हेटौंडा गोल्डकपको उपाधि आर्मीलाई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ फाल्गुन २०७४, आईतवार ०४:३४

मकवानपुर।  त्रिभुवन आर्मी क्लब टुबर्ग हेटौंडा गोल्डकपको उपाधि जित्दै बर्षको छैठौं प्रतियोगिता जित्न सफल भएको छ। साविकको विजेता आर्मीले हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको तेश्रो संस्करणको उपाधि कब्जा गर्दै वर्षकै सर्वाधिक सफल क्लब बन्न सफल भएको छ।

विजेता आर्मीले उपाधिसँगै नगद ५ लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता नेपाल पुलिस क्लबले नगद ३ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। आर्मीले विभागीय टोली नेपाल पुलिसलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको च्याम्पियन भएको हो । निर्धारित ९० मिनेट समयमा गोलरहित बराबरी भएपछि खेलको नतिजाका लागि टाइब्रेकरको सहारा लिईएको थियो । टाइब्रेकरमा आर्मीका गोलरक्षक विकेश कुथुले पुलिसका २ बललाई असफल पार्दै आर्मीलाई बिजयी बनाउन महत्वपूर्ण भुमिका खेले।

आर्मीको तर्फबाट दीप लामा, विकेश कुथु, सन्तोष तामाङ र विवेक बस्नेतले गोल गरेका थिए। आर्मीका फरवार्ड नवयुग श्रेष्ठले प्रहार गरेको बल भने पोलमा लागेर फर्किएपछि जाली चुम्न सकेन। पुलिसको तर्फबाट टाइब्रेकरमा सुमन लामा, अजित राजभण्डारी र दिनेश राजवंशीले गोल गरेका थिए । पुलिसका तेज तामाङ र बुद्ध लामाको प्रहार आर्मीका गोलरक्षक विकेशले गोल हुनबाट रोकेपछि पुलिसका खेलाडी र समर्थक निराश भएका थिए।

फाइनल खेलको म्यान अफ दी म्याच आर्मीका गोलरक्षक विकेश कुथु भए। उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे। आर्मीका डिफेन्डर विमल पाण्डे प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हुँदै नगद ५० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरे। प्रतियोगितामा आर्मीका नवीन न्यौपाने उत्कृष्ट प्रशिक्षक, आर्मीका विकेश कुथु उत्कृष्ट गोलरक्षक घोषित भए। पुलिसका दिनेश राजवंशी उत्कृष्ट डिफेन्डर, पुलिसका अभिषेक रिजाल उत्कृष्ट फरवार्ड र तेज तामाङ उत्कृष्ट मिडफिल्डर हुन सफल भए । उत्कृष्ट घोषित सवै प्रशिक्षक र खेलाडीले जनही नगद १५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

प्रशिक्षक तथा खेलाडीहरुलाई नेपाली सेना मध्यपृतनाका पृतनापती प्रभुराम शर्मा, ३ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरिक्षक केशरीराज घिमिरे, प्रदेश सभाषद प्रेमबहादुर पुलामी, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामा, मकवानपुरका निमिक्त प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्का, अखिल नेपाल फुटबल संघ९एन्फा०का केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठ, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना, सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानका अध्यक्ष भेष खड्गी लगाएतले शिल्ड, मेडल, पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका थिए ।

यसवर्ष आर्मीले वीरगञ्जमा विशाल स्मृति, सताक्षी गोल्डकप, मेची नेत्रालय गोल्डकप, खप्तड गोल्डकप र सिमरा गोल्डकप जितिसकेको छ। पुलिसले यसवर्ष आहा रारा गोल्डकप जितेको छ।

समापन कार्यक्रममा पूर्व गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियो। सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा गत शनिबारबाट हेटौंडा–१० स्थित फरेष्ट्री खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा करिब ६० लाख रुपैंया खर्च भएको आयोजकले जनाएको छ । प्रतियोगितामा ‘ए’ डिभिजन क्लब थ्रीस्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, नेपाल आर्मी, सशस्त्र प्रहरीको एपीएफ, संकटासहित हेटौंडाको बिजय युथ र सुदुरपश्चिम–११ को सहभागिता रहेको थियो । ‘ए’ डिभिजन क्लबहरु थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, आर्मी, सशस्त्र प्रहरीको एपीएफ, संकटासहित ८ टिमको सहभागिता रहेको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०