माओवादी केन्द्रले कारवाही फिर्ता लिए पार्टीमा फर्किन्छु : छक्कबहादुर लामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ मंसिर २०७४, बिहीबार ०६:४४

प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका अगाडि नेपाली कांग्रेससमेत कमजोर देखिएका बेला हुम्लाको एकमात्र निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका छक्कबहादुर लामा विजयी भएका छन् । कांग्रेसका मंगलबहादुर शाहीलाई ४७ मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् । माओवादीका पोलिटव्युरो सदस्य समेत रहेका लामाले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । शाही शासनकालमा सहायक मन्त्री समेत बनेका लामा पार्टी बाहिरबाट स्वतन्त्र उम्मेदवारी दिँदासमेत कसरी जित हासिल  गर्न सफल भए ? अब उनको माओवादी केन्द्रमा ‘कम व्याक’ हुन सक्छ कि सक्दैन ? उनको अबको भावी योजना के–के छन् ? प्रस्तुत छ, यिनै यस्ता विषयमा केन्द्रित रहेर लामासँग गरिएको कुराकानीको सारसंक्षेपः सम्पादक)

तपाईं पार्टी बाहिरबाट स्वतन्त्ररुपमा चुनावी मैदानमा खडा भए पनि विजयी हुनु भएको छ । यो कसरी सम्भव भयो ?

०३२ सालदेखि म हुम्लाको राजनीतिमा सक्रिय छु । जनताको बीचमा पुगेर सुख दुःखमा साथ दिँदै आएको छु । घरदैलोमै सधैं रहने भएकाले जनताले मलाई आफ्नो मन मुटुमा सजाएका छन् । त्यसैले स्वतन्त्ररुपमा मैदानमा उत्रिए हुम्ली जनताको अपार माया र मप्रतिको विश्यावसले गर्दा म अनेकन अवरोधहरु छिचोल्दै विजयी हुन सफल भएँ ।

 

तपाईं पार्टी नीतिविपरीत उम्मेदवार बन्नु भएको थियो ।  जिताउन सहयोग चाहिँ क–कसले गरे त ?

मलाई पहिलो त हुम्लाका जनताले साथ दिए । माओवादीका सारा साथीले मलाई सहयोग गरे । म जनताको पक्षमा काम गर्ने व्यक्ति हुँ । एनजीओ सञ्चालनमा लागेकाले मेरो हुम्लाका जनतासँग निकै राम्रो सम्बन्ध छ । विकास निर्माणको काममा पनि मैले उत्तिकै भूमिका खेलेको छु । कैयन विकास निर्माणहरु मेरै कारणले भएका छन् । यो कुरा हुम्लाको जनताले राम्ररी बुझे र मलाई विजयको माला पहिर्याए । म हुम्लाका आमजनतालाई हृदयदेखि नै आभार तथा धन्यवाद व्यक्त गर्न चाहन्छु ।

भनेपछि तपाईंलाई वाम गठबन्धनले नै सहयोग गरे ?

हो, गरे । वाम गठबन्धनले त मलाई सहयोग गरे नै अरु पार्टीका साथीहरु पनि मलाई जिताउन लाग्नु भयो । सबैजना मलाई जिताउन लाग्नु भएकाले नै त मैले यतिधेरै मत ल्याएँ नि त ।

यसरी स्वतन्त्र उम्मेदवारी दिएर पनि जित्छु भन्ने लागेको थियो कि उपस्थिति मात्रै भने पनि देखाऊ भन्ने लागेर उम्मेदवारी दिनुभएको हो ?

निर्वाचनमा होमिएपछि हार –जीत स्वभाविक रुपमा हुन्छ । तर, म सुरुदेखि नै जित्नेमा नै ढुक्क थिएँ । साथीहरुको उम्मेदवारी दिन परेको दबाब र अपार मायाले हौसिएर नै मैले उम्मेदवारी दिएको हुँ ।

 

हुम्लामा विकास निर्माण गरें भन्नु भयो । तर, हुम्ला त अझै विकासलाई पर्खिएर बसिरहेको छ नि होइन ?

हुम्लामा हामीले धेरै विकास गरेका छौं । तर, अझै धेरै गर्न बाँकी छ । पिछडिएकाले नै जनताले विकास निर्माण गर्ने मजस्तो व्यक्तिलाई छान्नु भएको हो । हुम्ली जनताको आश ममाथि किन पनि छ भने म देश विदेश घुमेको मान्छे, अध्ययन र लेखपढ गरेको मान्छे । जाति जनजातिको अध्ययन गरेको व्यक्ति भएर पनि जनताले मलाई नै चुनेका हुन् जस्तो लाग्छ ।

 

पार्टीको निर्णयविपरीत उम्मेदवारीचाहिँ किन दिनु भएको त ?

हुम्लाका जनताले मलाई चाहेका थिए । त्यहाँ मेरो विकल्प छँदै थिएन । यो कुरा निर्वाचनको परिणामले पनि पुष्टि गरेको छ । तर, ममाथि अन्याय गरियो र गलत व्यक्तिलाई टिकट दिइयो । त्यसैले मैले उम्मेदवारी दिएको हुँ ।

 

यो कुरा उम्मेदवारी दर्ता गर्नुअघि पार्टीमा गर्नु भएन त ?

गरेँ, किन नगर्नु नि । तर, मेरो कुरा फिटिक्कै सुनुवाइ भएन । पार्टीले ममाथि अन्याय गरेर अरुलाई खडा गरे पनि नै मैले बाध्य भएर उम्मेदवारी दर्ज गराएको हुँ ।

माओवादी केन्द्रकै एउटा पक्षबाट तपाईंलाई उक्साइयो भन्ने छ नि ?

माओवादी केन्द्रका धेरैभन्दा धेरै साथीहरुलाई मेरो विकल्प अरु नभएको राम्रोसँग थाहा थियो । यो कुरा बुझ्नु भएका साथीहरुले मलाई निरन्तर स्वतन्त्र उम्मेदवारी दिन आग्रह गरिरहनु भयो । आमजनताले पनि मलाई नउठाएर पार्टीले अरुलाई नै खडा गरेकोमा खिन्नता व्यक्त गर्नुभयो । सबैको भरोसा ममाथि नै भएपछि बाध्य भएर मैले उम्मेदवारी दिएको हुँ ।

पार्टीले त तपाईंलाई कारबाही गरेको छ नि होइन ?

हो, पार्टी नीतिविपरीत उम्मेदवारी दिएको भन्दै माओवादी केन्द्रले मलाई कारबाही गरेको छ । म पार्टीको पोलिटव्युरो सदस्य हुँ । तर मलाई कारबाही गरेर सबै जिम्मेवारीहरुबाट मुक्त गरिएको छ ।

 

अब माओवादी केन्द्रमा फर्कने कि स्वतन्त्र रुपमा नै रहने त ?

मैले हुम्लाका जनता तथा कार्यकर्ताको म्यान्डेट लिएको छु । उहाँहरुको म्यान्डेट अनुसार नै मैले चुनाव जितेको हुँ । अब उहाँहरुले जेजस्तो निर्देशन दिनुहुन्छ, त्यो मानेर म अगाडि बढ्नेछु ।

कार्यकर्ताहरुले के भनेका छन् त तपाईंलाई ?

बहुसंख्यक कार्यकताहरु माओवादीमा नै फर्कियोस् भन्ने चाहिरहनु भएको छ । उहाँहरुले मलाई पार्टीमा फर्कन एक किसिमले अहिलेदेखि नै दबाब दिइरहनु भएको छ । यद्यपि, पार्टीले अहिलेसम्म हुम्लामा गलत व्यक्तिलाई उम्मेदवारी बनाइएछ भनेर रियलाइजेसन गरिसकेको छैन । पार्टीले यो कुरा रियलाइज ग¥यो भने मलाई सजिलो हुन्छ ।

भनेपछि तपाईं माओवादी केन्द्रमै फर्किन चाहनु हुन्छ ?

माओवादीको एजेण्डाले छोएर म माओवादी केन्द्रमा लागेको हुँ । अहिलेका राजनीतिक पार्टीमा सबैभन्दा अब्बल माओवादी केन्द्र नै छ । तर, माओवादी केन्द्रले सबैभन्दा पहिले हुम्लामा छानेको उम्मेदवारको बारेमा समीक्षा गर्नुपर्छ । पार्टीले गल्ती गरेको स्वीकारेर ममाथिको कारबाही फुकुवा ग¥यो भने म पार्टीमा नै फर्कन्छु । अन्यथा मलाई माओवादीमा फर्किन अप्ठ्यारो पर्न सक्छ ।

 

जनताले तपाईंलाई जिताएर त पठाए । अब के–के काम गर्ने योजना बनाउनु भएको छ त हुम्लामा ?

तपाईं–हामीलाई थाहै छ, हुम्ला विकास निर्माणमा निकै पछाडि छ । यो लामो कालखण्डदेखिको समस्याबाट हुम्लाले मुक्ति चाहिरहेको छ । जिल्लाको समग्र विकास यतिबेलाको आवश्यकता हो । हुम्लामा पर्यटन, जडिबुटीलगायतको प्रचुर सम्भावना छ । तर, त्यो सम्भावनालाई हामीले चिन्न सकेका छैनौं । सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुलीलगायतका विकास निर्माणका कामलाई गति दिन पनि उत्तिकै जरुरी छ । उत्पादनहरुलाई बजारमा पुर्याउनेलगायत काममा पनि हामी चुकेका छौं । यी सबै कुराहरुलाई केन्द्रमा राखेर भावी दिनमा मैले भूमिका खेल्नेछु ।

 

यो काम त प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिले गर्ने काम हुन् । तपाईं त नीति निर्माण गर्नतिर लाग्नुपर्ने होइन र ?

हो, नीति निर्माणमा पनि हुम्लाको पहुँच छैन । यो काम मेरो तर्फबाट हुन्छ । म मेरा आम मतदातालाई विश्वस्त गराउन चाहन्छु कि नीति निर्माणका निम्ति मैले खेल्ने भूमिकामा कुनै कमी हुन दिने छैन । यसका अलावा विकास निर्माणको काममा पनि ध्यान दिन आवश्यक छ । पर्यटन व्यवसाय र उत्पादनलाई बजारसम्म पुर्याउने काममा पनि म लाग्नेछु । मेरो कार्यकाल ५ वर्षको छ । यो लामो समय हो । जनताको मतको सम्मान गर्दै ५ वर्षको अवधिमा सिंगो जिल्लाको मुहार नै फेर्नेगरी काममा लाग्नेछु । यसमा सबैको साथ र सहयोग प्राप्त हुनेछ भन्ने विश्वास मैले लिएको छु । म हुम्लाका सबै राजनीतिक दल, नागरिक समाज, आमजनताको भावना अनुरुप नै अघि बढ्नेछु भन्ने विश्वास दिलाउन चाहन्छु । साभार – साँघु

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१