नेपालका १० धनाढ्य को-को हुन्, कसको सम्पति कति छ ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ कार्तिक २०७४, बुधबार ०६:१४

काठमाण्डौं ।  विश्वप्रसिद्ध म्यागेजिन फोब्र्सले हरेक वर्ष विश्वभरका धनाढ्यहरूको सम्पत्ति विवरण सहितको सूची सार्वजनिक गर्छ, जसका आधारमा संसारकै सर्वाधिक धनी को हो ? कसको सम्पत्ति कति छ ? कसले कसलाई उछिन्यो जस्ता रोचक तथ्य वर्षेनी सतहमा आउँछन् । उक्त सूचीमा अहिलेसम्म एक जना नेपाली धनाढ्य विनोद चौधरी मात्र अटाएका छन् ।

अस्ट्रेलियाको बीआरडब्लू रिचले त्यहाँका धनाढ्यहरूको सूची प्रकाशित गर्छ, जसमा नेपालीमूलका व्यवसायी शेष घले सूचिकृत छन् ।विदेशमा जस्तो नेपालमा धनाढ्यहरूको सूची प्रकाशित गर्ने अभ्यास छैन । त्यसैले फोब्र्स नेपाली अर्बपति विनोद चौधरी तथा अस्ट्रेलियाका अर्बपति नेपाली शेष घलेबाहेक अन्य नेपाली धनाढ्यहरूको सम्पत्ति कति छ, अहिलेसम्म कसैलाई जानकारी छैन । न त कुनै सरकारी निकायको तथ्यांकका आधारमा नेपाली धनाढ्यहरूको सम्पत्तिको विश्लेषण गर्न नै सकिन्छ, न त उनीहरू स्वयं आफ्नो सम्पत्तिका विषयमा चर्चा गर्न रुचाउँछन् । यिनै कारणले नेपाली धनाढ्यहरूको सम्पत्तिको सूची तयार पार्न निकै कठिन छ ।

यसका पछाडि एकद्वार कर प्रणाली नहुनु, व्यवसायीहरू स्वयंले आफ्नो सम्पत्तिका विषयमा चर्चा गर्न नरुचाउनु, कतिपय कारोबार गोप्य राख्नु तथा कतिपय नेपाली धनाढ्यको सम्पत्ति ट्याक्स हेभेनका रूपमा चर्चित मुलुकहरूमा रहनु पनि थप कारण हुन सक्छन् । अझ यसमा अवैध सम्पत्तिका कारण भएका धनाढ्यहरू समेटिने त कुरै भएन, जसको संख्या पनि नेपालमा उल्लेख्य छ । सतहमा देखिएका प्रमाणका आधारमा नेपालका सबैभन्दा धनाढ्य विनोद चौधरीलाई नै मान्नुपर्ने हुन्छ । सन् २०१७ मा फोब्र्सले विश्वभरका २ हजार ४३ अर्बपतिको सूची सार्वजनिक गर्दा त्यसमा १ हजार ५ सय ६७ औं नम्बरमा चौधरीको नाम थियो । फोब्र्सका अनुसार त्यतिबेला चौधरीको सम्पत्ति १ अर्ब ३० करोड डलर थियो । अघिल्लो वर्ष उनी १ अर्ब १० करोड डलर सम्पत्तिसहित १ हजार ५ सय ७७ औं स्थानमा थिए । चौधरीको नेपालका साथै विदेशमा समेत संस्करित खाद्य पदार्थ, इलेक्ट्रोनिक्स, होटल, बैंक, रियलस्टेट, शिक्षा, अस्पताल आदिमा लगानी छ ।

अस्ट्रेलियामा बसेर व्यवसायिक उचाइ हासिल गरिरहेका तथा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले अर्का अर्बपति नेपाली हुन् । अस्ट्रेलियाको बीआरडब्लू रिचले सन् २०१७ मा अस्ट्रेलियाका २ सय धनाढ्यको सूची प्रकाशित गरेको थियो, जसमा घले र उनकी श्रीमती जमुना घले १ सय २ औं स्थानमा थिए । उक्त सूचीअनुसार घले दम्पतीको सम्पत्ति ६ अर्ब ४७ करोड अस्ट्रेलियन डलर बराबर थियो । बीआरडब्लू रिचका अनुसार उनीहरूको सम्पत्ति अघिल्लो वर्षको तुलनामा १० दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । अस्ट्रेलियामा घले दम्पतीको शिक्षा, रियलस्टेट आदि क्षेत्रमा लगानी छ भने उनीहरूले नेपालमा पनि हस्पिटालिटी क्षेत्रमा लगानी सुरु गरेका छन् ।

धनाढ्य नेपालीमै पर्छन्, रूस र नेपालमा व्यवसाय गरिरहेका गैरआवासीय नेपाली उपेन्द्र महतो । सिराहाका महतो ८० को दशकमा छात्रवृत्ति अन्तर्गत अध्ययनका लागि रूस पुगेका थिए । ९० को दशकको प्रारम्भमा साम्यवादको अन्त्यपछि रूसमा देखिएको राजनैतिक तथा आर्थिक उथलपुथुलको लाभ उठाउँदै उनी त्यहीँ व्यापारमा होमिए ।

महतोको रूसमा इलेक्ट्रोनिक्स, तेल, बैंक, अटोमोबाइल्स आदि क्षेत्रमा लगानी छ । उनको युरोप, अफ्रिका तथा एसियामा पनि लगानी छ । महतोले केही समयअघि मात्र पतञ्जली आयुर्वेद प्राइभेट लिमिटेडलाई नेपाल भित्र्याएका छन् । यद्यपि उपेन्द्रको वास्तविक सम्पत्ति कति छ भन्ने आधिकारिक तथ्यांक कसैसँग छैन ।

रूसकै अर्का नेपाली व्यवसायी जीवा लामिछाने पनि धनाढ्य नेपालीमै पर्छन् । सन् १९९० देखि रुसमा इलेक्ट्रोनिक्स सप्लाई मार्फत आफ्नो व्यवसायिक यात्रा सुरु गरेका लामिछानेको लगानी दर्जनौं कम्पनीमा छ ।

नेपालमा उनको बैंक, हाइड्रो, सिमेन्ट, सञ्चारदेखि अस्पताल, शिक्षासम्ममा लगानी छ । लामिछानेले जर्मनी र नेपालका होटलहरूमा समेत लगानी गरिरहेका छन् । जीवा लामिछानेको वास्तविक सम्पत्ति कति छ त्यसको पनि निश्चित र भरपर्दो आँकडा बाहिर आउन सकेको छैन ।

प्रभाकरशमशेर राणा तथा उनका छोरा सिद्धार्थशमशेर राणा पनि धनाढ्य नेपाली हुन् । टाटा मोटर्सको आधिकारिक विक्रेता (नेपाली बजारमा) सिप्रदी कम्पनी, सूर्य टोबाको तथा नेपालकै पहिलो पाँचतारे होटल सोल्टीमा समेत उनको लगानी छ । कुनै समय पूर्वराजा ज्ञानेन्द्रका व्यापारिक साझेदारका रूपमा समेत चिनिने प्रभाकरशमशेरको व्यापारिक साम्राज्य अहिले उनका छोरा सिद्धार्थशमशेरले सम्हालिरहेका छन् ।

यति ग्रुपका मालिक हुन्, आङछिरिङ शेर्पा । यति ग्रुप नेपालको पर्यटन व्यवसायको सबैभन्दा ठूलो स्टेक होल्डर मानिन्छ । यति ग्रुपको डोमेस्टिक रूपमा सबैभन्दा धेरै उडान भर्ने यति एयरलाइन्ससँगै हस्पिटालिटी क्षेत्रमा समेत लगानी छ । नेपाली परिवेशमा आङछिरिङको वास्तविक सम्पत्ति भने अहिलेसम्म सार्वजनिक हुन सकेको छैन ।

व्यवसायिक घराना गोल्छा ग्रुपका वर्तमान अगुवा लोकमान्य गोल्छा पनि घनाढ्य नेपालीमै पर्छन् । गोल्छा समूहको खाद्यान्न, अटोमोबाइल्स, इलेक्ट्रोनिक्स आदि दर्जनौं क्षेत्रमा लगानी छ ।

ज्योति समूहका पद्म ज्योति पनि धनाढ्य नेपाली हुन् । पुरानो व्यवसायिक घराना ज्योति समूह नेपालमा होन्डा अटोमोबाइल्सको आधिकारिक विक्रेता हो । त्यसबाहेक ज्योति समूहको स्टिल, बैंक, कृषि आदि क्षेत्रमा लगानी छ । प्रतिष्ठित व्यवसायिक घराना ज्योति समूहको सम्पत्तिको यकिन आँकडा पनि कसैसँग छैन ।

राष्ट्रिय वाणिज्य बैंकको खरिदारको जागिर छाडेर रेमिट्यान्स कम्पनीमार्फत व्यवसायमा होमिएका हुन्— चन्द्र ढकाल । उदीयमान धनाढ्य ढकालको पर्यटन, बैंकिङ, अटोमोबाइल्स, हाइड्रो, स्वाास्थ्य, सूचना–प्रविधि आदि क्षेत्रमा लगानी छ ।

पशुपतिशमशेर जबरालाई पैतृक सम्पत्तिका कारण धनी नेपाली मानिन्छ । नेपालमा देखिने लगानी नभएका तथा नेपालको इतिहासमा सर्वाधिक शक्तिशाली मानिएका प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरका पनाति पशुपतिशमशेरको वास्तविक लगानी नेपालमा भन्दा बाहिर बढी भएको मानिन्छ ।

भारतका सर्वाधिक धनाढ्य रजौटाहरूमध्ये एक ग्वालियरको सिन्धिया राजपरिवारका ज्वाइँ पशुपतिशमशेर राणाले आफ्नो सम्पत्ति भारतका थुप्रै क्षेत्रमा लगानी गरेको अनुमान गर्नेहरूको कुनै कमी छैन ।

बैंक, बियर, इन्स्युरेन्स, चाउचाउ, कृषि आदि विभिन्न क्षेत्रमा लगानी गरेका राजेन्द्र खेतान पनि नेपालका धनाढ्य व्यवसायी हुन् । नेपाली उद्योग–व्यवसायमा खेतान ग्रुप प्रतिष्ठित व्यवसायिक घराना मानिन्छ । यस्तै कृषि, पशुपालन आदि क्षेत्रमा लगानी रहेको निम्बस ग्रुपका आनन्द बगारियालाई पनि नेपाली नवधनाढ्यका रुपमा चिनिन्छ ।

अजय सुमार्गीको व्यवसायिक उडानलाई करिश्माकै रूपमा लिइन्छ । एकाध वर्षमै अर्बौंको मालिक भएका सुमार्गीको दूरसञ्चार, जलविद्युत, पर्यटन, सिमेन्ट, हस्पिटालिटी आदि क्षेत्रमा लगानी छ । यसबाहेक बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत, मुरारका अर्गनाइजेसनका अध्यक्ष पशुपति मुरारका, वैद्य अर्गनाइजेसनको नेतृत्व गरिरहेका सुरज वैद्य, पञ्चकन्या ग्रुपका अध्यक्ष प्रदीपकुमार श्रेष्ठ, केडिया अर्गनाइजेसनका अनिल केडिया, युनिलिभर नेपालका प्रमुख साझेदार एनइ ग्रुपका रविभक्त श्रेष्ठ, रियलस्टेट टाइकुन सिभिल ग्रुपका इच्छाराज तामाङ, विशाल ग्रुपका जगदीश अग्रवाल, भाटभटेनी सुपर मार्केटका मीनबहादुर शेरचन, शंकर ग्रुपका साहिल अग्रवाल, शारडा ग्रुपका एसआर शारडा, त्रिवेणी ग्रुपका गोविन्द संघाई तथा टीएम दुगड ग्रुपका मोतीलाल दुगड पनि धनाढ्य नेपालीमा पर्छन् ।

यीनै हुन् १० धनी नेपाली

विभिन्न सूत्रको हवाला दिँदै तयार पारिएको एक अनलाइन समाचारमा १० नेपाली धनाढ्यको सूचीमा विनोद चौधरीदेखि पूर्वराजा ज्ञानेन्द्र शाहसम्मलाई समावेश गरिएको छ । अनलाइनमा भाइरल समेत भएको उक्त रिपोर्टमा दाबी गरिएअनुसार विनोद चौधरी, शेष घले, उपेन्द्र महतो पहिलो, दोस्रो र तेस्रो नम्बरमा छन्, जसमा चौधरीको सम्पत्ति १ अर्ब ६० करोड डलर, घलेको सम्पत्ति ४१ करोड १० लाख डलर तथा महतोको सम्पत्ति ३६ करोडदेखि १ अर्ब डलरसम्म रहेको दाबी गरिएको छ ।

नवधनाढ्य अजय सुमार्गी, नेपाली मूलका क्यानेडियन भनिएका आदित्य झा, जीवा लामिछाने, पशुपतिशमशेर जबरा, ओखलढुंगामा जन्मिएर हङकङ बस्ने भनिएका बलराम उक्त सूचीमा क्रमशः तेस्रोदेखि सातौं नम्बरमा छन् । सुमार्गीको सम्पत्ति २० करोड डलर, खासै चर्चामा नरहेका झाको सम्पत्ति १० करोड डलर, लामिछानेको सम्पत्ति ७ करोड २० लाख डलर, पशुपतिशमशेरको सम्पत्ति ८ करोड ४० लाख डलर भएको दाबी उक्त समाचारमा गरिएको छ । यस्तै हङकङका नेपाली मूलका व्यवसायी बताइने बलरामको सम्पत्ति ७ करोड डलर दाबी गरिएको छ ।

उक्त सूचीको १० औं नम्बरमा परेका पूर्वराजा शाहको १७ वटा कम्पनीमा सेयर रहेको बताइएको छ र उनको कुल सम्पत्ति ५ करोड ८० लाख डलर रहेको दाबी गरिएको छ । सूचीको नवौं नम्बरमा रहेका राजेन्द्र खेतानको सम्पत्ति ६ करोड ६० लाख डलर देखाइएको छ । उनको १३ वटा कम्पनीमा लगानी छ । यो सूचीलाई सर्वाधिक धनाढ्य नेपालीहरूको आधिकारिक सूचीका रूपमा लिन निकै गाह्रो छ, किनभने यसको भरपर्दो र विश्वसनीय स्रोत खुलाइएको छैन । अझ रोचक त के भने सूचीमा रहेका नेपाली मूलका क्यानेडियन भनिएका झा तथा हङकङमा व्यापार गरिरहेका भनिएका बलरामका सम्बन्धमा खासै तथ्य सतहमा आएको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१