तपाइँ कम सुत्नुहुन्छ ? सावधान मस्तिष्कमा हुन्छ खतरा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ फाल्गुन २०७४, बुधबार ०४:३८

क्यानडाका वैज्ञानिकहरुले निन्द्राको कमीले मानिसमा पार्ने प्रभावबारे अहिलेसम्मकै सबैभन्दा ठूलो अध्ययन शुरु गरेका छन् ।

वेस्टर्न युनिभर्सिटी ओन्टारियोले विश्वमा जुनसुकै ठाउँमा रहेका मानिसहरुलाई अनलाइनमार्फत हुने परीक्षणमा सहभागी हुन आग्रह गरेको छ ।

त्यसक्रममा विशेष रुपमा तयार पारिएका कम्प्युटर खेलहरुमार्फत तर्क गर्ने क्षमता, भाषाको ज्ञान र निर्णय क्षमताबारे परीक्षण गरिने बताइएको छ ।

लण्डनको ब्रेन एण्ड माइन्ड इन्स्टिच्युटका स्नायु वैज्ञानिक प्रध्यापक एड्रीयन ओवेनले यो अनुसन्धानको नेतृत्व गरिरहेका छन् ।

उनी भन्छन्, ‘राम्रोसँग नसुत्दा हामी कस्तो महसुस गर्छौँ भन्ने हामीलाई थाहा छ तर निन्द्राले मस्तिष्कमा पारिरहेको असरका बारेमा हामीलाई एकदमै कम जानकारी छ, निन्द्राले हाम्रो बौद्धिकता, स्मरण क्षमता र ध्यान मग्न रहनसक्ने क्षमतामा कस्तो प्रभाव पार्छ भनेर हामीले जान्न खोजिरहेका छौँ ।’

उक्त समूहले परीक्षणबाट प्राप्त हुने अंकलाई मानिसले सुत्न बिताएको समयसँग तुलना गर्नेछन् ।

कति समय सुतेकाले कति अंक प्राप्त गरे भनेर वैज्ञानिकहरुले हेर्नेछन् ।

व्यक्ति अनुसार निन्द्राको आवश्यकता फरक पर्ने गरेको छ तर यदि चाहिने संख्यामा मानिसहरुले यो अध्ययनलाई सहयोग गरे भने वैज्ञानिकहरुले मस्तिष्कलाई अधिकतम क्रियाशील बनाउन औसतमा आवश्यक निदाउने समय निर्धारण गर्न सक्नेछन् ।

कुनै पनि कम्प्युटर, ट्याब्लेट या स्मार्ट फोनमार्फत तोकिएका खेलमा सहभागी भएर उक्त परीक्षणमा सहभागिता जनाउन सकिन्छ ।

मानिसहरुले आफ्नो जीवनको कूल समयको झण्डै एक तिहाई सुतेर बिताउने गरेका छन् र त्यो श्वासप्रश्वास र खानेकुरा जतिकै मानिसका लागि महत्वपूर्ण छ ।

तर चौबिसै घण्टा सक्रिय रहने संस्कृतिका कारण मानिसहरुले पहिलेभन्दा कम समय सुत्नमा खर्च गरिरहेको बुझिन्छ ।

अघिल्लो महिना नेचर रिभ्युज न्युरोसाइन्समा प्रकाशित एउटा लेखले लामोसमयसम्म कम सुत्दा त्यसले मस्तिष्कमा पार्ने असरबारे एकदमै कम जानकारी रहेको उल्लेख गरेको थियो ।

औद्योगिक राष्ट्रहरुमा सुत्ने समयावधिमा जोखिमकै तहको कमी देखिएको भन्दै तत्कालै अनुसन्धान गर्नुपर्ने आवश्यकता औंल्याएको थियो ।

यो निन्द्रासम्बन्धी अध्ययनमा सहभागी हुने व्यक्तिहरुले समाज तथा विज्ञान दुवैले खोजिरहेका केही प्रश्नहरुको जवाफ दिनसक्ने ठानिएको छ । एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१