‘हिरोइन नै नभई सबैले ओई हिरोइन भन्थे’

गत साताबाट फिल्म नगरीमा नयाँ हिरोइन भित्रिएकी छन्– दीपिका प्रसाईं । हलमा प्रदर्शनरत फिल्म ‘ऐश्वर्य’मा गरेको अभिनय र सुन्दर ‘लुक्स’का कारण उनी अहिले सबैको चासोमा परेकी छन् । उनी यसअघि मोडलिङमा सक्रिय थिइन् । दीपिका भन्छिन्, ‘मलाई फिल्मका लिनका लागि यसका निर्देशकले लामो समय कुर्नुभयो ।’ उनै दीपिकासँग अनिल यादवले गरेको अन्तरंग कुराकानी :   

नयाँ हिरोइनलाई दर्शकले कस्तो रेस्पोन्स दिइरहेका छन्, सुनौं न ?
दर्शकको रेस्पोन्स बुझ्न हल–हलमा पुगियो । साचेकोभन्दा राम्रो रेस्पोन्स छ । मसँग अभिनय गर्ने कलाकार एकदमै पर्फेक्ट र पुरानो हुनुहुन्थ्यो । मेरो तुलना उहाँहरुसँग भयो भने त म छायाँमा हुन्छु भन्ने लाग्थ्यो तर त्यस्तो भएन । सबैभन्दा बढी त मेरो ‘एक्टिङ एबिलिटी’कै प्रशंसा पाउँदा दंग छु ।

हलमा दर्शकले सेल्फी र फोटो खिचाउँदा कस्तो महसुस हुँदोरहेछ ?
सेलिब्रिटी भएजस्तो महसुस हुने रै’छ । शनिबारबाट अलिअलि सेलिब्रिटी भएको फिल हुन थालेको छ । गोपीकृष्ण हलमा पुग्दा दर्शकले फोटो र सेल्फी खिच्नका लागि गरेको तँछाडमछाड देख्दा बेग्लै अनुभूति भयो । भिडमा आफू चेप्पिन लाग्दा पनि रिस नउठ्ने, सायद दर्शकले घेरेर होला !

तपाईंको हिरोइन बन्ने चाहना सानैदेखिको हो ?
होइन, यो हिँड्दै गर्दा बनेको नयाँ बाटो हो । प्लस टु पढ्दादेखि मैले मोडलिङ सुरु गरेको हो । एउटा फोटोका कारण म हिरोइन बनेकी हुँ । मैले मेरो एउटा फोटो फेसबुकमा हालेकी थिएँ, जसलाई हेरेर धेरै फिल्म मेकर्सले मलाई फिल्मको अफर गर्नुभएको थियो तर त्यतिबेला म परिपक्व थिइनँ । निर्णय लिने क्षमता ममा थिएन । नजान्दा–नजान्दै मिडियामा आउनु ठीक नहोला भनेर मैले त्यतिबेला कुनै प्रस्ताव स्वीकारिनँ । हिरोइन बन्ने मेरो इच्छा त हो तर त्योभन्दा पनि बढी म हिरोइन बनुँ भन्ने अरुको चाहना हो । मेरा टिचरहरु पनि मलाई ‘तिमीले फिल्ममा काम गर्नुपर्छ’ भन्नुहुन्थ्यो ।

एउटा फोटोले हिरोइन बनायो भन्नुभयो, कस्तो फोटो थियो त्यो ?
फोटोग्राफर गौतम धिमालले खिच्नुभएको फोटो हो । मलाई व्यक्तिगत रुपमा पनि त्यो फोटो मेरो अहिलेसम्मकै बेस्ट फोटो भन्ने लाग्छ । त्यो फोटो सार्वजनिक गर्ने बित्तिकै सुरुमा एक जना निर्मात्रीले अफर गर्नुभएको थियो । ‘ऐश्वर्य’ खेल्नुअघि नै मैले पाँच वटा जति फिल्म रिजेक्ट गरिसकेकी थिएँ तर खासमा मलाई सबैभन्दा सुरुमा अफर आएको फिल्म ‘ऐश्वर्य’ नै रहेछ । निर्देशक दिवाकर भट्टराईले फेसबुकमा म्यासेज पठाउनुभएको रहेछ । म्यासेज रिक्वेस्टमा गएर त्यति म्यासेज हेरिँदैनथ्यो । त्यसैले हेरेकी थिइनँ । पछि थाहा पाएँ । मैले खेल्दिनँ भनेर केही रिप्लाई गरिनँ । बीचमा अरु अफर आयो । मैले खेलिनँ तर दिवाकर सरले भने मलाई छाड्नुभएन, पछि लागिरहनुभयो । उहाँले ‘हामीलाई तपाईं नै चाहिन्छ बरु कति समय चाहिन्छ हामी कुर्न तयार छौं’ भन्नुभयो । मैले ब्याचलर नसकिञ्जेल फिल्म नखेल्ने भनेँ । ब्याचलर सकिन नौ महिना बाँकी थियो । उहाँहरुले कुर्नुभयो । त्यसपछि एकचोटी भेटेर कथा सुनिदिन आग्रह गर्नुभयो । मैले भेटेँ । भेटेर कथा सुन्नेबित्तिकै मैले केही नसोचिकन तत्काल ‘म यो मुभी गर्छु’ भनेर निर्णय लिएँ । त्यसको भोलिपल्ट सानो अडिसन भयो । अनि मैले फिल्म खेलेँ ।

फिल्म खेल्नुअघि मोडल हुनुहुन्थ्यो । फिल्ममा पनि मोडलकै रोल भएर एकैपल्टमा ‘ओके’ गर्नुभएको हो ?
त्यो पनि होला तर त्यो मात्र होइन । मलाई कथा नै मनप¥यो । मेरा लागि फिट हुन्छ भन्ने भयो । मान्छे सधैँ लाइफमा सुपरमोडल बन्न सक्दैन भन्ने कुरा फिल्ममा पाएँ । मेरो क्यारेक्टर एकदमै बलियो लाग्यो । त्यसैले स्क्रिप्ट नपढी सुनेकै भरमा ओके गरेँ ।

मोडलिङमा चाहिँ तपाईंको प्रवेश कसरी भएको हो ?
फोटोग्राफर गौतम धिमालकै कारण हो । म उहाँलाई मेरो गडफादर मान्छु । म आज जे छु जसरी छु उहाँकै कारण छु । मेरो भिनाजु नवराज आचार्य जो कान्तिपुर टिभी ‘घरबेटी बा’मा जेम्सको रोल गर्नुहुन्थ्यो, उहाँले नै गौतम सरसँग सम्पर्क गर्न ‘रिकमेन्ड’ गर्नुभएको हो । भिनाजुले ‘अब तिमीले मोडलिङ गर्दा हुन्छ’ भनेर उहाँसँग भेट्न भन्नुभएको हो । दिदीले पनि चिन्नुहुन्थ्यो, त्यसैले उहाँसँग कनेक्ट भएँ । उहाँसँग पोर्टफोलियो सुट गरेँ । त्यही सुटका बेला खिचिएका फोटोमध्ये बाहिरिएको एउटा फोटोले चर्चा पाएको हो, अफर आउन थालेको हो । म मोडलिङमा पनि चिनिएको फेस होइन । ¥याम्प मोडल पनि होइन, म्युजिक भिडियो पनि खेलेको छैन । मात्र केही विज्ञापन र पत्रपत्रिकामा फोटोसुट गर्ने गर्थें तर फिल्ममा त मलाई र्याम्प मोडलका रुपमा देखाइएको छ । म मोडल थिएँ भन्नेबित्तिकै धेरैले ¥याम्पमा हिँड्दाको सिन राम्रोसँग हेर्नुहुन्थ्यो भन्ने मलाई थाहा थियो । त्यसैले गाह्रो भएको थियो तर फिल्मका कलाकार प्रशान्त ताम्राकारले सिकाउनुभएका कारण सजिलो भयो ।

तपाईंको सानैदेखिको सपना ?
म जीवनमा लामो केही सोच्दिनँ । मान्छेको जीवनमा सधैँ दुइटा अप्सन हुनुपर्छ भन्ने लाग्छ । फिल्म नहुँदा पनि अर्को हुनुपर्छ । अडियन्सले रुचाएसम्म फिल्म गर्ने हो, नरुचाएपछि ? त्यसैले मेरो पनि सेकेन्ड अप्सन छ । मेरो सानैदेखिको सपना युएनमा काम गर्ने थियो । फिल्ममा काम गर्ने रुचि त उमेर बढ्दै गएपछि आएको हो ।  मलाई सानैदेखि युएनको गाडीमा अरुलाई देख्दा म आफू बसेको कल्पना गर्छु । कुनैदिन यो गाडीमा म हुन्छु भनेर कल्पना गर्थें र अहिले पनि गर्छु ।

ऊ गीत बजिरा’को छ (मुस्कुराउँदै) । (जवाफ दिइरहेका बेला दिपिकासँग कुराकानी भएको काठमाडौं मध्य बानेश्वरस्थित आरडिएक्स रेस्टुरेन्टको पृष्ठभूमिमा उनले अभिनय गरेको हिट गीत ‘तिमी रोएको पल’ बज्न थाल्यो ।)

आफूले अभिनय गरेको गीत यसरी आफ्नै छेउमा बज्दा खुसी लाग्छ है ?
एकदमै खुसी लाग्छ नि ! अलिअलि लाज पनि लाग्छ । बाटोमा हिँडिराख्दा आफू अगाडिको मान्छेले गाइरा’को अनुभव पनि मैले गरेकी छु । त्यतिबेला कस्तो लाज लाग्ने क्या ! उसले त मलाई चिन्दैन, त्यही पनि चिन्छ जस्तो लाग्ने । जे होस्, खुसी लाग्दोरहेछ, लाजवाला खुसी भन्नुपर्ला !

तपाईंको अध्ययन कहाँ पुग्यो ?
मास्टर्स फस्ट इयर चलिरहेका छ ।  ब्याचलर ‘सोसियल वर्क’ विषयमा गरेकी हुँ, मास्टर्समा पब्लिक एडमिनेस्ट्रेसन विषय लिएकी छु ।

समाजसेवामा रुचि छ हो ?
छ, होइन गरिँदैछ । अहिले पनि विभिन्न संस्थामार्फत वृद्धाश्रम, असहाय बालबालिकाका लागि काम गरिरहेकी हुन्छु ।

यो क्षेत्रमा लाग्न परिवारको समर्थन कत्तिको छ नि ?
परिवारले सहयोग नगरी त मैले केही आँट्नै सक्दिनँ । अहिले ड्याडी ममी एकदमै खुसी हुनुहुन्छ । हलमा दर्शकको मारामार छ भन्दा सबै दंग छन् । फेरि म अचानक हिरोइन बनेकी पनि होइन । मेरो ममीलाई त उहाँका साथीहरुले पहिल्यैदेखि ‘तेरो छोरी त हिरोइन बनाउने खालको छ, हिराइन बनाउनुपर्छ’ भन्थे । अनि उहाँ आएर मलाई सुनाउनुहुन्थ्यो । कलेजमा पढ्न जाँदा हिरोइन नै नभई सबैले ‘ओई हिरोइन’ भन्थे ।  प्रिन्सिपल, भाइस प्रिन्सिपल, टिचर सबैले भन्थे । स्कुल लेभलदेखि नै मलाई सबैले हिरोइन भनेर बोलाउँथे । आज टिचरहरुले ‘आइ एम प्राउड अफ यु’ भन्दा खुसी हुने ठाउँ छैन । ड्याडी ममीलाई पनि अहिले धेरैले भेटेरै बधाई दिइरहेका छन् रे !

फिल्म रिलिजपछि अफर पनि आइरहेका होलान् ?
अफर त गीत रिलिज भएपछि नै आइरा’को हो । अहिले ’नि फोन आ’को आई छ । चार पाँच जनाले स्क्रिप्ट नै छोडेर जानु भा’ छ । राम्रो ब्यानर, राम्रो निर्माताबाटै अफर छ तर म अब दोस्रो फिल्म खेल्दा पुरै बलियो भएर आउँछु । मैले सुधार्नुपर्ने पक्षहरु धेरै छन् । त्यो सुधारेर मात्र आउँछु । म अब आउँदा दर्शकले ममा फूल एक्टर प्याकेज पाऊन् । सकेसम्म खोट नभेट्टाऊन् । बरु समय लिन्छु तर दोस्रो फिल्म पूरा तयारी साथ आउँछु । यसरी आउँछु कि अहिले मलाई मन पराउनेहरु दोस्रो फिल्म हेर्दा त ‘फिदा’ नै होऊन् ।

अब त फ्यानहरु पनि कमाउन थालियो होला ?
कमाउने क्रम सुरु हुँदैछ । फेसबुक र कमेन्टमार्फत प्रेम दर्शाउनेहरु धेरै हुनुहुन्छ । कतिले फेसबुकमा मेरो फोटो राखेर फिल्मको डायलग ‘मलाई ऐश्वर्य चाहिन्छ’ भन्दै लेखेको देख्छु । उहाँहरुलाई फिल्ममा मेरो नाम ‘ऐश्वर्य’ नै छ भन्ने लागेको छ ।

मरिहत्ते गर्ने फ्यान पनि छन् कि ?
मरिहत्ते गर्ने त हिरोइन हुनुभन्दा अघिदेखि नै थिए ।

कसैका लागि त आफूले पनि मरिहत्ते गरियो होला ?
म बैंकर्स अनिल केसरी शाहदेखि निकै प्रेरित छु, उहाँको पर्सान्यालिटी एकदमै मनपर्छ । उहाँको स्पिच सुन्नका लागि मैले प्लस टु को फाइनल बोर्ड एक्जाम छिटो–छिटो सकेर गएको कहिल्यै बिर्सन्नँ । त्यतिबेला नेपाल प्रज्ञा प्रतिष्ठानमा उहाँको कार्यक्रम थियो । उहाँको भाषणमा दम हुन्छ । सुनेपछि कन्भिन्स्ड हुने इनर्जी आउँछ । म पनि गर्न सक्छु भन्ने फिल गराउँछ ।

मैले कसैसँग अफेयर छ कि भनेर सोध्न खोजेको… ?
मैले बुझिसकेकी थिएँ । त्यही भएर कुरा घुमाउन खोजेको (हाँस्दै) । खासमा मैले अहिलेसम्म चाहेजस्तो केटा भेटेको छैन ।

कस्तो केटा चाहिने हो, न्यूनतम सर्तहरु के–के हुन् ?
म आफू पनि सिम्पल छु त्यसैले मलाई संघर्ष बुझेको केटा होस् भन्ने लाग्छ । उसलाई जिन्दगी के हो थाहा होस् । धेरै सो अफ नगरोस् । बौद्धिक होस् । निर्णय गर्ने क्षमता राम्रो होस् । परिस्थितिसँग सामना गर्न सक्ने होस् । मुख्य कुरो त सोच मिलोस्, मन त जोसँग पनि मिलिहाल्छ ।

तपाईंलाई कस्तो फिल्म मनपर्छ ?
मलाई स्लो रोमान्टिक फिल्म मनपर्छ । इमोसनल सिन धेरै भएको फिल्म मनपर्छ । रुन पाइने फिल्म हेर्न मनपर्छ । किनभने म साँच्चिकै पनि रुन्छु, धुरुधुरु रुन्छु । अभिनय गर्दा पनि ग्लिसरिन चाहिँदैन । ‘ऐश्वर्य’मा दर्शकले मेरो इमोसनल सिन मन पराएको कारण पनि यही हो ।  

‘ऐश्वर्य’ खेल्नुअघि तपाईंले आफ्नै को–एक्टर रमेश उप्रेतीलाई नचिनेको प्रतिक्रिया दिनुभएको थियो नि, खास कुरा के हो ?
मैले एउटा अन्तर्वार्तामा त्यसरी भनेकी थिइनँ तर हेडलाइन त्यसरी आइदियो । खासमा मैले उहाँको फिल्म हेरेकी थिएँ, उहाँले नाचेको गीत ‘कोइली करायो’मा स्टेज पर्फमेन्स नै गरेकी थिएँ तर स्क्रिनमा देखेको हिरो उहाँ नै भन्ने दिमागमा थिएन मात्र भन्न खोजेको हो ।

मुस्ताङमा पुगेर ‘तिमी रोएको पल’ गीतको सुटिङ गर्न कत्ति सहज थियो तपाईंका लागि ?
अहिले सम्झदा पनि डर लागेर आउँछ । एक त म चिसो सहदैं–सहन्न । मलाई चिसो मन पर्दैन । काठमाडौँको चिसो पनि सहन गाह्रो हुन्छ । मुस्ताङ पुग्दा त पूरै फ्रिज भइयो नि ! त्यसमाथि यो फिल्मको सुटिङ त चिसोको सिनबाट सुरु भएर चिसोमै सकियो । मुस्ताङमा गीत सुट हुँदा एक त चिसो त्यसमाथि १२ बजेपछि हावाले खिच्नै नदिने ! एकदमै सताएको थियो । मेरो त स्किन नै ड्यामेज भयो । आजसम्म पनि स्किनको खास कलर देखिएको छैन, पूरै डढेको छ । गीत गर्दा जति दुःख भयो, रिलिज भएर हिट भएपछि त्यति नै सुख महसुस भयो । मिहिनेतको फल मिठो हुन्छ भन्थे, हो रै’छ । शुक्रबार अनिल यादव

आइतवार, कार्तिक २६, २०७४ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री