प्रदेश सरकार १९ दिन भित्रै, केन्द्रीय सरकार कहिले ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ पुष २०७४, मंगलवार ०४:५८

काठमाडौं । संविधानअनुसार अबको १९ दिनभित्रै सातवटा प्रदेशले मुख्यमन्त्री पाउने छ। गएको मंसिर १० र २१ गते भएको प्रदेशसभा सदस्य निर्वाचनले मुलुकमा पहिलोपटक संघीयता कार्यान्वयन भएको छ। निर्वाचन आयोगले पुस ७ गते प्रदेशसभातर्फको अन्तिम परिणाम सार्वजनिक गरेको छ। संविधानमा प्रदेशसभातर्फको अन्तिम मतपरिणाम सार्वजनिक गरेको ३५ दिनभित्र मुख्यमन्त्री चयन गरिसक्नुपर्ने व्यवस्था छ।

संविधानको धारा १६८ को ८ मा भनिएको छ ‘यस संविधानबमोजिम भएको प्रदेशसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा मुख्यमन्त्रीको पद रिक्त भएको मितिले ३५ दिनभित्र यस धारा बमोजिम मुख्यमन्त्रीको नियुक्तिसम्बन्धी प्रक्रिया सम्पन्न गर्नुपर्नेछ।’ निर्वाचन आयोगले प्रदेशसभाको अन्तिम मत परिणाम सार्वजनिक गरेको १६ दिन वितिसकेको छ।

संविधानअनुसार अब १९ दिनभित्र मुख्यमन्त्री चयनको प्रक्रिया सक्नुपर्नेछ। सरकारले माघ २४ गते राष्ट्रियसभाको निर्वाचनको मिति घोषणा गरेपछि त्यसअघि नै प्रदेश सरकार बनाउनुपर्ने अवस्था छ। तर अहिलेसम्म सरकारले प्रदेश मुकाम र प्रदेश प्रमुख भने तोकेको छैन।
प्रदेश प्रमुखले प्रदेशसभा सदस्यलाई सपथ गराएपछि प्रदेशसभा सरकार गठन गर्ने कार्य अघि बढ्ने भएको छ।  केन्द्रीय सरकार गठनको विषयमा भने दलरुबीच विवाद हुदै आएको छ। राष्ट्रिय सभा गठन नभई प्रतिनिधिसभातर्फको मत परिणाम घोषणा गर्न नमिल्ने भन्दै निर्वाचन आयोगले मत परिणाम सार्वजनिक गरेको छैन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०