२०१७ बलिउडः कुन अभिनेत्री हिट ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ पुष २०७४, आईतवार ०४:४८

२०१७ बलिउड अभिनेत्रीका लागि कस्तो रह्यो । कुन अभिनेत्रीले कति फिल्ममा खेल्न भ्याए, त्यसमध्ये कति हिट भयो कति फ्लप ? हेरौं २०१७ मा बलिउड अभिनेत्रीको स्कोरबोर्ड ।

आलिया भट्ट

यसपाली आलिया भट्टको गति थोरै धिमा देखिए । अहिले उनी आफुलाई निखार्ने चरणमा छिन् । जिन्दगीको आनन्द उठाइरहेकी छिन् । यसबर्ष आलियाको एक फिल्म रिलिज भयो  ‘बद्रीनाथ की दुल्हनिया’ । यो फिल्म सुपरहिट भयो ।

अनुष्का शर्मा

अनुष्का शर्माको लागि २०१७ बिशेष रह्यो । बर्षको अन्त्यतिर उनी बिवाह बन्धनमा बाधिइन् । क्रिकेटर विराट कोहलीसँगको लामो अफेयरलाई उनले ‘ह्याप्पी इन्डिङ’ गराएकी छिन् ।

तर, फिल्मी करियर भने उनको त्यती चलायमान रहेन । यसबीचमा उनको दुई फिल्म सार्वजनिक भयो । फिल्लौरीको त उनी निर्माता पनि भइन् । यसमा उनले केहि नयाँ अभ्यास गर्ने प्रयास गरिन्, तर फलदायी रहेन । ‘जब हैरी मेट सेजल’मा उनले शाहरुख खानसँग रोमान्स गरिन् । तर, यो फिल्मलाई दर्शकले लोप्पा ख्वाइदियो ।

प्रियंका चोपडा

प्रियंका चोपडा भारतमा त्यसबेला देखा परिन्, जब उनलाई हलिउडबाट फुर्सद मिल्यो । यसबर्ष उनको कुनै हिन्दी फिल्म सार्वजनिक भएन । हलिउड फिल्म ‘बेवाच’ हिन्दीमा डब भएर रिलिज भयो । यो फिल्मबाट प्रियंकाले निकै आशा गरेकी थिइन् । तर, यसले हावा खायो ।

कैट्रिना कैफ

सलमानलाई छाडेर रणबीर कपुरसँग लहसिएकी क्याटरिना कैफको करियर निरन्तर ओह्रालो लाग्यो । आखिरमा अधोगतिमा लागेको करियरलाई उकास्न उनले पूर्व ब्वाइफ्रेन्डको साथ खोज्नुपर्‍यो । बर्षको अन्त्यतिर उनी सलमानसँग सिल्भर स्क्रिनमा छाउन पुगिन, टाइगर जिन्दा है मार्फत । फिल्मले बक्स अफिसमा राम्रो कलेक्सन गरिरहेको छ । यसअघि उनको ‘जग्गा जासूस’ सार्वजनिक भयो, जो नराम्ररी चिप्लियो ।

श्रद्धा कपूर

यसपाली श्रद्धा कपुरको करियर अचानक रोकियो । उनी चर्चाबाट टाढा रहिन् । यसबर्ष उनको तीन वटा फिल्म त सार्वजनिक भयो, तर खास हलचल मच्याउन सकेन । ओके जानू फ्लप भयो । हाफ गर्लफ्रेन्डको खुब चर्चा थियो, तर यसले औसत फिल्मको दर्जा पायो । हसीना पारकरको लागि श्रद्धाले निकै पसिना बगाइन्, तर त्यो व्यर्थ भयो ।

सनी लियोनी

एडल्ड फिल्मबाट बलिउडमा अवतरण गरेकी सनी लियोनीको कुनैपनि फिल्मले त्यस्तो सफलता पाएको छैन, जति चर्चा हुनेगर्छ । यद्यपी सनी भने चलेकै छिन् । यसपाली भने उनी आइटम गर्लको रुपमा छाइन् । यसपाली रईस, बादशाहो, भूमी जस्ता फिल्मको गीतमा उनले कम्मर मर्काइन् । नूर फिल्ममा छोटो भूमिकामा देखिइन् । उनी अभिनित ‘तेरा इन्तजार’ फिल्मले भने दर्शकलाई इन्तजार गरिरहनु पर्‍यो ।

ज्याकलिन फर्नाडिस

ज्याकलिनको दुई फिल्म रिलिज भयो । ए जेन्टलमेन र जुडुवा-२ । यसमध्ये एउटा हिट भयो, अर्को फ्लप । यसले ज्याकलिनको करियरमा भने खास फरक पार्दैन । किनभने फिल्ममा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइनन् ।

सोनाक्षी सिन्हा

सोनाक्षी सिन्हाको चमक फिका रह्यो, यसपाली । ठूला स्टार्ससँग उनको फिल्म रिलिज भएन । नायिकाप्रधान ‘नूर’ रिलिज भयो । तर, यसले खासै जादु देखाउन सकेन । साथै उनको ‘इत्तेफाक’लाई धेरै आशा गरिएको थियो । त्यो निरासामा बद्लियो ।

विद्या बालन

लामो विश्रामपछि २०१७ मा विद्या वालन तंगि्रइन् । उनले यसबीचमा दुई फिल्म दिइन्, बेगम जान र तुम्हारी सुलु । एउटा फिल्म फ्लप भयो, अर्को हिट ।

कंगना रनौवट

कंगना यसपाली विवादै विवादमा अल्झिइन् । अभिनेता रितिक रोशनसँगको दुश्मनी उनको लागि काउसो बनिदियो । उनको दुई फिल्म रिलिज भयो, रंगून र सिमरन । तर, फिल्मले भन्दा उनको विवादले बढी चर्चा पायो ।

भूमि पेडनेकर

भूमि पेडनेकर चुपचाप दुई सफल फिल्मको हिस्सा बनिन्, यसबर्ष । अक्षय कुमारसँग उनले ‘टाइलेट एक प्रेम कथा’ जस्तो सुपरहिट फिल्म दिइन् । उनको अर्को फिलम ‘शुभ मंगल सावधान’ पनि सफल रह्यो । दुबै फिल्ममा उनले आफ्नो अभियन क्षमता राम्ररी देखाइन् ।

दीपिका पादुकोण

दीपिका पादुकोणको कुनै हिन्दी फिल्म रिलिज भएन, यसपाली । हुन त उनी अभिनित  हलिउड फिल्म यसपाली सार्वजनिक भयो । त्यो चर्चा गरिए जस्तो हिट भने भएन । दीपिका अभिनित फिल्म ‘पद्यावती’ यसपाली सार्वजनिक हुने तय भएको थियो । यद्यपी विवादको कारण यसको रिलिज डेट अनिश्चित भयो ।

 

कृति सेनन

कृति सेननले ‘बरेली की बर्फी’ र ‘रब्ता’ जस्ता फिल्ममा अभिनय गरिन् । पहिलो फिल्म औसतमा दरिए । दोस्रो सुपर फ्लप । यद्यपी उनी अभिनयमा भने फिट देखिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१