यस्तो थियो श्रीदेवीको फिल्मी करीयर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० फाल्गुन २०७४, आईतवार ०५:३४

काठमाडौं । बलिउड अभिनेत्री श्रीदेवीको हृदयघातका कारण निधन भएको छ । उनले फिल्म उद्योगमा ५० वर्ष बिताएकी थिइन् ।

जम्मा चार वर्षकी हुँदा श्रीदेवीले क्यामराअगाडि आफ्नो अभिनय प्रतिभा देखाएकी थिइन् । उनलाई बलिउडको पहिलो फिमेल सुपरस्टार पनि भनिन्थ्यो ।

भारत सरकारले उनलाई सन् २०१३ मा पद्मश्री पुरस्कारले सम्मानित गरेको थियो ।

बालकलाकारका रूपमा श्रीदेवीले थुनाविन नामक फिल्म पहिलोपल्ट गरेकी थिइन् । सानी श्रीदेवीलाई मलयाली फिल्म पूमबत्ताका लागि केरल राज्य फिल्म अवार्डबाट पनि सम्मानित गरिएको थियो ।

श्रीदेवीको पहिलो हिन्दी फिल्म जुली थियो । त्यसअघि रानी मेरा नाम भन्ने फिल्ममा श्रीदेवीले नायिकाको बालककालको भूमिका खेलेकी थिइन् ।

श्रीदेवीले तमिलमा सबभन्दा बढी फिल्म कमल हासन र रजनीकान्तका साथ गरेकी थिइन् । तेलुगुमा कृष्णा, एनटीआर र सोभन बाबूसँग र हिन्दीमा जीतेन्द्र र अनिल कपूरसँग सबभन्दा बढी फिल्म उनले खेलेकी छन् ।

जम्मा १३ वर्षकी हुँदा श्रीदेवीले तमिल फिल्म मून्डरू मुदिछु नामक फिल्ममा रजनीकान्तको सौतेनी आमाको भूमिका निर्वाह गरेकी थिइन् । नायिकाका रूपमा उनको यो पहिलो फिल्म थियो । के बालचन्दरले निर्देशन गरेको यो
फिल्ममा श्रीदेवी, कमल हासन र रजनीकान्तले सँगै काम गरेका थिए ।

सन् १९८३ मा बलिउड फिल्म हिम्मतवालाबाट श्रीदेवी सुपरहिट भइन् । सन् १९८९ मा आएको फिल्म चालबाजमा उनी दोहोरो भूमिकामा देखिएकी थिइन् । त्यही फिल्मका लागि उनलाई फिल्मफेयर सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार
दिइएको थियो ।

सन् १९९१ मा यश चोपडाको फिल्म लम्हेमा सशक्त अभिनय गरेबापत श्रीदेवीले दोस्रो फिल्मफेयर अवार्ड पाएकी थिइन् ।

सन् १९९६ मा निर्माता बोनी कपूरसँग बिहे गरेपछि श्रीदेवी फिल्मी संसारबाट टाढिएकी थिइन् । उनी त्यसबीचमा टीभी शोहरूमा देखिइन् ।

सन् २०१२ मा आएर उनले गौरी शिन्देको फिल्म इंग्लिश विंग्लिश फिल्मबाट बलिउडमा पुनरागमन गरिन् । हिन्दी सिनेमाबाट टाढा रहेपनि श्रीदेवीले इंग्लिश विंग्लिशमा राम्रो अभिनय गरेर आलोचक तथा दर्शकहरूको प्रशंसा
बटुलेकी छन् ।

श्रीदेवीका स्मरणीय फिल्महरूमा सदमा, हिम्मतवाला, नगीना, आखिरी रास्ता, जाँबाज, कर्मा, मिस्टर इन्डिया, चालबाज, खुदा गवाह, लाडला, गुमराह, जुदाई, हल्ला बोल लगायत पर्छन् ।

एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१