मेसी चार वर्ष बार्सिलोनामै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ मंसिर २०७४, सोमबार ०४:५५

अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसी सन् २०२१ सम्म स्पेनिस क्लब बार्सिलोनमा नै रहने भएका छन् । शनिबार एक कार्यक्रमबीच मेसीले सम्झौतापत्रमा हस्ताक्षर गर्दै आफू चार वर्ष क्याटलन क्लबमै रहने जनाएका छन् । नयाँ सम्झौतासँगै जनवरीमा हुने खेलाडी किनबेच सिजनमा मेसी अन्य जाने सम्भावना समाप्त भएको छ । यसअघि सम्झौता नवीकरणमा मेसीले आनाकानी गर्दै आएका थिए।

बार्सिलोनाकै महँगा खेलाडी
बार्सिलोनासँग सम्झौता गरेपछि मेसी क्लबकै सर्वाधिक पारिश्रमिक पाउने फुटबलर बनेका छन् । सम्झौताअनुरूप मेसीले प्रतिसाता पाँच लाख पाउन्ड पाउनेछन् । यसैगरी उनले प्रतिवर्ष आठ करोड पाउन्ड बोनसका रूपमा पाउने बार्सिलोनाले जनाएको छ । मेसी र बार्सिलोनाबीचको सम्झौता डिसेम्बरमा समाप्त हुँदै थियो । प्रशिक्षक जोसेप मारियाले मेसीको पाँच वर्षको भ्यालु ६२ करोड ६० लाख पाउन्ड हुने जनाएका छन् । यता मेसीले बार्सिलोनासँग नयाँ सम्झौता गर्न पाउँदा खुसी लागेको बताएका छन् । ‘बार्सिलोनामा फेरि नयाँ कथा लेखिनेछ,’ मेसीले ट्विटरमा भने, ‘बार्सिलोनामै थप नयाँ करिअर बनाउनेछु ।’

३० फुटबल उपाधि
१३ वर्ष छँदै बार्सिलोनाको एकेडेमीमा अनुबन्ध भएका मेसीले अहिलेसम्म नोउ क्याम्पमा ४ हजार ८ सय ८८ दिन बिताएका छन् । यस क्रममा उनले बार्सिलोनाबाट समग्रमा ६ सय २ खेलमा प्रतिस्पर्धा गरेका छन् । उनले स्पेनिस लिगमा कीर्तिमानी रूपमा बार्सिलोनाबाट ५ सय २३ गोल गरेका छन् । क्लबका अध्यक्ष मारियाले मेसीलाई वर्तमान समयकै फुटबलका ऐतिहासिक पात्र भएको दाबी गरेका छन् । ‘मेसी फुटबल इतिहासकै उत्कृष्ट खेलाडी हुन्,’ मारियाले भने, ‘बार्सिलोनाले फेरि मेसीजस्ता खेलाडी पाउन कठिन छ ।’ मेसीले लगातार १७ वर्ष बार्सिलोनामा रहँदा ३० उपाधि जितेका छन् । यसक्रममा मेसीले आठपटक स्पेनिस लिग र चारपटक युरोपियन फुटबल च्याम्पियनसिप उपाधि बार्सिलोनालाई दिलाए ।

मेसीका चाहनाअनुरूप सम्झौता
बार्सिलोनाले शुक्रबारै मेसीसँग सम्झौता गर्ने तयारी गरेको थियो । अघिल्लोपटक मेसीले सम्झौता गर्न नमान्दा बार्सिलोनाले राम्रो प्रस्ताव राखेको थियो । मेसीले नयाँ प्रस्तावअनुरूप शनिबारै सम्झौता गरेको अध्यक्ष मारियाले जानकारी दिएका छन् । ‘हामीसमक्ष मेसीले नै सम्झौता नवीकरण गर्नुपर्ने बताए,’ उनले भने, ‘उनकै चाहनाअनुसार हामीले नयाँ सम्झौता गरेका हौँ ।’ यता स्पेनिस ला लिगाकै अध्यक्ष जाभियर टेबासले पनि मेसीलाई बार्सिलोनाभन्दा बाहिर नपठाउन दबाब दिएको स्पेनिस एजेन्सीहरूले जनाएका छन् ।

दोहोरो खुसी
मेसीले २४ घन्टाभित्रै दोहोरो खुसी प्राप्त गरे । शुक्रबार मेसीले युरोपियन गोल्डेन बुट अवार्ड चौथोपटक जिते । शनिबारै उनले बार्सिलोनासँग नयाँ सम्झौता गर्दै दोहोरो खुसी पाए । मेसीले सन् २०१६–१७ सिजनमा गोल गरेका आधारमा गोल्डेन बुट जितेका हुन् । उनले त्यस सिजनमा ३७ गोल गरेका थिए । यसअघि मेसीले २०१०, ०१२ र ०१३ मा गोल्डेन बुट हात पारेका थिए । मेसीले रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोसँग गोल्डेनबुट जित्ने रेकर्ड बराबरी गरेका छन् । रोनाल्डोले अहिलेसम्म चारपटक गोल्डेन बुट जितेका छन् । उनले २००८, ०११, ०१४ र ०१५ मा उपाधि जितेका थिए । गत सिजनमा रोनाल्डोले २५ गोल गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१