अध्ययन गर्न अस्ट्रेलिया जानुअघि पूरा गर्नुपर्ने ६ प्रक्रिया हेर्नुस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ माघ २०७४, आईतवार ०५:३७

काठमाडौ ।  नेपाली विद्यार्थीका लागि उच्च शिक्षा अध्ययनका लागि उत्कृष्ट गन्तव्यका रूपमा लिइन्छ अस्ट्रेलियालाई। अस्ट्रेलियामा अध्ययनमा जानुपूर्व विद्यार्थीले केकस्ता प्रक्रिया पूरा गर्नुपर्छ त ? यहाँ त्यसका केही उपाय सुझाइएको छः

१.अस्ट्रेलिया जाने योजना बनाएका विद्यार्थीले सर्वप्रथम अस्ट्रेलिया सरकार र त्यहाँको शैक्षिक संस्थाले मान्यता दिएको भाषा परीक्षणसम्बन्धी परीक्षा उत्तीर्ण हुनुपर्छ । यसका लागि विद्यार्थीले आईईएलटीएस, टोफल, पीटीई वा क्याम्ब्रिज एड्भान्स इङ्लिस कोर्समध्ये एकको परीक्षा दिनुपर्छ । यस्तो कोर्समा विद्यार्थीले प्राप्त गर्नुपर्ने अंक विद्यार्थीले पढ्न चाहेको विश्वविद्यालय र विषयअनुसार फरकफरक हुन सक्छ ।

२.विद्यार्थीले पढ्न चाहेको कलेज वा विश्वविद्यालय र विषय छनोट गरिसकेपछि अध्ययनका लागि आवश्यक पर्ने शुल्क, विद्यार्थीले अस्ट्रेलियामा पढ्ने समयभर लाग्ने खर्चको जोहो गर्नुपर्छ । यसका लागि विद्यार्थीले नेपालमा अस्ट्रेलियाली दूतावासले मान्यता दिएको नबिल र एसबीआई बैंकमा रकम जम्मा गरेको हुनुपर्छ ।

यसका लागि विद्यार्थीले आफूलाई पढाइ खर्च र अस्ट्रेलिया जाँदा लाग्ने शुल्कबाहेक एक वर्षमा अस्ट्रेलियामा बस्दा लाग्ने न्यूनतम खर्च १९ हजार ८ सय अस्ट्रेलियन डलरबराबर रकम कारोबार गरेको प्रमाण पेस गर्नुपर्ने हुन्छ । बैंकमा यो रकम न्यूनतम तीन महिनादेखि कारोबारमा रहेको वा सम्बन्धित बैंकले शैक्षिक कर्जाका रूपमा प्रदान गरेको प्रमाण विद्यार्थीले पेस गर्नुपर्छ ।

३. विद्यार्थीले भाषा परीक्षण परीक्षाको नतिजा, बैंक ब्यालेन्सलगायत आफूले पढ्न चाहेको कलेजले पठाएको कन्फरमेसन अफ इन्रोलमेन्ट (सीओई) सहित अन्य कागजपत्र लिएर भिसा प्राप्तिका लागि निवेदन दिनुपर्छ । भिसाका लागि निवेदनसँगै विद्यार्थीले अस्ट्रेलियन दूतावासले तोकेको मेडिकलमा गएर स्वास्थ्य परीक्षण गराउनुपर्छ । साथै उनीहरूले बायोमेट्रिक परीक्षण पनि गर्नुपर्छ ।

४. यी सबै प्रक्रिया पूरा गरिसकेपछि कहिलेकहीं अस्ट्रेलियन दूतावासले थप अध्ययनका लागि थप कागजपत्र माग्न पनि सक्छ अथवा टेलिफोनबाट पनि सम्बन्धित विद्यार्थीसँग केही जानकारी माग्न सक्छ ।

५. यी सबै प्रक्रिया पूरा गरेर विद्यार्थीले भिसा पाएपछि आफू अध्ययन गर्न जाने कलेजको ठेगाना, त्यहाँ गएपछि बसोबास गर्ने स्थान तथा विमानस्थलबाट आफू बस्ने स्थानसम्म पुग्ने तरिकाबारे जानकारी लिनुपर्छ । यस्तो बेलामा कहिलेकहीं विद्यार्थीले परामर्शदातृ संस्थामार्फत बसोबासको चाँजापाँजो मिलाउन पनि सक्नेछन् ।

६. भिसा अस्वीकृत भएको खण्डमा विद्यार्थीले ‘रिजेक्ट फाराम’ भरेर आफूले कलेजमा पठाएको रकम फिर्ताको प्रक्रिया सुरु गर्नुपर्छ । कलेजले निश्चित प्रतिशत रकम काटेर बाँकी पैसा विद्यार्थीको बैंक खातामा फिर्ता गरिदिनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१