संघीय संरचनामा परिवर्तन हुँदै नेपाल पर्यटन बोर्ड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ मंसिर २०७४, सोमबार ०४:४९

मध्य तथा सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनका लागि प्रदेश नं. ७ मा कार्यालय खोल्ने तयारी –

नेपाल पर्यटन बोर्डले मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रको पर्यटन प्रवद्र्धन तथा विकासलाई लक्षित गरी प्रदेश नं. ७ मा पनि कार्यालय विस्तार गर्ने भएको छ । यी दुई क्षेत्रको पर्यटन विकास तथा प्रवद्र्धनको कार्य अझ सहज र प्रभावकारी बनाउन कैलालीको धनगढी वा अत्तरियामा कार्यालय खोल्ने योजना रहेको बार्डले जनाएको छ ।

बोर्डले आर्थिक वर्ष ०७४-७५ को बजेट तथा कार्यक्रममा यो योजना समेटेको छ । संघीयताअनुरूप अन्य प्रदेशमा पनि बोर्डको उपस्थिति आवश्यक रहेकाले बजेट तथा कार्यक्रममा त्यसका लागि तयारी अगाडि बढाइने कार्यक्रममा उल्लेख छ ।

स्थानीय तहबाटै कार्यक्रम कार्यान्वयन
बोर्डको बजेट तथा कार्यक्रम सञ्चालनसम्बन्धी निर्देशिकाबमोजिम पर्यटन सम्पदा पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्न सम्बन्धित स्थानीय तहमै विनियोजित बजेट पठाउनुपर्ने छ । यस्तो बजेट पहिलो चरणमा ५० प्रतिशत निकासा हुनेछ भने बाँकी रकम कार्यप्रगतिका आधारमा मात्र पठाउनुपर्नेछ । र, यस्ता कार्यक्रमको कार्यान्वयन तथा आर्थिक जवाफदेहिता पनि सम्बन्धित स्थानीय तहकै हुने बोर्डले स्पष्ट पारेको छ । बोर्डबाट बजेट विनियोजन भई स्थानीय तहबाट कार्यान्वयन हुने आयोजनाको विवरण बोर्डले माग गर्न सक्ने तथा त्यस्ता आयोजनाको अनुगमनसमेत गर्न सकिने पनि बोर्डले उल्लेख गरेको छ । बोर्डको लगानीमा कार्यान्वयन हुने पर्यटन पूर्वाधार विकासका कार्यक्रम सञ्चालनमा स्थानीय जनसहभागितालाई जोड दिइने बोर्डको योजना छ ।

कार्यविधिमा टेकेर मात्र कार्यक्रम कार्यान्वयन
नेपाल पर्यटन बोर्डबाट स्वीकृत कार्यक्रम कार्यान्वयन अब कार्यविधिमा टेकेर मात्र गर्नुपर्ने भएको छ । खासगरी अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धन तथा आन्तरिक पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यविधि बनाएर मात्र कार्यान्वयन गर्नुपर्ने नीति बोर्डले लिएको छ । यस्तो कार्याविधि बोर्डको कार्यकारी समितिमा पेस गर्ने र समितिबाट स्वीकृत कार्यविधिमा आधारित भएर मात्र कार्यक्रम कार्यान्वयनमा ल्याउनुपर्नेछ । बोर्डले चालू आवका लागि १ अर्ब ३७ करोड २० लाख रुपैया“को बजेट तथा कार्यक्रम कार्यान्वयनमा ल्याइसकेको छ ।

पोखरा कार्यालयलाई नयाँ नाम
बोर्डले केन्द्रीय कार्यालयबाहेक पोखरामा क्षेत्रीय कार्यालय सञ्चालनमा ल्याएको थियो । क्षेत्रीय कार्यालयको नाम भने चालू आवकै बजेट तथा कार्यक्रममार्फत परिवर्तन गरिएको छ । बोर्डका अनुसार अब पोखरा कार्यालयको नाम ‘नेपाल पर्यटन बोर्ड प्रदेश नं. ४ कार्यालय’ नामकरण गरिएको छ । बोर्डलाई संघीय व्यवस्थाअनुसार पुनर्संरचना गर्ने क्रममा कार्यालयको नाम परिवर्तन गरिएको बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१