नुवाकोटको तारुकामा यसपालि १८ हल गोरु जुध्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ पुष २०७४, शुक्रबार ०६:३२

काठमाडौं । माघे संक्रान्तिका दिन नुवाकोटको तारुकामा आयोजना हुने गोरु जुधाइमा सहभागी हुन १८ हल गोरु दर्ता भएका छन् । तारुकाको चन्दनी पाटोमा ‘बुलफाइट’को व्यवस्थापन मिलाउन उपसमितिहरू गठन गरी तयारी तीव्र बनाएको ‘माघे संक्रान्ती गोरु जुधाइ संरक्षण संस्था’का अध्यक्ष शिवबहादुर अधिकारीले जानकारी दिए ।

मेला सञ्चालनका लागि होमनाथ सिग्देलको संयोजकमा मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको छ । समितिको सदस्यहरूमा नारायण सिग्देल र रामशरण सिग्देल छन् । प्रचारप्रसार उपसमितिमा विष्णु जमकट्टेल छन् । उपसमितिको सदस्यमा नुवाकोटमा सञ्चालित रहेका सबै सञ्चारमाध्यम र क्रियाशील सञ्चारकर्मी छन् ।

जुधाउने गोरु दर्ताका लागि कुमार श्रेष्ठको संयोजकत्वमा उपसमिति गठन भएको छ । उपसमितिको सदस्यहरूमा कृष्ण श्रेष्ठ, दीपक तामाङ, शिव अधिकारी र लक्ष्मण प्रधान छन् । उपसमितिले पुस २६ गते १८ हल गोरु दर्ता भएको जानकारी दिएको छ ।

मेला व्यवस्थापनका लागि ‘माघे संक्रान्ती गोरु जुधाइ संरक्षण संस्था’का संरक्षकसमेत रहेका वडाध्यक्ष सम्मरबहादर आलेमगरको सक्रियतामा मेलामा सहभागी हुन सवारी साधन लिएर पुग्नेको साधन पार्किङस्थलको निर्माण, शौचालय, गोरु जुधाइ जात्रामा सहभागी हुनेका लागि सहज रूपमा पिउने पानीको व्यवस्था र सस्तो मूल्यमा खाजा तथा खानाको उपलब्धता, जात्रा हेर्न तारुकाघाटबाट जाने सडकमा ट्यांकरमार्फत पानी छ्यापेर धुलोमुक्त सडक बनाउने व्यवस्था मिलाइएको छ ।

गोरु जुधेको हेर्न आउनेका लागि मञ्च र प्याराफिट निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको वडाध्यक्ष तथा मेला सञ्चालक संस्थाका संरक्षक आलेमगरले जानकारी दिए ।

गोरु जुधाई मेलाको दिन माघ १ गते अवलोकनकर्तालाई गोरु जुध्ने स्थान चन्दनीसम्म सहज बनाउन गल्छी–देवीघाट सडक खण्ड दैनिक आठ घन्टा बन्द हुँदै आएकोमा त्यो दिन भने दिनभर नै खुला गराउन आयोजनाले सहमति जनाएको छ । मेलामा विजेता गोरु धनीलाई ५ हजार नगद र प्रमाणपत्र तथा उपविजेतालाई ३ हजार पुरस्कार तोकिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१