अनुहारमा सँधै चमक ल्याउन यसरी बनाउनुुस घरायसी प्याक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ फाल्गुन २०७४, मंगलवार ०६:५१

काठमाडौं । अनुहार फुस्रो हुने, चाया आउने, फुट्नेजस्ता समस्याले आम व्यक्तिलाई सताउने गर्छ । यस्तो समस्याको सिकार महिला तथा पुरुष दुवै हुने गरेको पाइन्छ ।

तर, खास तनावमा महिला नै हुन्छन् । छालालाई पर्याप्त पोषण दिने, अनुहारको फोहोर हटाउनेजस्ता काम गर्दा चाया हटेर चमक आउँछ ।

ब्युटिसियन हेनसन शाक्यले अनुहारको स्वास्थ्यका लागि केही घरायसी प्याक बनाउने र लगाउने तरिका सिकाएकी छिन्ः

प्याक १ सामग्री
एक चम्चा काँचो दूध ।
आधा चम्चा कागतीको रस ।
आधा चम्चा गोलभेँडाको रस ।
थोरै पाउरोटीको सेतो भाग ।

बनाउने विधि
दूध, कागती र गोलभेँडाको रस आपसमा मिसाएर घोल्नुहोस् । यसमा आवश्यकताअनुसार थोरै पाउरोटीको सेतो भाग मिसाएर पेस्ट तयार गर्नुहोस् । पाँच मिनेटमै प्याक अनुहारमा लगाउन तयार हुन्छ ।

लगाउने तरिका
रातिको समयमा प्याक लगाउनु उत्तम हुन्छ । प्याक लगाएर २० मिनेटपछि चिसो पानीले अनुहार हल्कासँग पखाल्नुहोस् । यो प्याक नियमित प्रयोग गर्दा अनुहारको चाया, डेड सेललगायत सबै फोहोर हट्छ । अनुहारमा चमक ल्याउँछ ।

प्याक २ सामग्री
दुई–तीन पत्ता कालो तुलसी ।
तीन–चार थोपा कागतीको रस ।
दुई थोपा मह ।

बनाउने विधि
तुलसीको पातलाई राम्रोसँग पिस्नुहोस् । यसमा मह र कागतीको रस मिसाएर पेस्ट तयार पार्नुहोस् ।
लगाउने तरिका
प्याक बनाएपछि राति सुत्नुअघि पूरै अनुहारमा लगाउनुहोस् । समस्या भएको स्थानमा केही बढी लगाउन सकिन्छ । बढीमा आधा घन्टा अनुहारमा राखेपछि चिसो पानीले भिजाउँदै प्याक सफा गर्नुहोस् । हरेक दिन यो प्याक प्रयोग गर्दा अनुहारको अनावश्यक फोहोर हटेर चमक आउन थाल्छ ।

प्याक ३ सामग्री
ठूलो एक चम्चा मुंग दालको पाउडर ।
सानो एक चम्चा दही ।
एक–एक चम्चा अन्डाको सेतो र पहेँलो भाग ।
आधा चम्चा मह ।
एक चिम्टी बेसार ।
आधा भाग कागतीको रस ।

बनाउने विधि
सबै सामग्रीलाई एउटा भाँडोमा राखेर राम्रोसँग फिट्नुहोस् र प्याक तयार पार्नुहोस् ।

लगाउने तरिका
प्याकलाई अनुहारमा लगाउनुहोस् र हल्का मसाज गरेर आधा घन्टासम्म छाडिदिनुहोस् । आधा घन्टापछि चिसो पानीले हल्का भिजाउँदै पखाल्नुहोस् । बेसारको मिश्रणमा बनेको यो प्याक नियमित लगाउँदा खासगरी चायापीडितलाई निकै राहत मिल्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०