रियालिटी सोको टिजर सार्वजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० फाल्गुन २०७४, बुधबार ०५:४९

काठमाडौं। नेपालमा रियालिटी सो हुने क्रम बढी रहेकै बेला ओमेगा इन्टरटेनमेन्टले फरक खालको सो आयोजना गर्ने भएको छ। ‘नेपालस् मेगा सिनेस्टार’ नाम दिइएको रियालिटी सोमा देशका कुनाकाप्चामा लुकेर रहेका प्रतिभा उजागर गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ। सोमबार राजधानीमा एक कार्यक्रम गरी उक्त मनोरञ्जनात्मक रियालिटी सोको टिजर सार्वजनिक गरियो।

कार्यक्रममा प्रमुख अतिथि थिए गीतकार तथा चलचित्र निर्देशक यादव खरेल। टिजर लन्चपछि शुभकामना दिँदै उनले भने, ‘प्रतिभाले ठाउँ पाउनुपर्छ, त्यसलाई मलजल गर्नुपर्छ, अनि मात्र त्यसमा फल लाग्छ।’ ‘गाउँगाउँबाट प्रतिभा प्रस्फुटन हुनुपर्छ, अझै राम्रा कलाकार जन्मनुपर्छ’, उनले थपे।

ओमेगा इन्टरटेनमेन्टका अध्यक्ष प्रवेश बरालले नेपाली प्रतिभाको खोजी गर्ने उद्देश्यले रियालिटी सो ल्याउन लागेको बताए। ‘सो नेपाली फिल्म उद्योगमा भविष्य देख्नेहरूका लागि प्रोत्साहन हो’, उनले भने। ‘हामी गाउँगाउँमा गएर प्रतिभा खोज्छौं, सिनेस्टार जन्माउँछौं। लुकेका प्रतिभालाई मञ्च प्रदान गर्नेछौं।’ प्रतियोगिताका विजेताले २० लाख नगद, एक थान कार र एक वर्षका लागि ५० लाखबराबरको अभिनय गर्ने अवसर पाउने जानकारी उनले दिए।

ओमेगाका निर्देशक समिर राणाले नेपालमा ठूलाठूला फ्रेन्चाइज सो भइरहेका छन् तर नेपालकै प्रडक्टलाई अझ राम्रो बनाउनुपर्छ भन्ने लागेर यो रियालिटी सो ल्याइएको बताए। ‘हामी लोकल रियालिटी सो ल्याउँदै छौं।’ राणाले पुरस्कार राशि एक करोडबराबरको भएको बताए।

रियालिटी सोको निर्णायकमा चलचित्र निर्देशकद्वय सोभित बस्नेत र निश्चल बस्नेत तथा नायिका माल्भिका सुब्बा रहेका छन्। कार्यक्रममा निर्णायक निश्चलले आफूमा प्रतिभा भएकाहरूले सोमा भाग लिन सक्ने बताए। ‘सोमा प्रवेश गरिसकेपछि सहभागीहरूको अभिनय क्षमता निखार्ने काम पनि गरिनेछ। यसबाट नयाँ कलाकारको जन्म हुन्छ’, उनले भने। सोका लागि पोखरा र काठमाडौंबाट चैत २८ बाट अडिसनको सुरुवात हुनेछ। कार्यक्रमको होस्ट नेपाली तारा–२ का विजेता सन्तोष लामाले गर्दै छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१