प्रेम

आदिम के.सी.
प्रिय ‘आन्वी’
असीमित प्यारका रश्मिहरु

म सम्बोधनबाटै तिमीलाई अचम्मित पार्दै छु होला सायद । तिमीले अपेक्षा गरे बमोजिमको सम्बोधन सायद मैले गर्न सकिनँ । ‘असीमित प्यारका प्याला’ भनेको भए पनि तिम्रो अपेक्षाको केही प्रतिशत श्रेयको भागीदार म हुन्थें होला । मलाई यो पनि थाहा छ, मेरो सम्बोधन तिम्रा लागि पहिलो गाँसमै ढुङ्गा हुनेछ । थाहा पाउँदा पाउँदै पनि म तिमीलाई तिम्रै अपेक्षा बमोजिम सम्बोधन गर्न सकिनँ, तिमी फेरि सशङ्कित हुन्छौ होला मेरो प्रेमप्रति । शङ्का गर्न तिमीलाई पूर्ण छुट छ हाम्रो प्रेममा । म चाहन्न तिमीजस्तै प्रेमी/प्रेमिका एक अर्काका काबुमा हुनुपर्छ भन्ने । प्रेम आफैँमा स्वतन्त्र हुन्छ, जब हामी एक अर्काका अधीनमा भयौँ भने भन प्रिय हाम्रो प्रेम कहाँनेर स्वतन्त्र छ ? त्यसैले होला हामी भावनामा एक भएर पनि विचारमा फरक छौं, आफ्नै भएर पनि पराइजस्तै छौं । मिलनभित्र पनि विछोड छ, हर्षभित्र पनि विष्मात् छ, प्रशस्त सम्भावनाभित्र असम्भवका काला मेघहरु गर्जिरहेका छन् हाम्रो प्रेममा । मानौँ हाम्रो प्रेमको परिधि राहु, केतु अनि शनि आदि आदिको समन्वय हो ।
थाहा छ तिमी मलाई माया गर्छौ, दावी गर्छु तिम्रो शङ्काभन्दा निकै अग्लो छ मेरो माया पनि तिमीप्रति  । म चाहन्छु, हाम्रो माया सगरमाथा बनोस् तर तिमी हाम्रो प्रेम हिमनदी बनाउन उद्दत छौ । यहीँनेर हाम्रो प्रेम वैचारिक सिकार भएको छ । म प्रेमलाई शक्तिको उपज ठान्छु तिमी प्रेमलाई रङ्गमञ्चको मञ्चन ठान्छौ । म प्रेमलाई अमर आत्मा बनाउन चाहन्छु, तिमी प्रेमलाई नाशवान् देह बनाउन चाहन्छौ । प्यास लाग्दा प्यासीले प्यास मेटाउन पाएन भने तिमी इनार र पँधेरोको  महत्व देख्दैनौ । तर, म त्यही सन्दर्भमा इनार र पँधेरोको महत्व झन बढी देख्छु । मानिस स्वभावैले स्वार्थी प्राणी हो । तिम्रो दर्शनले आवश्यकताको महत्व तत्काल परिपूर्तिमा देख्छ, मेरो दर्शनले आवश्यकताको महत्व अभावमा देख्छ । मेरो दर्शनले प्यासी जति प्यासले तड्पिन्छ उसले त्यति नै इनारको महत्वको महसुस गर्छ । यो पनि हाम्रो प्रेमको विभेद दर्शन हो ।
प्रिय तिमी चाहन्छौ हाम्रो प्रेमलाई मुना —मदन, लैला — मजवुन, डब्लु. बि. इट्स–डेस्टिमोनाको जस्तै बनाउन । सायद त्यसैले होला बारम्बार अपिल गछ्र्यौ । म चाहन्न हाम्रो प्रेम त्यस्तो बनोस् । आखिर यी आदर्श प्रेममा कसको प्रेमको जय भएको छ र ? कुनै जोडीले प्रेमको सुखानुभूति गर्न पाएन । सुखद् अनुभूति त निकै टाढाको कुरा भयो, अघाउन्जेल पनि यिनीहरुले प्रेम गर्न पाएनन् । प्रेम वार्ता यिनका लागि एकादेशको कथा नै भयो । म अचम्मित छु प्रिय आखिर दुनियाँ किन यी जोडीलाई आदर्श प्रेमको रुपमा देख्छ । दुनियाँ बौलायो कि म बौलाएँ, म जान्न पनि चाहन्नँ किनभने म निश्चिन्त छु, दुनियाँ बौलाइरहेको छ । तर दुःख लाग्छ त्यही दुनियाँ भीडबाट तिमी अलग रहन सकेकी छैनौ । म बारम्बार आग्रह गर्छु तिमीलाई तर तिमी कुनै वास्ता नै गर्दैनौ । तिमी त्यही भीडलाई आफ्नो ठान्छ्यौ । त्यही भीडलाई सत्य ठान्छ्यौ । मलाई यही बखत दुःख लाग्छ, मैले तिमीलाई त्यो भीड सत्य होइन भनेर बुझाउन सकेन कि तिमीले बुझ्न सकेनौ । प्रेममा विश्वास हुन्छ र त प्रेमलाई अन्धो भन्छन् । म भेट्दिनँ तिमीभित्र विश्वास । डर लाग्छ कतै विश्वासको सङ्कटको सिकार त हुँदैन हाम्रो प्रेम ! जसरी आज विश्वासको सङ्कटमा कति भयानक घटना घटिरहेका छन् । कति जाति, समुदाय र देशले आफ्नो अस्तित्व गुमाइरहेका छन् । म भयभित छु कतै हाम्रो प्रेम पनि विश्वासको सङ्कटमा परेर आफ्नो अस्तित्व गुमाउने त होइन । जहाँ हाम्रा थुप्रै सपना, इरादाहरु सहिद हुनेछन् । मलाई सबैभन्दा बढी पीडा त्यहीबेला हुनेछ, जति बेला म आफ्ना सपनाको मलामी बन्नेछु । म चाहन्नँ यस्तो पल जीवनमा किनभने सपनाका मलामीहरु फर्केको मेरो जानकारीमा छैन । मलाई आफू नफर्कनुसँग कुनै भय छैन । मेरो प्रेमको इरादा अलपत्र पर्ने पीडा त्रास बनेर आउँछ प्रिय ।
तिमी प्राप्तिमा सफलता र आनन्द पाउँछ्यौ । म त्याग र अभावमा प्लावित हुन्छु । तिमी आदर्श प्रेमी जोडीबाट प्रभावित हुन्छ्यौ, म आदर्श प्रेमको स्थापना गर्न चाहन्छु । तिम्रा आदर्शले वियोगका कथाले दुनियाँलाई रुवाएका छन् । म चाहन्न दुनियाँ रोओस् । मेरो इरादाको आदर्शले दुनियाँलाई बचाउने छ युगौंयुगसम्म । म चाहन्छु हाम्रो प्रेम दुनियाँका लागि सत्मार्ग बनोस्, दुनियाँका लागि अनुकरणीय बनोस् । प्रेम विवाह होइन । प्रेम भौतिक देह एउटै हुनु पनि होइन । न त प्रेम कपोकल्पित र सस्तो लोकप्रियता नै हो । प्रेम त मन र विचारको समन्वय, वर्तमान र भविष्यको संयोजन हो । सिर्जना र रचनाको गर्भधारण हो प्रेम । प्रेमले सिर्जना जन्माओस्, रचना जन्माओस् । विशुद्ध सत्य जन्माओस् । जुन सत्यले खर्बौं अनुयायी बनाओस् । जहाँ विश्व साझा घर बनोस् । तिम्रो र मेरो प्रेम मात्र होइन प्रिय विश्वका प्रेम जोडीको सङ्कल्प यस्तै बनोस् । अब यस्तो संसारको तिमी कल्पना गर त कति सुन्दर हुन्छ होला । सायद तिम्रो प्रेमले यो असम्भव देख्छ होला । तिम्रो मनले मेरो पागलपन देख्छ होला । अहिले पागलहरु नै सत्य बोल्छन् प्रिय । प्रेमले हत्या र हिंसालाई रोक्न सक्छ । संसार हत्या हिंसाबाट मुक्त होओस् । मेरो प्रेमले दुनियाँलाई यही सिकाओस्, म चाहन्छु । मेरो आह्वान तिमीलाई, यस्तै प्रेमको रङ्गमञ्चका हामी प्रेमिल पात्र बनेर दुनियाँलाई अमर प्रेम पथमा डो¥याउन सकौँ ।  दुनियाँ हाम्रै प्रेमपथको अक्सिजन लिएर प्रेमका मुना हुर्काउँदै जाओस्  ।

आइतवार, कार्तिक २६, २०७४ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री