उपत्यकाका ४ नयाँ सहरको डीपीआरका लागि १६ ओटा जेभी इच्छुक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ मंसिर २०७४, बिहीबार ०७:२५

काठमाडौं  । काठमाडौं उपत्यकामा विकास गर्न खोजिएका चारै नयाँ सहर अहिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)का लागि परामर्शदाता छनोटको चरणमा छ । एक लाख रोपनीको बाहेकका अन्य तीन नयाँ सहर काठमाडौं, भक्तपुर र ललितपुरमा १०/१० हजार रोपनी क्षेत्रफलमा विकास हुनेछन् ।
सबै प्रस्तावित सहरको डीपीआर परामर्शदाता छनोटका लागि प्राधिकरणले २०७३ चैत २७ गते राष्ट्रिय (१० हजार रोपनीमा बन्ने सहरका लागि) तथा अन्तर्राष्ट्रिय (एक लाख रोपनीको सहरका लागि) बोलपत्र आह्वान गरेको थियो । जसमा अन्तर्राष्ट्रिय बोलपत्रमा नेपाली कम्पनीले पनि सम्बन्धित क्षेत्रमा काम गरेको अनुभवी विदेशी कम्पनीसँग मिलेर ज्वाइन्ट भेन्चर (जेभीमा) भाग लिन सक्ने जनाइएको थियो । सोहीअनुरुप एक लाख रोपनीको सहरका लागि १३ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीको गरी ५ ओटा जेभीलाई प्राधिकरणले गत असोज पहिलो साता ‘सर्टलिस्ट’ गरेको थियो । जेभीमा भाग लिनेमध्ये ५ ओटा भारतीय, ६ ओटा नेपाली, एउटा फिनल्याण्डको र अर्को एउटा पनि विदेशी बहुराष्ट्रिय कम्पनी रहेको छ ।
यस्तै, १० हजार रोपनीमा विकास गरिने सहरमध्ये ललितपुर जिल्लाका लागि आशय पेस गरेकामध्येबाट १७ ओटा कम्पनीको ६ ओटा र भक्तपुरमा बन्नेका लागि इच्छा देखाएकामध्येबाट १३ कम्पनीको ५ ओटा जेभीलाई असोज अन्तिम साता सर्टलिस्टेड भएका छन् । आशयपत्रबाट सूचीकृत भएका ती सबै कम्पनीहरुसँग डीपीआरका लागि प्राधिकरणले प्रस्ताव (रिक्वेस्ट फर प्रपोजल) मागेको छ, जसको अवधि पनि सकिइसकेको छ । प्रस्ताव पेस गर्ने कम्पनीहरुको मूल्यांकनको काम सकेर योग्य कम्पनी छनोट गर्ने बताइए पनि पर्याप्त जनशक्ति अभावमा यो पूरा गर्न कति अवधि लाग्छ भन्ने यकिन नभएको खोखालीको भनाइ छ । यद्यपि काठमाडौं–भक्तपुरमा बन्ने एक लाख रोपनीमा बन्ने सहरको डीपीआरका लागि परामर्शदाता छनोटको काम अन्य साना सहरको भन्दा अगावै हुने सम्भावना उनले औंल्याए ।
चारओटै प्याकेजका सहरको डीपीआर भने छनोट भएका कम्पनीले १५ देखि बढीमा १८ महिनाभित्रै तयार पारिसक्नुपर्ने तोकिएको प्राधिकरणले जानकारी दिएको छ । काठमाडौंभित्र (टोखा क्षेत्रमा) बन्ने एउटा १० हजार रोपनीको सहरको डीपीआरका लागि आशयपत्र माग गरिसकेको भए पनि कम्पनी ‘सर्टलिस्टिङ’को काम नसकिएकाले ‘प्रस्ताव’ मागको काम बाँकी नै छ । चारओटै सहरको डीपीआर तयार पार्न १८–२० करोड रुपैयाँ हाराहारीको बजेट प्राधिकरणले छुट्ट्याएको छ ।
डीपीआर तयार भएपछि मन्त्रिपरिषद्मा पठाएर सो पारित भएपछि पूर्वाधार विकासको काम सुरु गर्ने खोखालीले बताए । ‘डीपीआर पारित भएको पाँच वर्षभित्रै यी सहर निर्माण गरिसक्ने महत्वाकांक्षी योजना प्राधिकरणको छ,’ उनले भने, ‘अहिलेसम्म नकारात्मक पक्षहरु केही नदेखिएको र सबैतिरबाट सहयोग पाइरहेकाले तोकिएकै समयमा परियोजना पूरा हुने अपेक्षा छ ।’

सहर बसाउन ६ खर्ब लगानी हुने
डीपीआर तयार नभएसम्म व्यवस्थित सहर बसाल्ने पूर्वाधार विकासका लागि ठ्याक्कै कति लागत लाग्छ भनेर भन्न यकिन छैन । यद्यपि एक लाख रोपनीमा बन्ने सहरका लागि करिब ५ खर्ब रुपैयाँ लाग्ने अनुमान प्राधिकरणको छ । यसमध्ये सरकारले एक खर्ब रुपैयाँ खर्च गर्ने प्रतिबद्धता जाहेर गरिसकेको छ भने बाँकी चार खर्ब रुपैयाँ निजी क्षेत्रले लगानी हुने खोखालीले बताए ।
यस्तै, १० हजार रोपनीमा बन्ने तीनओटा सहरको कुल अनुमनित लागत भने करिब १ खर्ब रुपैयाँ रहेको छ । आधारभूत सहरी पूर्वाधारका साथै खुला स्थान र हरियाली, सार्वजनिक पूर्वाधार, सांस्कृतिक एवम् पुरात्तात्विक सम्पदा विकास तथा संरक्षणलगायतमा सरकारको लगानी रहनेछ । व्यक्तिगत घर, अस्पताल, होटललगायतका क्षेत्रमा भने निजी लगानी हुनेछ ।

कहाँ–कहाँ बन्दैछन् नयाँ सहर ?

उपत्यकाभित्र बनाउन लागिएका चारओटा नयाँ सहरहरुको यकिन नक्साङ्कन अहिले भइसकेको छैन । यसका लागि सबै प्रस्तावित सहरको डीपीआर तयार हुन्जेलसम्म कुर्नुपर्ने हुन्छ । यद्यपि नयाँ सहर बसाल्न योग्य भनी २ वर्षअघि पहिचान गरिएका स्थानहरुलाई लिएर नै व्यवस्थित सहरीकरणको योजना बनाइएको हो ।

जसअनुसार, भविष्यको राजधानी सहरका रुपमा विकास गर्ने योजना रहेको झन्डै एक लाख रोपनीमा फैलिने सहर काठमाडौंको पूर्वी क्षेत्र (भक्तपुर–मनोहरा करिडोर) तिर बन्नेछ । यो भक्तपुरको नगरकोट जाने सडक, तेलकोट सडक, पश्चिमतर्फ जोरपाटी, क्रिकेट मैदान (मूलपानी), गोठाटार हुँदै मनोहरा पुलसम्म फैलिनेछ । उत्तरमा साँखु बजार र साँखु जाने मूल सडकसम्म रहने यो सहर भक्तपुरको पुरानो बाटो, सैनिक प्रतिष्ठान, इँटापाके जग्गा एकीककरण आयोजनासहितको क्षेत्र यसले समेट्नेछ ।

विभिन्न कोणहरुको नाम जोडेर मिडियामा सहरको नामकरण गरिएको भए पनि अहिलेसम्म कुन सहरलाई के नाम दिने भन्ने टुङ्गो नभएको प्राधिकरणका सहरी योजनाकार खोखालीले बताए ।

१० हजार रोपनीमा बन्ने अन्य सहरहरुमध्ये एउटा उपत्यकाकोे उत्तरपूर्वी दिशामा हुनेछ । यो सहरले पूर्वतर्फ भक्तपुरको सूर्यविनायक चोकदेखि सूर्यविनायक मन्दिरअगाडिको वनक्षेत्र तथा आसपासलाई समेट्नेछ । पश्चिममा खहरे खोला, बालकोट–बिरुवा सडक, पानी ट्याङ्की, बालकोट, अमरनगर, ठिमी हुँदै अरनिको राजमार्गसम्म फैलिनेछ । उत्तरको सीमा भने अरनिको राजमार्ग हुनेछ । दक्षिणतर्फ सिलामखाल, रानीकोट जङ्गलछेउ, अनन्तलिङ्गेश्वर फेदी, तर्खगाल, पात्लेटार–बिरुवा हुँदै खहरेसम्मको क्षेत्रमा विस्तार गर्ने प्रारम्भिक योजना छ ।
तेस्रो काठमाडौंको दक्षिणपश्चिम दिशामा १० हजार रोपनीमा बन्ने सहर ललितपुरको पूर्वतर्फ खोकना १ देखि ८ वडा हुँदै बुङ्मती १ भएर छम्पी जाने बाटो तथा वडा नं २ देखि ६ सम्म फैलिनेछ । पश्चिम र दक्षिणतर्फ वाग्मती नदीको सीमा तोकिएको छ । उत्तरमा साविकको सैंबु गाविसको सीमासम्म सहर फैलने प्रस्ताव गरिएको छ ।
चौथो सहर काठमाडौंको उत्तरतर्फ १० हजार रोपनीमा हुनेछ । यसको पूर्वमा सामाखुसी, टोखा सडक हुँदै बाइपाससम्म सीमा रहनेछ । पश्चिमतर्फ काभ्रेस्थलीदेखि बाइपास आउने मूल सडकसम्म ओगट्नेछ । उत्तरमा सपनतीर्थ, मालुङ हुँदै काभ्रेस्थलीको बाटोसम्म पुग्नेछ । दक्षिणमा ग्रीनल्यान्ड चोकदेखि महादेवखोला, काभ्रेस्थली मूल सडकलाई छुने गरी प्रस्ताव गरिएको छ ।
विभिन्न कोणहरुको नाम जोडेर मिडियामा सहरको नामकरण गरिएको भए पनि अहिलेसम्म कुन सहरलाई के नाम दिने भन्ने टुङ्गो नभएको प्राधिकरणका सहरी योजनाकार खोखालीले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१