गाडीमा इम्बोस्ड नम्बर किन जडान गर्ने ? के फाइदा हुन्छ ? 

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ माघ २०७४, बिहीबार ०५:४१

किन जडान गर्ने ? के फाइदा हुन्छ ? 

सरकारले  उच्च प्रविधिको इम्बोस्ड नम्बर प्लेट सञ्चालनमा ल्याएको छ । सवारी साधनलाई प्रविधिमैत्री बनाउन र चोरीबाट जोगाउन इम्बोस्ड नम्बर प्लेट सञ्चालनमा ल्याएको हो । सरकारले गत भदौँदेखि इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा ल्याइसकेको छ ।

‘अरु मुलुकले धेरैअघि इम्बोस्ड नम्बर सञ्चालनमा ल्याइसके, हामीले पनि नयाँ प्रविधिलाई आत्मसात् गर्दै कार्यान्वयनमा ल्याएका हौँ,’ यातायात व्यवस्था विभाग महानिर्देशक रूपनारायण भट्टराईले भने, ‘कम्प्युटरकृत प्रविधिमा आधारित भएकाले यो नम्बर प्लेटबाट सवारीको लोकेसन पत्ता लाग्नेदेखि चोरीबाट जोगाउन समेत उपयोगी  हुनेछ ।’

विभागका अनुसार हालसम्म एक हजार सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान भइसकेको छ । सरकारले पाँचवर्षभित्र २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने लक्ष्य राखेको छ । ‘यो बलियो र निकै किफायती हुन्छ, एकपटक जडान गरेपछि फेरि खोल्न मिल्दैन,’ उनले भने, ‘खोल्नु परे प्लेट नै काट्नुपर्ने हुन्छ ।’ पहिलो चरणमा इम्बोस्ड नम्बर बाग्मती अञ्चलमा मात्रै कार्यान्वयनमा ल्याइएको छ ।

इम्बोस्डमा विवाद

सरकारले संविधानको भावना विपरित सवारी साधनमा उच्च प्रविधिको इम्बोस्ड नम्बर प्लेट अञ्चल संरचनामा ल्याएपछि विवाद भएको छ । सरकारले गत भदौँ ५ गते देखि बाग्मती अञ्चलमा इम्बोस्ड कार्यान्वयनमा ल्याएको थियो । मुलुक संघीय (प्रादेशिक) संरचनामा गएपनि यातायात व्यवस्था विभागले ‘चोरबाटो’बाट अञ्चलकै नाममा इम्बोस्ड नम्बर प्लेट सञ्चालनमा ल्याएपछि धेरैले त्यसको विरोध गरेका छन् ।

यसैगरी इम्बोस्ड नम्बर प्लेटको ठेक्काका विषयमा समेत विवाद उत्पन्न भएको थियो । व्यवस्थापिका संसदको विकास समितिले भदौँ २१ गते सबैभन्दा कम मूल्य बोलकबोल गरेको कम्पनीलाई छनोट नगरी दोस्रो कम्पनीलाई छनोट गरिएका भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागसँग सातदिने स्पष्टिकरण सोधेको थियो।

इम्बोस्ड नम्बरको व्यापक विरोध भएपछि संसदको विकास समितिले अञ्चलकै नाममा इम्बोस्ड नम्बर दिने काम तत्काल रोक्न विभागलाई निर्देशन दिएको छ। यता विभागले भने इम्बोस्ड नम्बरमा प्रदेशको नाम उल्लेख गर्न मिल्ने व्यवस्था गरिएको महानिर्देशक भट्टराईले दाबी गरे।

कति लाग्छ जडान शुल्क ?

यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडान शुल्क निर्धारण गरेको छ । सवारीको प्रकृति अनुसार जडान शुल्क फरक–फरक छ । दुईपांग्रे सवारीका लागि दुई हजार पाँच सय, तीनपांग्रेका लागि दुई हजार नौ सय, चारपांग्रे साना सवारीका लागि तीन हजार दुई सय र अन्य ठूला सवारीका लागि तीन हजार ६ सय रुपैयाँ तोकिएको  विभागले जनायो । सेवाग्राहीले अनलाइनबाटै इम्बोस्ड नम्बर प्लेटको फारम भर्न सक्नेछन् । फारम भरेर तोकिएको शुल्क राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गरेपछि सेवाग्राहीले नम्बर प्लेट जडान गर्न पाउनेछन् ।

यातायात व्यवस्था विभागको आर्थिक वर्ष २०७३-७४ को तथ्यांक अनुसार बाग्मती अञ्चलमा १० लाख ४२ हजार ८ सय ५६ सवारी साधन दर्ता छन् ।  जसमध्ये ८ लाख १७ हजार ४ सय ७३ दुईपांग्रे र २ लाख २५ हजार ३ सय ८३ अन्य सवारी साधन छन् । अन्य सवारी साधनमा टेप्पो, जिप भ्यान, कार, ट्याक्सी, बस, मिनिबस, सरकारी तथा कूटनितिक नियोगका सवारी पर्छन् ।

जडान शुल्क महँगो

सवारी धनी तथा राज्यले १६ डलर मूल्य पर्ने इम्बोस्ड प्लेट नम्बर जडान गर्दा दोब्बर भार व्यहोर्नुपर्ने छ । महानिर्देशक भट्टराईले ठेकेदार कम्पनीबाट खरिद गर्दा इम्बोस्ड नम्बर प्लेटको मूल्य करिब १६ देखि १९ डलर पर्ने बताए।‘मन्त्रालयको स्वीकृत लिएर नै इम्बोस्डको मूल्य तय गरिएको हो,’ भट्टराईले भने, ‘इम्बोस्ड  उपकरण र सामान ल्याउँदा विभागले नै भन्सार, मूल्य अभिवृद्धि कर, स्थानीय र यातायात कर तिर्नुपर्ने हुन्छ । त्यसैले केही बढी भएको हो ।’ सार्वजनिक खरिद ऐन अनुसार कुनै वस्तुमा १५ प्रतिशत भन्दा धेरै मुनाफा लिन पाइँदैन ।

नम्बर प्लेट पाँच प्रकारमा सीमित

विभागले हाल चल्तीमा रहेका २३ प्रकारका नम्बर प्लेटलाई ५ प्रकारको इम्बोस्ड नम्बरमा ल्याएको हो । राष्ट्रपति, सरकारी, कूटनीतिक नियोग, निजी र भाडाका गरी पाँच प्रकारका इम्बोस्ड नम्बर प्लेट सञ्चालनमा आउने व्यवस्था मिलाइएको छ । यसअघि २३ वटा नम्बर प्लेट जारी हुदैैँ आइरहेको छ ।

के हो इम्बोस्ड नम्बर प्लेट ?

उच्च प्रकारको सेक्युरिटी नम्बर र जिपिएस सिस्टम जडान गरिएको नम्बर प्लेट नै इम्बोस्ड नम्बर प्लेट हो। यसका माध्यमले सवारीसाधनको अवस्थाबारे जानकारी लिन सकिन्छ । ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन डिभाइस’ले सवारी साधन बारे जानकारी दिन्छ । यो नम्बर प्लेट एकपटकभन्दा बढी प्रयोग गर्न सकिँदैन ।

स्टेसनले सवारी साधनमा प्रयोग हुने ‘आरएफआइडी’ रेडियो फ्रिक्वेन्सीमार्फत सवारीको अनुगमन र निरीक्षण गर्न सकिन्छ। यसबाट गाडी कुन स्थानमा छ, च्यासिस नम्बर, कर तिरेको छ कि छैन ? भन्ने जस्ता विवरणको जानकारी लिन सकिने विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए ।

इम्बोस्ड नम्बर प्लेट एकपटक जडान गरेपछि निकाल्न नमिल्ने विभागले जनाएको छ । ‘कुनै सवारी दुर्घटनामा परेर नम्बर टुटफुट भएमात्रै नयाँ नम्बर प्लेट जडान गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘यो बलियो र निकै किफायती हुन्छ । एकपटक जडान गरेपछि फेरि खोल्न मिल्दैन । खोल्नु नै परे प्लेट नै काट्नुपर्ने हुन्छ,’ महानिर्देशक भट्टराईले भने ।

पाँच वर्षमा २५ लाख सवारीमा

नेपाल  सरकार र ठेकेदार कम्पनी बीचको सम्झौता अनुसार  पाँच वर्षभित्र २५ लाख सवारी साधनमा इम्बोस्ड  नम्बर जडान गर्ने लक्ष्य राखेको छ ।  इम्बोस्ड जडान गरेबापत यातायात व्यवस्था विभागले ठेकेदार कम्पनीलाई चार अर्ब ४९ करोड चार लाख ८ हजार (चार करोड ३७ लाख ८७ हजार ५ सय अमेरिकी डलर) भुक्तानी गर्नुपर्ने हुन्छ । यातायात व्यवस्था विभाग र ठेकेदार कम्पनी ‘डेकाटुर टाइगर’बीच सन् २०१६ मे ३० ‘बुट मोडेल’ मा अञ्चलकै आधारमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सम्झौता भएको थियो ।

अनुगमन गर्न १० ठाउँमा ‘आरएफआइडी’ स्टेसन

विभागले सवारीसाधन अनुगमन र निरीक्षणका लागि उपत्यकाका थानकोट, फर्पिङ, जगाती, जोरपाटी र नागार्जुन तथा उपत्यका बाहिर मुख्य पाँच स्थानमा गरी १० स्थानमा ‘आरएफआइडी’ स्टेसन बनाउने योजना भए पनि काम भने अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०