हुण्डी कारोबारको गिरोह ५६ लाखसहित पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ माघ २०७४, सोमबार ०६:४७

वीरगन्ज ।  गैर कानुनी रुपमा मुद्राको अवैध ओसार पसार ९हुण्डी० को कारोबार गर्ने गिरोहलाई पर्सा प्रहरीले ठूलो रकमसहित पक्राउ गरेको छ। वीरगन्जबाट आइतबार प्रहरीले अवैध वित्तीय कारोबार गर्ने गिरोहका चार जनालाई ५६ लाख नगद र विभिन्न बैंकका चेक बुकसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा हुण्डीका मुख्य कारोबारी भारतको रक्सौल घर भएका रितेशकुमार गुप्ता अग्रवाल, वीरगन्ज १६ लिंकरोडका राजेश्वर रौनीयार, वीरगन्ज ८ कुम्हाल टोलका विमित अग्रवाल र मनोज पटेल रहेका छन्।वीरगन्ज १६ लिंकरोडमा अवस्थित दक्षिणकाली अटो पार्टस सप्लार्समा आइतबार दिउँसो प्रहरीले छापा मारेर गिरोहलाई पक्राउ गरेको हो।

प्रहरी उनीहरुको साथबाट ७७ हजार सात सय ४० रुपैयाँ भारुसहित ५५ लाख ६४ हजार दुई सय रुपैयाँ नगद , एपेक्स डेभ्लोप्मेन्ट बैंक, ग्लोबल आइएमी बैंक र ज्योती विकास बैंकका गरी २६ थान चेक बुक, हुण्डीको कारोबारमा प्रयोग गरिएका बिल, रजिष्टर, भपाई रसिद, लेजर बुक गरी दुई बोरा कागजपत्र, ६ थान मोबाइललगायतका बरामद भएको पर्साका प्रहरी उपरीक्षक डाक्टर गणेश रेग्मीले जानकारी दिए।

अटो पार्टस सप्लार्सको आडमा हुण्डीको अवैध कारोबार भइरहेको गोप्य सूचना आएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको विशेष टोलीले आइतबार दिउँसो उक्त अटोपार्ट सप्लायर्समा छापा मार्दा रकमसहित चारजनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक रेग्मीले बताए।

गोप्य सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएका एक प्रहरीले अटो पार्टस सप्लायर्स पसलमा गएर भारतको मुम्बईमा रहेको गंगाराम अस्पतालमा दुई लाख रुपैयाँ हुण्डी गरेर पठाउनु छ भनेर जादा त्यहा हुण्डीको कारोबार भइरहेको पु्ष्टि भएको थियो। त्यसपछि प्रहरीले उक्त स्थानमा छापा मारेको हो।

छापामारीका क्रममा अटो पार्टस सप्लायर्स पसलमा रहेको सामान राख्ने र्याकमा नेपाली र भारु नोट प्लाष्टिकको झोला पोका पारेर राखिएको अवस्थामा बरामद भएको प्रहरी नायव उपरीक्षक राजन लिम्बुले जानकारी दिए।

आइतबार छापा मारिएको दक्षिणकाली अटो पार्टस सप्लायर्सको आडमा कारोबारीले भारतका विभिन्न शहरमा हुण्डी गरेर रकम पठाउने गरेको र यसको मुख्य कारोबारी सीमावर्ती शहर रक्सौलमा पनि रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरी उपरीक्षक रेग्मीले बताए।

गैरकानुनी रुपमा हुने मुुद्राको अवैध ओसार पसार अर्थात् हुण्डीको कारोबारले मुलुकको अर्थतन्त्रमा गम्भीर असर पार्दै आएकाले आइतबार छापा मारेर रकमसहित चार जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको बताए।

यसअघि २०७३ साल असोज १६ गते पनि वीरगन्जकै रेशमकोठी स्थित सन्तोष जैनको घरमा रहेको न्यु नेहा ओभरसीजमा छापा मारेर प्रहरीले हुण्डीको कारोबारमा संलग्न १२ जनालाई ८१ लाख चार हजार १० रुपैयाँ नगद, विभिन्न बैंकको नाममा काटिएको एक करोड ३२ लाख ७८ हजार नौ सय रुपैयाँको चेक २४ थान, ल्यापटप एक थान, फयाक्स मेशिन एक थान, पैसा गन्ने मेशिन एक थान, मोबाइल सात थान, विभिन्न बैंकको चेक बुक ६ थानसहित पक्राउ गरेको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१