निःसन्तान दम्पतिका लागि खुसीको खबर,टेष्ट्युब बेबी प्रबिधि अब ग्रिनसिटी  अस्पतालमा पनि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ चैत्र २०७४, बिहीबार २०:४०

ग्रिनसिटी  अस्पतालले निःसन्तान दम्पत्तीको उपचारकालागि टेस्टट्युब बेबी सेवा सञ्चालनमा ल्याएको छ । यो सेवासँगै प्राकृतिक रुपमा सन्तान जन्माउन नसक्ने दम्पत्तीले कृत्रिम रुपमा बच्चा जन्माउन सक्नेछन्।

विवाहपछि प्रत्येक दम्पतिको एउटा स्वाभाविक सपना हुन्छ कि  घरमा बच्चाको हाँसो गुन्जियोस् । तर चाहँदा चाहँदै पनि सबैको यो सपना पूरा हुन सकिरहेको हुँदैन । कुनै–कुनै दम्पतिले सन्तान जन्माउन सक्दैनन् । यस्ता दम्पत्तिमध्ये धेरैले आफ्नो जीवन एक्लो र फिका अनुभव गर्छन् । हाम्रो परिप्रेक्ष्यमा विवाहको एक–दुई वर्षसम्म पनि गर्भ रहेन भने निसन्तान भएको हो कि भनेर शंका गरिन्छ। बच्चा चाहने पत्नीको उमेर ३५ र पति ४० वर्ष नाघेका छन् र ६ महीनासम्ममा पनि गर्भ बसेन भने सम्बन्धित विषयका चिकित्सककहाँ जँचाउनुपर्छ। प्राथमिक प्रकारको निसन्तान समस्यामा विवाह (यौनसम्पर्क) पछि कुनै गडबड भएको हुनसक्छ भने दोस्रो प्रकारको समस्यामा विवाह अगाडि नै समस्या आइसकेको हुन्छ। यस्तो समस्या करीब १० प्रतिशत दम्पतीमा हुन्छ। गर्भ नबस्नुको ३० देखि ४० प्रतिशत कारण पुरुषमा रहेको खराबी पाइएको छ। यसैगरी, १० प्रतिशत दुवैमा खराबी जिम्मेवार रहेको हुन्छ भने बाँकी १० प्रतिशतमा कारण पत्ता लाग्दैन।

  • आज पनि हाम्रो समाजमा सन्तान नहुनुलाई भगवानको श्राप वा पूर्वजन्मको अभिशाप भन्दै हेलाँ गर्ने चलन छ । झण्डै १५ प्रतिशत विवाहित दम्पत्तिले   सन्तान सुखबाट वञ्चित हुनुपर्दा यति सुन्दर संसार उनीहरुका लागि कालकोठरी जस्तै बन्न पुगेको छ । आजको वैज्ञानिक युगमा आइयूआई, आइभिएफ (टेष्टट्युव बेबी), एक्सीजस्ता आधुनिक प्रविधिद्वारा कैयौं निसन्तान दम्पत्तिको सपना साकार हुन पुगेको छ।
    निःसन्तान भनेको कुनै पनि परिवार नियोजनका साधन नअपनाई नियमित सहवासपश्चात् पनि २ वर्षभित्र गर्भधारण हुन नसकेको अवस्थालाई मानिन्छ । सन्तान हुन नसक्नुमा महिला तथा पुरुष दुवै समान रुपमा जिम्मेवार मानिन्छन्। कहिलेकाहीँ दुवैमा खराबी नहुँदानहुँदै पनि गर्भ रहन कैयौं वर्ष लाग्न सक्छ । किनभने गर्भ रहनु भनेको एउटा आकस्मिक घटना हो । स्वस्थ हुँदाहुँदै पनि पुरुषको शुक्रकीटले महिलाको अण्डा भेट्ने अवसर नपाएको हुनसक्छ ।
    अचेल फ्रिज गरिएका भ्रूणबाट बच्चा जन्माउनु सामान्य भइसकेको छ। प्राकृतिक गर्भाधान नभई भ्रूण प्रत्यारोपण गरेर बच्चा जन्माउने विधिलाई ‘इन भिट्रो फर्टिलाइजेसन (आइभिएफ)’ भनिन्छ। ‘आइभिएफ’ विधिबाट सबभन्दा पहिले सन् १९७८ मा लुइस ब्राउनको जन्म भएको थियो।फ्रिज गरिएको भ्रूणबाट पहिलो बच्चा सन् १९८४ मा अस्ट्रेलियामा जन्मिएको थियो। दुई महिना फ्रिजमा राखिएको भ्रूणबाट जन्मिएका बच्चा जो लेल्यान्ड हुन्। लेल्यान्डको जन्मपछि अमेरिका, बेलायत, इजरायल, नेदरल्यान्ड्स र पश्चिमी जर्मनीमा यसको व्यापक प्रयोग भयो। दुई वर्षमै दुई दर्जनभन्दा बढी बच्चा जन्मे।
    यो विधिले बच्चा जन्माउने समय केही हदसम्म भए पनि नियन्त्रण गर्न मद्दत गर्यो। त्यसअघि भ्रूण तत्काल राख्नु वा फाल्नुको विकल्प थिएन। भ्रूण जोगाएर राखिरहन सकिने यो विधिले जुम्ल्याहा वा तिम्ल्याहाको सम्भावना कम गर्ने चिकित्सकको भनाइ छ। कुनै महिला शारीरिक र मानसिक रूपमा तयार भएपछि मात्र भ्रूण प्रत्यारोपण गरिन्छ। अमेरिकी अखबार न्यूयोर्क टाइम्सले सन् १९७४ मै विज्ञहरूको भनाइ उद्धृत गर्दै लेखेको थियो– ‘भविष्यमा प्रविधि विकाससँगै यसरी जन्मिने बच्चामा वंशाणुगत रोग नहुने, लिंग र आँखाको रङ छान्न सकिने, मानसिक क्षमता बढाउन सकिने ग्यारेन्टी हुनेछ।’यसलाई धेरैले ‘बच्चा डिजाइन’ गर्ने विधि पनि मानेका छन्। संसारभर लाखौं भ्रूण फ्रिज गरेर राखिएका छन्। तिनलाई तरल नाइट्रोजनको स–साना ट्यांकीमा राखिन्छ। कतिपय दम्पतीले पछि पाउने भनेर आफ्नै वीर्य र डिम्बको भ्रूण राख्ने गर्छन्। त्यस्ता दम्पतीको मृत्यु भए पनि भ्रूण सकुशल रहन्छ। भ्रूण कति समय रहन सक्छ भन्ने पनि कसैलाई यकिन हुँदैन।
  • नेपालमा टेस्ट्युवको माध्यमबाट जन्मिएका वालवालिकाको संख्या पाँच सय पुगेको छ । आजभन्दा १२ वर्ष अघिदेखि ओम अस्पतालका डा. भोला रिजालले टेस्ट्युब बेबीको सफलतापूर्वक जन्म गराएका हुन् ।
  • निसन्तान महिलाको जाँच
    पुरुषमा हुने बाँझोपन पत्ता लगाउन तुलनात्मक रूपमा सजिलो हुने भएकोले महिलाको परीक्षणको क्रममा पनि शुरूमै उनका श्रीमान्को वीर्य जाँच गरिन्छ।
    पुरुषमा जस्तै महिलाको उमेर, विवाहित समयावधि, पहिले बच्चा पाइसकेकी छन्/छैनन् एवं यौनरोग, मधुमेह एवं जनेन्द्रिय वरिपरि कुनै संक्रमण भएको थियो या थिएन भनेर जानकारी लिइन्छ।
    त्यसैगरी, तल्लो पेटमा पहिले गरिएको शल्यक्रियाले पनि महिलामा बाँझोपन ल्याएको हुन सक्छ।
    महिलाहरूमा महीनावारी, बच्चा पाइसकेको भए गर्भावस्था तथा सुत्केरी सम्बन्धी जानकारी, परिवार नियोजनको अस्थायी साधनको प्रयोग तथा यौन सम्पर्कका बेला पीडा वा अनिच्छाबारे राम्रो जानकारी हुनुपर्छ।
    गर्भ नरहनुको कारण पत्ता लगाउने शारीरिक जाँच पड्तालको क्रममा अधिक मोटोपना वा दुब्लोपना, यौनाङ्गहरूको विकास र यौनाङ्ग वरिपरि तथा काखीका रौंको विवरण पनि लिइन्छ।
    अन्तस्राव ग्रन्थिको गडबडी, साना तथा अपरिपक्व डिम्ब, गालामा रौं पलाउने, स्तनबाट असामान्य स्राव निस्कने समस्या छ भने गर्भ रहँदैन।
    योनी तथा पाठेघर जाँचको क्रममा हल्का रूपमा रगत मिसिएको गन्धयुक्त योनीस्राव वा चिलाउने समस्या छ/छैन भनेर हेरिन्छ।
    साथै सामान्य तरीकाले नियमित डिम्ब निष्काशन हुन्छ या हँदैन, दुवैतर्फको डिम्बवाहिनी नली खुल्ला वा बन्द के छ, पाठेघरको भित्री तहमा मासु पलाएको वा टाँसिएको पो छ कि, पाठेघरको बनावटमा जन्मजात खराबी तथा पाठेघरको मुख साँघुरिएको वा वरिपरिको वातावरण शुक्रकीट अनुकूल छ/छैन भनेर हेरिन्छ।
    निसन्तान महिलामा मधुमेह, थाइराइड ग्रन्थिको गडबडी, रगतमा डिम्ब उत्पादन गर्ने, परिपक्व बनाउने एवं निष्काशन गर्ने हर्मोनहरूमा गडबडीका कारण गर्भ नरहेको थाहा पाउन रगत परीक्षण गर्नुपर्छ।
    • महिलामा सन्तान नहुने कारण
    – अण्डाशयमा अण्डा नबन्ने अथवा थुपै साना–साना डिम्ब बनेपनि नबढ्ने ।
    – पाठेघरको नली पूरा बन्द भएमा, पिप या पानी जमेमा या अण्डा पकडिने काम नगरेमा ।
    – पाठेघरको झिल्ली क्षयरोग अथवा कुनै कारणबाट पातलो हुनु ।
    – हर्मोनमा गडबडी ।
    – पाठेघरको झिल्लीमा मासु बढ्नु ।
    – गर्भाशयको मुख ज्यादै सानो हुनु ।
  • पुरुषहरूमा सन्तान नहुने कारण 
  • पुरुषहरूमा उमेर, विवाहको समय, धूम्रपान–मद्यपान, यौनरोग,  मधुमेह, अण्डकोष वरिपरि देखिने समस्या, पहिलेका कुनै शल्यक्रिया, लामो समयसम्म तापमा बसी गर्नुपर्ने पेशाले सन्तान हुने वा नहुने कुरालाई प्रभावित पार्छ। शुक्रकीटको बनावट, बनिसकेको वीर्य बाहिर आउँदा र वीर्य स्खलन हुँदाका समस्या निसन्तानका पुरुषजन्य प्रमुख कारण हुन्।   यसैगरी, यौन सम्पर्कका दौरान यौनाङ्गको अवस्था वा सही ठाउँमा वीर्य स्खलन हुने, नहुने कुरा पनि गर्भधारणसँग सम्बन्धित हुन्छ।अण्डकोषमा अण्डाशय नर्झ्दा, अण्डकोष सुन्निंदा, वंशाणुगत वा कतिपय औषधि तथा इन्डोक्राइन (अन्तश्राव) ग्रन्थिको खराबीले शुक्रकीट बन्न अप्ठ्यारो पर्छ। त्यसैगरी शुक्रकीटवाहिनी नली नै नहुने, शुक्रकीटको चाल ढिलो हुने एवं संक्रमण तथा चोटका कारणले शुक्रकीटवाहिनी नली थुनिन सक्छ। लिङ्ग पूरा उत्तेजित नहुँदा, शीघ्र स्खलन हुँदा र पिसाब खुल्ने प्वाल ठीक ठाउँमा हुँदा योनीको सही ठाउँमा वीर्य जम्मा हुन पाउँदैन।

• पुरुषमा सन्तान नहुने कारण
– विर्यमा शुक्राणुको संख्या वा गतिमा कमी
– विर्यमा शुक्रकीट उत्पादन नहुनु ।
– विर्यमा संक्रमण
– शुक्राणुको बनावटमा खराबी
– हर्मोनमा गडवडी
– पुरुष कुनै कारणवश सहवास प्रक्रियामा असमर्थ हुनु
– शुक्रनली वा अन्य भागमा केही अवरोध भएमा ।

• महिलामा गर्नुपर्ने जाँच
– पाठेघरको झिल्लीमा क्षयरोग भएको हो या होइन
– महिनावारी भएको दोश्रो वा तेश्रो दिनमा हर्मोनको जाँच
– रगतको सामान्य जाँच
– भित्री अल्ट्रासाउण्डद्वारा अण्डाको जाँच
– दुरबिन प्रविधिद्वारा पाठेघरको भित्री भाग तथा नलीको जाँच
– सहवासपश्चात् शुक्रकीटको जाँच

पुरुषमा गर्नुपर्ने जाँच
– रगतको सामान्य जाँच
– विर्यको विशेष जाँच
– आवश्यक अनुसार टेस्टिकुलर बायोप्सी गर्ने
– हर्मोनको जाँच
 

• उपचार विधि
– सबै जाँचपश्चात श्रीमान्–श्रीमतीको सामान्य उपचार गर्ने
– आर्टिफिसियल इन्सेमिनेशन विद पार्टनर्स स्पर्म
– आर्टिफिसियल इन्सेमिनेशन विद डोनर्स स्पर्म
– टेष्टट्युब बेबी
– आइभिएफ विद डोनर स्पर्म
– एग डोनेशन
– सिमेन एण्ड एम्ब्रियो बैंक
– डोनर एम्ब्रियो ट्रान्सफर
– इन्ट्रासाइटोप्लाज्मीक स्पर्म इन्जेक्शन

सामान्य उपचारअन्तरगत महिनावारी भएको तेश्रो दिनबाट अण्डा बन्ने औषधि दिएर महिनावारी भएको ९ दिनबाट ‘ट्रान्सभ्यागिनल सोनोग्राफी’ बाट अण्डा बनेको गतिविधि हेरिन्छ । कसैकसैलाई हर्मोनको इन्जेक्सन पनि दिनुपर्ने हुन्छ। अण्डा फुटेपछि प्राकृतिक सहवासको सल्लाह दिइन्छ र यसबाट गर्भधारण गर्ने अवसर बढ्न जान्छ ।
आईयूआई प्रविधिमा महिनावारी भएको दोश्रो दिनबाट अण्डा बन्ने औषधि दिएर ९ दिनबाट टिभिएसबाट अण्डा बनेको गतिविधि हेरिन्छ । कसैकसैलाई हर्मोनको इन्जेक्सन पनि दिनुपर्ने हुन्छ । महिनावारी भएको चौध–पन्ध्र दिनमा जब अण्डा फुट्छ तब श्रीमानको विर्य संकलन गरी आईभिएफ मिडियामा हेरेर मसिनो नलीको माध्यमबाट श्रीमतीको पाठेघरमा राखिन्छ । यो प्रक्रिया पीडादायक हुँदैन । यसमा बिरामीलाई अस्पताल पनि भर्ना हुनुपर्ने आवश्यकता पर्दैन । श्रीमानको विर्य संख्या निकै कम भएको या शुक्राणुको अभाव भएको अवस्थामा श्रीमान–श्रीमती दुवैको सहमतिबमोजिम दाताको शुक्राणु लिएर यो प्रविधि अपनाइन्छ । आईयूआई प्रविधिका लागि पाठेघरको एउटा नली भएपनि खुल्ला भएको हुनुपर्छ र पाठेघरको झिल्लीपनि स्वस्थ हुनुपर्छ ।
यदि महिलाको पाठेघरको दुवै नली बन्द भएमा, नलीहरू शल्यक्रियाद्वारा निकालिएमा, ६ पटकसम्म आईयूआई सफल नभएमा, बाँझोपनको कुनै कारण पत्ता नलागेमा आइभिएफ (टेष्टट्युव बेबी) विधि अपनाइन्छ ।

महिला तथा स्त्रिरोग विशेषज्ञ डा. स्वस्ति शर्माका अनुसार सामान्य अवस्थामा वा प्राकृतिक रुपमा डिम्ब र शुक्रकीटको मिलन भएर भ्रुण बन्ने प्रक्रिया महिलाको पाठेघरको नलीमा हुने गर्छ। तर, विभिन्न कारणले पाठेघरको नलीमा समस्या आएपछि आइभिएफ प्रक्रियामा जाने गरिन्छ। प्राकृतिक रुपमा बच्चा नहुने भएपछि पुरुषको शुक्रकीट र महिलाको डिम्बलाई कृत्रिम प्रविधिबाट निकाली प्रयोगशालामा राखिन्छ।
पाठेघरको नलीमा समस्या भएका महिलाहरुको शरीरबाट निकालिएको डिम्ब र शुक्रकीट बन्ने समस्या भएका पुरुषबाट निकालिएको शुक्रकीटलाई संकलन गरी सिसाको ट्युब वा प्लेटमा राखेर भ्रुण तयार पार्ने प्रक्रिया सुरु हुन्छ। यो प्रक्रिया प्राकृतिक रुपमा महिलाको पाठेघरभित्र नै हुनुपर्ने हो, तर पाठेघरको नलीमा समस्या हुँदा यस्तो प्रक्रिया नहुने भएका कारण बच्चा बस्न सक्दैन।
महिलाको पाठेघरको नलीमा हुने उक्त प्रक्रियालाई सिसाको ट्युबमा गर्ने पक्रिया नै टेस्टट्युब बेबीको प्रक्रिया हो। यो प्रक्रिया जम्मा ३६ देखी ४८ घन्टाको हुन्छ।
यसरी टेस्टट्युबमा गर्भाधानको प्रक्रिया पूरा भएपछि भ्रुणलाई सिरिन्ज (सानो पाइप)को सहायताले स्त्रीको पाठेघरको भित्तामा नै लगेर राखिन्छ। त्यसपछि महिलाको पाठेघरमा साधारण अवस्थामा जस्तै भ्रुण विकसित भई शिशुको रुप धारण गर्छ। यसरी जन्मने भएकाले बच्चालाई टेस्टट्युब बेबी भनिएको हो।
महिलाको पाठेघर पूरा बन्द भएका, अन्डाशयमा अन्डा नबन्ने वा थुप्रै साना–साना डिम्ब बने पनि नबढ्ने, पिप या पानी जमेमा, पाठेघरको झिल्ली क्षयरोग वा कुनै कारणबाट पातलो भएमा, हर्मोनमा गडबडी, पाठेघरको झिल्लीमा मासु बढ्ने, गर्भाशयको मुख ज्यादै सानो हुने जस्ता समस्या भएका महिलाले यो विधि अनुसार बच्चा जन्माउन सक्छन्।निजी अस्पतालमा ‘टेस्ट् ट्यूब बेबी’ मार्फत सन्तान जन्माउँदा तीन लाखसम्म लाग्छ ।
३५ वर्ष पछाडि तथा ४० वर्ष कटेका महिलाहरुको डिम्बको संख्या तथा गुणस्तरमै समस्या देखिने भन्दै उनले टेस्टट्युब प्रविधिबाट गर्भाधारण गर्न सकिने भएपनि पाठेघरमा कम रक्तसंचार हुने भएकाले गर्भको बच्चाको स्वास्थ्य नाजुक हुने जोखिम रहने उनको भनाइ छ ।
महिलाहरुले ३० वर्षको उमेर अगाडि नै पहिलो बच्चा जन्माउनुपर्ने र ३० कटेपछि मात्र बच्चा जन्माउने प्रयास गरेमा गर्भ नै नरहने खतरा हुने चेतावनी प्रजनन विज्ञले दिएका छन् ।बेलायती महिला तथा यौनरोग विशेषज्ञ तथा प्राध्यापक गिता नार्गन्डले पहिलो बच्चा जन्माउनका लागि महिलाहरुले ढिलो गर्न नहुने र ३० वर्ष कटेपछि मात्र पहिलो बच्चा जन्माउने सोँच बनाएका महिलाहरुमा कहिल्यैपनि बच्चा नहुने खतरा रहनसक्ने बताएकी हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०