आइसिसी विश्व क्रिक्रेट लिग : नेपाल युएईसँग ७ विकेटले पराजित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ मंसिर २०७४, बुधबार ०४:३८

काठमाडौं । आइसिसी विश्व क्रिक्रेट लिग च्याम्पियनसिपमा युएईसँगको पहिलो खेलमा नेपाल ७ विकेटले पराजित भएको छ।

नेपालले दिएको २ सय २२ रनको लक्ष्य घरेलु टोली युएईले ४५ दशमलव ५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । युएईको जितमा घुलाम सबीरले नटआउट ८१, रोहन मुस्ताफाले ६२ र रमित शाहजदले ३७ रनको योगदान दिए । नेपालका शरद भेषावाकर र सन्दीप लामिछानेले एक एक विकेट लिए।

युएईको आवुधावीमा यसअघि टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो । नेपालका लागि शरद भेषवाकरले उत्कृष्ट प्रदर्शन गर्दै अविजित ८१ रनको योगदान दिए । तेश्रो नम्बरमा व्याटिङ गर्न आएका शरदले अन्तिमसम्म ९५ बलको सामाना गर्दै ५ चौका समेत प्रहार गरे । यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले ६ चौका प्रहार गर्दै ५४ रन बनाए । ओपनर दिलिपनाथ १६ रनमा आउट भए पनि शरद र ज्ञानेन्द्रले दोश्रो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए।

ज्ञानेन्द्र आउट भएपछि क्रिजमा आएका कुनै पनि व्याट्सम्यानले शरदलाई भरपर्दोसँग साथ दिन सकेनन्। कप्तान पारस खड्का २०, आरिफ शेख शुन्य, विनोद भण्डारी ४ रनमै पेभेलिएन फर्केपछि नेपालको इनिङ धराशयी भएको थियो।

तर सातौँ नम्बरमा व्याटिङ गर्न आएका सोमपाल कामीले भने १९ बलमा ३ चौकासहित २० रन बनाए । उनी आउट हुँदा नेपालको स्कोर १ सय ८१ रन थियो । सोमपाल आउट भएपछि क्रिजमा आएका बसन्त रेग्मीले अविजित १४ रन बनाएपछि नेपालले २ सय २१ रनको मध्यम योगफल तयार पारेको थियो । अर्को इण्डबाट शरद भेषावाकर संयमित भएर क्रिजमा टिकिरहेपछि नेपालले मध्यम स्तरको लक्ष्य युएईलाई दिएको थियो।

तर व्याटिङमा जस्तै बलिङमा पनि नेपाल आज कमजोर देखियो । पार्ट टाइम बलर बनेका शरद भेषवाकरले एक विकेट हात पार्दा सन्दीप लामिछानेले अर्को विकेट लिए । तिब्र गतिका बलर सोमपाल कामी, ललित राजबंशी र स्पीनर शक्ति गौचन तथा बसन्त रेग्मीले कुनै पनि विकेट लिन सकेनन् । नेपाललाई आजको खेल हारे पनि कुनै असर परेको छैन।

नेपाल र युएईबिच शुक्रबार दोश्रो खेल हुने छ । च्याम्पियनसिपको शीर्ष ४ टीममा पर्ने सम्भावना सकिएका दुवै टोली डिभिजन टूमा झरिसकेका छन् । दुवै टीमले यो खेललाई डिभिजन टूको तयारीका लागि महत्वपूर्ण हुने बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०