ओमनमा अलपत्र २० नेपालीको पीडा : ‘खाना नदिई भुइँमा सुताएर राखिएको छ’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ माघ २०७४, शुक्रबार १२:१८

काठमाडौँ । एक महिनाअघि ओमन पुगेका २० नेपाली कामदार अलपत्र परेका छन्। अनेस्टी ओभरसिजलाई प्रतिव्यक्ति एक लाख २० हजारसम्म तिरेर गएका उनीहरु रोजगारी तथा गाँसबासको अभावमा दयनीय अवस्थामा पुगेका हुन्।

मुवाराद वादी मोर्डन ट्रेड कम्पनीमा स्काफफोल्डिङको काम गर्न भनी डिसेम्बर २६ मा गएका उनीहरु अहिले ओमनको राजधानी मस्कटबाट झन्डै तीन सय किलोमिटर टाढा सोहरमा अलपत्र अवस्थामा छन्।

बिहीबार साँझ टेलिफोनमा कुरा गर्दै फालासी रामेछापका यमबहादुर चौहानले भने, ‘यतिबेलासम्म हामीलाई खाना दिइएको छैन। हिजो रोटी ल्याएर दिएको थियो। अस्ती बासी भात खान दिएको थियो।’ ओमन पुगेदेखि नै कम्पनीले काम दिलाउन सकेको छैन। ‘पैसा माग्दा तिमीहरुले कामै गरेको छैन। कसरी पैसा दिन सकिन्छ भन्छ,’ उनले भने, ‘आँउदा ओमनी १० रियाल दिएको थियो। त्यसले सीम र ब्लालेन्स हाल्दा सकियो।’

धनुषाका रामललित यादवले आफूहरुलाई चिसो भुइँमा विस्तारा लगाएर राखेको बताए। ‘हामी २० जना आएको थियौं । ११ जनालाई एउटा पुरानो घरमा ल्याएर राखेको छ । सुत्ने बेड छैन। भुइँमा ओछ्यान लगाएर बसेका छौं। खाना बनाउने भाँडाकुँडा पनि छैन,’ उनले भने, ‘बाँकी ९ जनालाई साइडमा लगेर राखेको छ। उनीहरुलाई कस्तो ठाउँमा लगेर राखेको छ रु हामीले बुझ्न पाएका छैनौं।’

म्यानपावरले मासिक एक सय २० ओमनी रियाल तलब पाउने गरी पठाएको थियो। ‘हिजो कम्पनीबाट भन्दै पाकिस्तानी आएको थियो। उसले काम गर्ने साइड देखायो । सडक खन्नुपर्ने भन्यो । हामी सबै स्काफफोल्डिङ कामको लागि आएका हौं। सडक खन्ने काम गर्न सक्तैनौं,’ प्युठानका वसन्त गिरीले भने, ‘काम नगर्ने भए चार सय रियाल (एक लाख ५ हजार रुपैयाँ) बुझाए मात्रै पठाउने कुरा गर्छ।’

पीडितहरुले कम्पनीको कार्यालय नै नभएको बताए । ‘कम्पनीको अफिस नै छैन रहेछ । एउटा टेवुल मात्रै छ । त्यसमा कोही बस्दैन,’ कैलालीका शेरबहादुर खत्रीले भने, ‘कम्पनीका मान्छे बताउनेले हाम्रो पताका (परिचयपत्र) र एटिम पनि लिएर गएको छ ।’ पीडित कामदार सबै खाडीका विभिन्न देशमा काम गरेका अनुभवी हुन् । उनीहरुले उद्धारको लागि म्यानपावर र एजेन्टलाई बारम्बार अनुरोध गर्दा सुनुवाई भएको छैन । ‘हाम्रा परिवारहरु म्यानपावर अफिस धाइरहेका छन्। म्यानपावरले उल्टो कम्पनीबाट काम दिएको र खान बस्ने व्यवस्था राम्रो भएको भन्दै तर्किन्छ,’अर्का पीडित गोरखाका गोकर्ण त्रिपाठीले भने, ‘हामीलाई यहाँ मरुभूमिमा ल्याएर बिजोग बनाएर राखेको छ।’ कान्तिपुर दैनिक

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१