सी सेक्सन डेलिभरी : पैसा कमाउनकै लागि हुन्छ अप्रेसन !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ फाल्गुन २०७४, बुधबार ०६:१५

काठमाडौँ। मानिस जन्मेपछि, विवाह, सन्तान जन्माउने आदि प्रक्रिया नियमित कुरा नै हो । स्वास्थ्य सेवा र प्रविधि विकासका कारणले पछिल्ला दिनमा सन्तान जन्माउने तरिका र विधिमा पनि व्यापक परिवर्तन आएको छ ।

काठमाडौँ जिल्लाका स्वास्थ्य संस्थाहरूमा गतवर्ष भएको प्रसूतिको तथ्याङ्क हेर्ने हो भने यो ज्यादै डरलाग्दो बन्दै गएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले सन् १९८५ देखि नै सिजेरियन सेक्सन अर्थात् अप्रेसन गरी बच्चा जन्माउने दरलाई १० देखि १५ प्रतिशतलाई सामान्य भनेको छ ।

अर्थात् १० देखि १५ प्रतिशत दरलाई ‘आइडल’ मानेर विश्व स्वास्थ्य सङ्गठनले यससम्बन्धी काम गरिरहेको छ ।

नेपालमा पनि देशैभर हुने कुल सुत्ेकरीको ७ प्रतिशतको हाराहारीमा सी सेक्सन अर्थात् अप्रेसन गरी बच्चा जन्माउने गरिएको छ । यो तथ्याङ्क ग्रामीण भूभागमा घरमै बच्चा जन्माउने समेतलाई आधार मानिएको हो । स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउनेमध्ये पनि करिब २६ प्रतिशतको अप्रेसन हुने गरेको छ ।

तर राजधानी काठमाडौँको तथ्याङ्क हेर्ने हो भने, यो ज्यादै डरलाग्दो बन्दै गएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँमा उपलब्ध तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७३÷७४ मा जिल्लामा कुल ३३ हजार ८ सय ३ जना महिला सुत्केरी भएका छन् ।

३३ हजार ८ सय ३ जना महिला सुत्केरी हुँदा १२ हजार १ सय ५९ जनाको भने अप्रेसन गरी बच्चा जन्माइएको छ । सुत्केरी भएका कुल महिलामध्ये ३६ प्रतिशत महिलाको अप्रेसन गरी बच्चा जन्माइएको छ ।
यो तथ्याङ्कलाई अझै गहन विश्लेषण गर्ने हो भने काठमाडौँमा सुत्केरी भएका महिलामध्ये सरकारी स्वास्थ्य संस्थामा गएर अप्रेसन गर्ने महिलाको प्रतिशत ज्यादै कम छ । तर सुविधासम्पन्न भनिएका महँगा अस्पतालमा सुत्केरी हुन जाने अधिकांश महिलाहरूको पेट चिरिएको छ, अर्थात् अप्रेसन गरी बच्चा जन्माइएको छ ।

निजी अस्पतालमा अधिकांशको ‘सी सेक्सन’
काठमाडौँका अस्पतालहरूमा भएको सिजेरियन सेक्सन अर्थात् अप्रेसन गरी बच्चा जन्माइने दरलाई हेर्ने हो भने अधिकांश निजी अस्पतालको सी सेक्सन दर ६० प्रतिशतभन्दा माथि छ । सामुदायिक अस्पताल र आमा सुरक्षा कार्यक्रम लिएका अस्पतालको दर भने ५० प्रतिशतभन्दा तल देखिएको छ ।

रिफरल अस्पताल भए पनि परोपकार प्रसूतिगृह लगायत केही सरकारी अस्पतालको सी सेक्सन दर भने अन्यको तुलनामा कमै देखिएको छ ।

कुन अस्पतालमा कति प्रतिशत अप्रेसन ?
काठमाडौँमा गत आर्थिक वर्षमा सुत्केरी भएका महिलामध्ये राम्रा भनिएका र अत्यधिक महँगा अस्पतालमा नै बढी अप्रेसन गरी बच्चा जन्माइएको छ ।

वयोधामा ९९ प्रतिशत
आर्थिक वर्ष २०७३/७४ मा वयोधा अस्पतालमा सुत्ेकरी हुन जाने ९९ प्रतिशत महिलाको अप्रेसन गरी बच्चा जन्माइएको छ ।

वयोधामा सुत्केरी गराइएको ८७ जना महिलामध्ये ८६ जनाको अप्रेसन गरी बच्चा जन्माइएको छ ।

अर्थात् ८७ जनामध्ये १ जनाको मात्रै सामान्य अवस्थामै बच्चा जन्माइएको छ ।

नर्भिकमा ८९ प्रतिशत
त्यसैगरी प्रसूति गराउँदा बढी अप्रेसन गराउने अर्को अस्पताल हो, नर्भिक इन्टरनेसनल हस्पिटल । नर्भिकमा गत आर्थिक वर्षमा ४ सय १० जनाले बच्चा जन्माएकामा ३ सय ६६ जनाको अप्रेसन गरिएको छ ।

ओम अस्पतालमा ८७ प्रतिशत
वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर भोला रिजालले चलाएका चावहिलको ओम अस्पतालको अवस्था पनि उस्तै छ । ओममा गत आवमा ८ सय ८४ जनाले बच्चा जन्माएकामा ७ सय ६९ जनाको अप्रेसन गरिएको छ ।

भ्याली मेटरनिटीमा ८५ प्रतिशत
प्रजनन् स्वास्थ्य परीक्षणदेखि सेवामा अगाडि रहेको भ्याली मेटरनिटी क्लिनिकको अवस्था पनि उस्तै डरलाग्दो छ । भ्याली मेटरनिटीमा गत आ.व.मा कुल ६ सय ५१ जना महिला सुत्केरी हुँदा ५ सय ५४ जनाको पेट चिरिएको छ ।

ग्र्यान्डीमा ८३ प्रतिशत
काठमाडौँकै अर्को सुविधासम्पन्न अस्पताल ग्र्यान्डी अन्तर्राष्ट्रिय अस्पतालको सी सेक्सन दर पनि उस्तै छ । ग्र्याण्डीले गत आ.व.मा कुल ३ सय ८ जनाको सुत्केरी गराएकोमा २ सय ५६ जनाको अप्रेसन गरिएको छ ।

ब्लु क्रसमा शतप्रतिशत
यता ब्लु क्रस अस्पतालमा शतप्रतिशत सी सेक्सन डेलिभरी देखिएको छ । तर ब्लु क्रसले गत आ.व.मा एकजना मात्रै महिला सुत्केरी गराएको थियो । तर ती महिलाको पनि अप्रेसन गरी बच्चा जन्माएकाले यो शतप्रतिशत देखिएको हो ।

सिभिलमा ४२ प्रतिशत
सरकारी अस्पताल भए पनि सिभिल अस्पतालको सी सेक्सन दर पनि धेरै माथि नै रहेको छ । सिभिलमा गत आ.व. मा १ हजार ७ जनाले बच्चा जन्माएकामा ४ सय २५ जनाको अप्रेसन गरी बच्चा जन्माइएको छ । जुलाई प्रतिशतमा हेर्दा ४२ प्रतिशत हुन्छ ।

प्रसूति गृहमा २८ प्रतिशत
सरकारी अस्पताल भए पनि प्रसूति गृहको सी सेक्सन दर पनि सामान्यभन्दा बढी नै छ । तर यो देशैभरका अस्पतालका रेफरल सेन्टर भएकाले यो दर बढेको प्रसूति गृहको दाबी छ । गत आ.व.मा परोपकार प्रसूति गृहमा १८ हजार ८ सय १४ जना महिला सुत्केरी हुँदा ५ हजार १ सय ८७ जनाको अप्रेसन गरिएको छ ।

एनएमसीमा २६ प्रतिशत
निजी अस्पताल भए पनि अत्तरखेलको नेपाल मेडिकल कलेजमा भने सी सेक्सन दर केही कम देखिएको छ । सरकारको आमा सुरक्षा कार्यक्रम लिएकाले पनि हुनसक्छ यहाँको सी सेक्सन दर जम्मा २६ प्रतिशत मात्रै छ । आर्थिक वर्ष २०७३÷७४ मा एनएमसीमा सुत्केरी भएका २ हजार ९ सय ८७ महिलामध्ये ७ सय ९० जनाको मात्रै अप्रेसन गरिएको छ ।

चल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्रमा ८ प्रतिशत
सरकारी संस्था चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्रमा भने सी सेक्सनको दर ८ प्रतिशत मात्रै देखिएको छ । चाल्नाखेलमा गत आ.व. मा १२ जना महिला सुत्केरी हुँदा १ जनाको मात्रै अप्रेसन गरिएको छ ।

जनस्वास्थ्य कार्यालय भन्छ, ‘यो त अति भयो’
काठमाडौँ जिल्लामा सी सेक्सन डेलिभरीको तथ्याङ्क डरलाग्दो रूपमा बढिरहेको छ । अधिकांश निजी अस्पतालको सी सेक्सन दर सरकारीभन्दा ३ गुणा बढी छ भने विश्व स्वास्थ्य सङ्गठनले मानेको आधारभन्दा ६ गुणा माथि छ ।

 

तर जिल्ला जनस्वास्थ्य कार्यालयले यसलाई कसरी हेरेको छ त ?


जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी एवम् तथ्याङ्क अधिकृत पुस्कर बिजुक्छे भन्छन्, ‘यो त अति भयो । परोपकार प्रसूति गृह रेफरल सेन्टर भएको कारण केही बढी छ, तर पनि अन्य निजी अस्पतालको भन्दा ज्यादै कम छ । तर सुविधासम्पन्न भनिएका निजी अस्पतालमा यो दर अत्यधिक बढिरहेको छ । हामीले यसलाई घटाउन र अनावश्यक अप्रेसन नगर्न भनेका छौँ ।’

सरकारी डाक्टर भन्छन्, २० प्रतिशतमा झार्नुपर्छ
यता परोपकार प्रसूति गृहका निर्देशक प्राध्यापक डाक्टर जागेश्वर गौतम भने सी सेक्सन दरलाई २० प्रतिशतमा झानुपर्ने बताउँछन् । अत्यावश्यक अवस्थामा अप्रेसन गरे पनि सामान्य अवस्थामै अप्रेसन गर्नु गलत भएको उनको ठम्याइ छ । सी सेक्सन डेलिभरीले भविष्यमा विभिन्न स्वास्थ्य समस्या ल्याउने भएकाले बिरामी, बिरामीका आफन्त र डाक्टर स्वयम्ले यसबारे ध्यान दिनु जरुरी भएको गौतम बताउँछन् । परोपकार प्रसूति गृह रेफरल अस्प्ताल भएकाले यहाँ पनि २८ प्रतिशतको हाराहारीमा अप्रेसन हुने गरेको छ । तर यसलाई पनि हामी २० प्रतिशतमा झार्ने कोसिस गरिरहेका छौँ ।

सी सेक्सनले स्वास्थ्यमा निरन्तर समस्या ल्याउँछ

वरिष्ठ प्रसूतिरोग विशेषज्ञ डाक्टर जागेश्वर गौतमले प्रजनन् स्वास्थ्यमा काम गरेको २ दशक भयो । उनी सकेसम्म बिरामी र उनीहरूका आफन्तलाई बच्चा जन्माउँदा अप्रेसन नगर्न सल्लाह दिन्छन् ।

अप्रेसन गरेर बच्चा जन्माउँदा तत्कालीन तथा दीर्घकालीन स्वास्थ्य समस्या आउने गौतम बताउँछन् । सी सेक्सन गरेका महिलाहरूलाई हर्निया तथा पेट दुख्ने समस्या भइरहने उनी बताउँछन् ।

सी सेक्सन गर्दा बढी रगत बग्ने, पेटमा घाउ हुने समस्या पनि हुन्छन् । अप्रेसन गर्दा एनेस्थेसियाको प्रयोग गर्नुपर्ने भएकाले कसै कसैलाई मुटु तथा टाउकोमा पछिसम्म समस्या आउने उनी बताउँछन् ।

एक पटक अप्रेसन गरी बच्चा जन्माएपछि अर्कोपटक पनि अप्रेसन नै गर्नुपर्ने भएकाले २ पटकभन्दा बढी बच्चा जन्माउन नसकिने समस्या पनि हुन्छ । त्यसैले अप्रेसन गर्नुभन्दा सकेसम्म ‘नर्मल डेलिभरी’ गराउन सुझाव दिनछन्, डाक्टर गौतम ।

‘अन डिमान्ड’ डेलिभरीले अप्रेसन बढ्यो

पछिल्लो समय काठमाडौँको सी सेक्सन दर बढ्नुको एउटा प्रमुख कारण अन डिमान्ड सी सेक्सन पनि हो ।

बिरामीले आफू एक वा दुईवटा मात्रै सन्तान जन्माउने र प्रसव पीडा नलिने भन्दै डाक्टरलाई अप्रेसन गरिदिन आग्रह गर्छन् ।

सरकारी अस्पतालमा अन डिमान्ड डेलिभरी सम्भव नभए पनि निजी अस्पतालमा भने अन डिमान्ड डेलिभरी बढी नै हुने गरेको छ ।

निजी अस्पतालका डाक्टरलाई कुनै रिस्क पनि नहुने र बिरामीले नै माग गरेपछि उनीहरूले अप्रेसन गरिदिने गरेका छन् ।

पैसा कमाउनकै लागि अप्रेसन !

अहिले काठमाडौँका सामान्य निजी अस्पतालमा पनि अप्रेसन गरी बच्चा जन्माउँदा एक लाख रुपियाँभन्दा बढी लाग्छ । अझ सुविधासम्पन्न भनिएका वयोधा, ग्र्यान्डी, ब्लु क्रसलगायतका अस्पतालमा अप्रेसन गरी बच्चा जन्माउँदा त सरदर ३ लाखको हाराहारीमा रकम तिर्नुपर्छ ।

नर्मल डेलिभरी गर्दा धेरै पैसा लिन नपाइने, अस्पतालमै धेरै दिन राख्नु नपर्ने हुँदा वेड चार्जलगायतका शुल्क लिन पनि पाइँदैन । यस्ता अस्पतालमा हुने खानेका परिवार जाने भएकाले पैसा तिर्न समस्या पनि भएन । त्यसकारण यस्ता अस्पतालमा सुत्केरी हुन जाने अधिकांशको अप्रेशन नै गरिने गरिएको छ ।

अस्पताल र डाक्टरको ‘नो रिस्क’

२०६२/६३ को जन आन्दोलनपछि निजी अस्पताल तोडफोडले व्यापकता पाएको छ । उपचारका क्रममा बिरामीको मृत्यु भएमा वा स्वास्थ्यमा केही समस्या आएका यस्ता अस्पतालमा तोडफोड हुने, डाक्टरहरूमाथि हातपात हुने र क्षतिपूर्ति माग गर्नेको सङ्ख्या बढेको छ ।

जसको कारण अस्पतालले पनि रिस्क लिन चाहँदैनन् र नर्मल डेलिभरी हुने केशलाई पनि अप्रेसन गरिदिने गरेका छन् ।

होला त ‘सी सेक्सन’मा कमी ?
विश्व स्वास्थ्य सङ्गठनले आदर्श मानेभन्दा झण्डै ३ गुणा बढी अप्रेसन भइरहेछ, काठमाडौँमा । यसको प्रमुख कारण भनेको बिरामी वा तिनका आफन्तलाई राम्रो परामर्श दिन नसक्नु नै हो ।

अप्रेसन गर्दा तत्काललाई सहज भए पनि भविष्यमा धेरै समस्या पार्ने भएकाले यसलाई कमी गर्नैपर्छ । अन डिमान्ड र नो रिक्स भन्दै पैसा कमाउनकै लागि निजी अस्पतालले धमाधम अप्रेसन गर्न थाल्ने हो भने

यसले अरू थप समस्या ल्याउन पनि सक्छ । यसैले सबैभन्दा पहिलो आवश्यकता भनेको समयमै परामर्श दिनु अपरिहार्य भएको प्रजनन् स्वास्थ्यका चिकित्कहरू बताउँछन् ।

के भन्छन्, विदेशी डाक्टरहरू 
भारतकी स्त्री रोग विशेषज्ञ डाक्टर मधु गोयल भन्छिन्, सिजेरियन डेलिभरी पछि स्वस्थ हुन निकै समय लाग्छ, जबकि नर्मल डेलिभरी भएका महिला एकदमै छिटो स्वस्थ बन्छिन् ।

सिजेरियन डेलिभरीपछि धेरै रगत बग्ने भएकाले कमजोरी, आमाको दूध नै नआउने र डिप्रेसन हुनेसम्मको समस्या हुन सक्छ । त्योबाहेक अप्रेसनपछि महिला मोटो हुने र मधुमेहको रोगसमेत लाग्ने सम्भावना अधिक रहन्छ ।

साइत हेरेर बच्चा जन्माउन चाहन्छन्
भारतकी चिकित्सक मधु गोयलको अनुभव पनि यस्तो छ– कतिपय महिलाहरू आफ्नो बच्चा कुनै खास दिन वा खास साइतमा जन्माउन चाहान्छन् । त्यस्तो अवस्थामा डाक्टरलाई सी सेक्सनको विकल्प छैन ।
डाक्टर मधु गोयल सिजेरियन सेक्सनको थप कारणबारे भन्छिन्, ‘पछिल्लो समय महिलाहरू बढी उमेरमा गर्भवती हुने र शारीरिक व्यायम नगर्ने कारणले पनि बाध्य भएर सिजेरियन डेलिभरी गर्नु परिरहेको छ ।’

जो आमा बन्न डराउँछन्
डाक्टर मधु भन्छिन्, सिजेरियन सेक्सनको दर बढ्नुको कारण हाम्रो रहनसहन पनि हो । महिलाहरू ढिलो उमेरमा बिहे गर्ने, ढिलो उमेरमै बच्चा जन्माउने र पर्याप्त शारीरिक व्यायम नगर्ने कारणले नर्मल डेलिभरी सहज छैन ।

कतिपय अवस्थामा महिलाले बच्चा जन्माउन बल गर्दिनन् र आमा र बच्चा दुवैलाई खतरा छ, त्यस्तो अवस्थामा हामी बाध्य हुन्छौँ, सी सेक्सन गर्नमा । कतिपय अवस्थामा भने महिलालाई सिजेरियन डेलिभरीका लागि यसकारण बाध्य पारिन्छ, जब नर्मल डेलिभरीका लागि डाक्टरसँग लामो समय हुँदैन । यद्यपि विश्व स्वास्थ्य सङ्गठनले बनाएको २६ बुँदे निर्देशिकामा के भनिएको छ भने गर्भवती महिलालाई बच्चा जन्माउने प्रशस्त समय दिइयोस् ।

छिमेकी देश भारतमा यतिबेला सिजेरियन डेलिभरीको औसत दर १८ प्रतिशतको हाराहारीमा छ । जबकि नेपाल र भारतभन्दा बढी विकसित देशहरूमा सिजेरियन डेलिभरीको दर ज्यादै कम छ ।
सन् २०१५ मा गरिएको एक अध्ययनअनुसार बेलायतमा प्रति १ सय महिलामा ११ जनाको मात्रै सिजेरियन डेलिभरी गरिन्छ । त्यसैगरी नर्वेमा यो दर ६ दशमलब ६ प्रतिशत छ । इटालीमा भने यो दर २५ प्रतिशतको हाराहारीमा छ । विश्व स्वास्थ्य सङ्गठनको निर्देशिकाअनुसार महिलाले डिमान्ड गरे पनि पहिले उनीहरूलाई नर्मल डेलिभरीका लागि मानसिक रूपले तयार पार्नुपर्ने उल्लेख छ । साभार – रातोपाटि मदन ढुंगाना

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१