विद्युत्बाट चल्ने सवारी साधनको सञ्चालन खर्च प्रतिकिलोमिटर चार रुपैयाँ सस्तो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ फाल्गुन २०७४, शनिबार ०५:५५

काठमाडौँ । पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनभन्दा विद्युत्बाट चल्ने सवारी साधनको सञ्चालन खर्च प्रतिकिलोमिटर चार रुपैयाँ सस्तो पर्ने देखिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले गरेको अनौपचारिक अध्ययनअनुसार हाल सञ्चालनमा रहेका बसको डिजल इन्जिनले प्रतिकिलोमिटर १६ रुपैयाँ ८० पैसाको इन्धन खपत गर्छ भने विद्युत्बाट चल्ने बसले प्रतिकिलोमिटर १२ रुपैयाँ ९६ पैसाको विद्युत् खपत गर्छ ।

पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनभन्दा विद्युतीय सवारी साधन चलाउँदा करिब ४५ प्रतिशतले सस्तो पर्ने देखिन्छ । ७४ खर्च गरेर खरिद गरिएको डिजलले मात्रै पाँच किलोमिटरको यात्रा गर्न सकिन्छ भने तीन हजार २४० खर्च गरेर ३२४ किलोवाट आवर विद्युत् चार्ज गर्दा त्यसबाट २५० किलोमिटरको यात्रा गर्न सकिने प्राधिकरणको अध्ययनले देखाएको छ ।

यस्तै प्रतिलिटर रु १०४ मा खरिद गरिएको पेट्रोल कारबाट १६ किलोमिटर यात्रा गर्न सकिन्छ । यस आधारमा हेर्दा प्रतिकिलोमिटर छ रुपैयाँ ५० पैसा खर्च हुन्छ । रु १५० खर्च गरेर १५ किलोवाट आवर विद्युत् चार्ज गरेको विद्युतीय कारले प्रतिकिलोमिटर एक रुपैयाँ ५० पैसामा यात्रा गर्न सकिन्छ । सामान्यतः १५ किलोवाट आवरको विद्युत्ले एक सय किलोमिटर यात्रा गर्न सकिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणकै अध्ययनअनुसार १०४ मा खरिद गरिएको पेट्रोल मोटरसाइकलमा राख्दा त्यसबाट ४० किलोमिटरको यात्रा गर्न सकिन्छ । त्यसका लागि प्रतिकिलोमिटर दुई रुपैयाँ ६० पैसा खर्च लाग्छ । विद्युतीय मोटरसाइकलमा भने ३७ पैसामा एक किलोमिटरको यात्रा गर्न सकिन्छ ।

प्राधिकरणका अनुसार २२ रुपैयाँको विद्युत् प्रयोग गर्दा विद्युतीय मोटरसाइलकबाट ६० किलोमिटरको यात्रा गर्न सकिन्छ । प्रतिकिलोमिटर ३७ पैसामा यात्रा गर्न सकिन्छ । पेट्रोलभन्दा विद्युतीय मोटरसाइकलको खर्च दुई रुपैयाँ २३ पैसा प्रतिकिलोमिटर सस्तो पर्ने देखिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१