता मावि पुनर्वासबाट उनले माध्यमिक तहको शिक्षा पूरा गरिन। उनले स्नातक तहसम्म शिक्षा आर्जन गरेकी छिन्।

बाल्यकालदेखि नै समाजमा विद्यमान गरीबी, असमानता र विभेदले उनमा विद्रोही स्वभाव विकास भयो। २०५१ सालमा ११ वर्षको उमेरमै उनी जन बालकलाकारको भूमिकामा राजनीतिमा प्रवेश गरिन। गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यजस्ता न्यूनतम सुविधा समेत नपाएका कञ्चनपुरको दक्षिणी क्षेत्रका वस्तीहरूमा जनताका आवाज उठाउँदै हुर्किएकी उनी माध्यमिक तहमा अध्ययनरत छँदा माओवादी आन्दोलनमा पूर्णकालीन कार्यकर्ता भइसकेकी थिइन्।

विद्यार्थी राजनीति गर्दा अखिल ९क्रान्तिकारी० को जिल्ला कोषाध्यक्ष हुँदै २०५६ सालमा उनी अखिल नेपाल महिला संघ ९क्रान्तिकारी० कञ्चनपुरको जिल्ला अध्यक्ष भइन। त्यसपछि राजनीतिक यात्रासँगै उच्च शिक्षा अध्ययनको लागि बिना मगर काठमाडौं आइन। काठमाडौंमा उनले तत्कालीन अखिल ९क्रान्तिकारी० मा आवद्ध भएर भित्रिरूपमा नेकपा ९माओवादी० को पूर्णकालीन सदस्यको रूपमा काम गरिन।

काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पसको स्ववियू सदस्य पदमा जितेकी बिना मगर २०६० सालमा अखिल ९क्रान्तिकारी० काठमाडौंको जिल्ला अध्यक्ष भइन। राजधानी काठमाडौंमा माओवादी आन्दोलनमा सक्रिय रहेकै बेला २०६० सालमा उनलाई तत्कालीन शाही नेपाली सेनाले गिरफ्तार ग(यो। वेपत्ता अवस्थामा नै भैरवनाथ गणमा २७ महिनासम्म उनले चरम यातना भोग्नुपर्यो। धेरै सहयोद्धासँगै बेपत्ता पार्न लैजाने क्रममा ट्रकमा अट्ने ठाउँ नभएपछि उनी संयोगवश ब्यारेकमै छुटेर बाँच्न सफल भएकी थिइन्।

शान्ति प्रक्रियामा प्रवेशपछि काठमाडौंमा नै कार्यक्षेत्र रहेर उनी फेरि अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष बनिन्। २०६४ सालको स्ववियू निर्वाचनमा उनी सरस्वती क्याम्पस लैनचौरको स्ववियू सभापति भइन। योसँगै उनी पार्टीको केन्द्रीय सदस्य समेत बनिन्। हाल उनी पार्टीको पोलिटब्यूरो सदस्य छिन्।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट झिनो मतान्तरले पराजित भएकी उनी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भइन। यसैबीचमा नेकपा माओवादी केन्द्र प्रदेश नम्बर ७ ले उनको नाम मन्त्रीका लागि सिफारिस गरेपछि पार्टीले उनलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिने निर्णय गर्यो। यो निर्णयसँगै उनले शुक्रबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएकी छिन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१