खुट्टा दुख्छ ? यस्ता छन् कारण र उपचार विधि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ फाल्गुन २०७४, शनिबार ०४:२२

काठमाडौं । स्वास्थ्यका दृष्टिको हिँड्नु निकै फाइदाजनक हुन्छ । यसलाई व्यायामको सबैभन्दा सजिलो उपाय मानिन्छ । यद्यपि त्यसबेलासम्म मात्र हिँड्न सकिन्छ, जबसम्म हाम्रो खुट्टा दुख्दैन ।

त्यसो त खुट्टा दुख्नुलाई सामान्य समस्या मानिन्छ । हामीमध्ये धेरैजसो खुट्टाको दुखाइबारे त्यतिबेलासम्म सचेत हुँदैनौं, जबसम्म यसले दैनिक जीवनमा असर पार्दैन । शरीरको सम्पूर्ण भार खुट्टामै पर्ने भएकोले यसमा केही समस्या देखिए बेलैमा सजग हुनुपर्छ ।

खुट्टा दुख्ने समस्या बढ्दो उमेर, मोटोपन र शारीरिक अस्वस्थतासित सम्बन्धित हुने ‘जर्नल अफ फुट एन्ड एन्कल रिसर्च’ (२००८) मा प्रकाशित एक अध्ययनले जनाएको छ । अध्ययन अनुसार, खुट्टा दुख्ने समस्या पुरुषमा भन्दा महिलाहरुमा बढी हुन्छ । जीवनशैली तथा स्वास्थ्य समस्याको कारण खुट्टा दुखाइ हुन सक्छ ।

खुट्टाको दुखाइ वा असहजपना विशेषगरी खुट्टाको कुर्कुच्चा, पैंताला लगायत भागमा बढी हुने गर्छ । यस्तो दुखाइ सामान्यदेखि असह्य हुनेसम्मको अवस्थामा पुग्न सक्छ । कसैलाई थोरै समय र कसैलाई लामो समयसम्म यस्तो पीडा रहन्छ ।

कतिपय पीडा सामान्य उपचारपछि घरमै ठीक हुन्छ भने लामो समयसम्म पीडा भइरहेमा चिकित्सकको परामर्श लिनुपर्छ ।

खुट्टा दुख्ने कारण र समाधानका उपाय यस्ता छन्ः

अग्लो हिल भएको जुत्ता

खुट्टा दुख्नुको प्रमुख कारणमध्ये अग्लो हिल भएको जुत्ताको प्रयोग पनि एक हो । २ं५ इन्चभन्दा बढी हिल भएको जुत्ताले पैंतालामा अधिक दबाव सिर्जना गरी पैैंतालाको आकारलाई साँघुरो बनाइदिन्छ, जसले गर्दा पीडा हुन्छ ।
हिल जुत्ताको प्रयोगले खुट्टा पोल्ने, मर्कने जस्ता समस्या बढाउँछ ।

समाधानको तरिका

– सही सन्तुलन र कम दबावको लागि बाक्लो हिल भएको जुत्ताको प्रयोग नगर्ने ।
– औंला राख्ने ठाउँमा खुला भएको उच्च हिलयुक्त जुत्ताको प्रयोग गर्ने ।
– साँझमा करिब १५ मिनेटका लागि खुट्टालाई नुनपानीमा डुबाउने ।
– सुत्नुअघि खुट्टाको राम्ररी मसाज गर्ने । यसबाट रक्तसञ्चारलाई प्रभावकारी बनाई दुखाइ कम गर्छ ।

कसिलो जुत्ताको प्रयोग

धेरै कसिलो जुत्ताको प्रयोगले पनि खुट्टा दुख्ने गर्छ । कसिला जुत्ताले खुट्टाका औंलाहरुमा दबाव पर्ने गर्छ । लामो समयसम्म असजिलो जुत्ताको प्रयोगले शरीरको मांसपेशी, जोर्नी, खुट्टाको लिगामेन्ट, पैंताला, कम्मर तथा पिठ्युमा हानि पुर्‍याउँछ ।
ढल्किँदो उमेरसँगै खुट्टाको बनावट परिवर्तन हुने गर्छ । त्यसैले जुत्ता किन्न जाँदा खुट्टाको नाप लिएर मात्र जुत्ता छान्ने गरौं ।

समाधानको तरिका

– गुणस्तरीय र खुट्टालाई आरामदायी हुने जुत्ता लगाउने ।
– ६ देखि आठ महिनाको अन्तरालमा नयाँ जुत्ता लगाउने ।
– ज्हिले पनि साँझतिर जुत्ता खरिद गर्ने । दिनभरको हिँड्डुलले खुट्टामा बढी सुजन हुने भएकोले त्यसबेला खरिद गरेको जुत्ता आरामदायी हुन्छ ।
– जुत्ता खरिद गर्दा जहिले पनि दुवै जुत्ता लगाएर केही कदम हिँड्दै सजिलो भए-नभएको जाँचौं ।

गर्भावस्था

गर्भवती भएको बेला बान्ता हुने, ढाड दुख्ने जस्तै खुट्टा दुख्ने समस्या पनि हुन्छ । बढ्दो तौलका कारण गर्भावस्थामा खुट्टामा बढी भार पर्ने गर्छ, जसले गर्दा खुट्टा दुख्ने र थाक्ने समस्या हुन्छ ।

यस्तो बेला बढ्दो तौलकै कारण घुँडा र पैंतालामा बढी दबाव हुन्छ । यस्तो समस्या गर्भावस्थाको तेस्रो महिनादेखि सुरु हुन्छ । बच्चाको जन्मसँगै दुखाइ हराउँछ ।

गर्भावस्थामा हुने खुट्टाको दुखाइ कम गर्ने तरिका

– खुट्टा लामो समयसम्म नटेकी सकेसम्म उचालेर राख्ने ।
– शरीरमा पानीको अभाव हुँदा खुट्टा सुनिने र दुख्ने भएकोले बढी झोल पदार्थ सेवन गर्ने ।
– बसेर गोलीगाँठोभन्दा मुनिको भागलाई गोलाकार रुपमा घुमाउने । यस्तो व्यायामले गोलीगाँठोमा रक्तसञ्चारलाई प्रभावकारी बनाउँछ ।

खुट्टाको नङ बढ्नु

खुट्टाको नङ बढ्दा पनि पैंतालामा बेलाबखत समस्या बढ्ने गर्छ । नङ बढेर औंलाको छेउछाउमा गढेमा नङछुरी भएर दुखाइ बढ्छ । यसैले तपाईंले बेलाबेलामा नङ काट्न ध्यान दिनुपर्ने हुन्छ ।
कसिलो जुत्ताको प्रयोगले पनि नङछुरी भएर खुट्टामा जलन हुन्छ ।

समाधानको तरिका

– खुट्टाको दुखाइ, जलन, सुजन कम गर्न केही समय तातोपानीमा खुट्टा डुबाउने । अझ प्रभावकारी फाइदा लिन फिट्किरी वा एप्पल साइडर भेनेगरलाई पानीमा मिसाउने ।
– खुट्टालाई पानीमा डुबाएपछि छालामा गढेको नङलाई सुती कपडाले विस्तारै माथि निकाल्ने ।
– औंलामा संक्रमण भएको छैन भने छालामा गढेको नङ आफैंले काट्न सक्नुहुन्छ । संक्रमण भइसकेको छ भने चिकित्सकको परामर्श लिनु उचित हुन्छ ।

लामो समयसम्म उभिनु

कामको दौरान लामो समयसम्म उभिइरहँदा खुट्टामा पीडा तथा सुजन उत्पन्न गराउँछ ।

समाधानको तरिका

– कामको दौरान लामो समय उभिनुपर्छ भने सजिलो खालको जुत्ता लगाउनुस् ।
– उभिँदा शरीरको वजनलाई एउटा खुट्टाबाट अर्को खुट्टामा आलोपालो सार्नुस् ।
– हरेक घण्टा उभिएपछि कम्तीमा दश मिनेट आराम गर्नुहोस् । समय-समयमा खुट्टा तन्काउनुस् ।
– सुत्दा आफ्नो खुट्टालाई शरीरभन्दा केही माथि उठाउँदा पनि राहत मिल्छ ।

चौडा पैताला

चौडा पैंताला जन्मजात हुने समस्या हो । त्यस्ता मानिसलाई खुट्टा दुख्ने समस्या हुनु सामान्य मानिन्छ । यस्तो समस्या अग्लो हिल प्रयोग गर्ने तथा लामो समयसम्म उभिने मानिसहरुमा पनि देखिने गर्छ ।

समाधानको तरिका

– खुट्टालाई आराम दिलाउन दुबो भएको चौरमा खाली खुट्टाले केही समय हिँड्ने गरौं ।
– कुर्कुच्चा तन्काउने व्यायाम गरौं ।
– जहिले पनि खुट्टाको बनावटलाई टेवा दिने खालको जुत्ताको प्रयोग गरौं ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०