रामशरण महत यसरि बने लोकप्रिय नेता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ कार्तिक २०७४, शुक्रबार १८:१५

पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महत मुलुकको राष्ट्रिय राजनीतिमा प्रभावशाली छन्, अर्थविज्ञका हैसियतले पनि । अर्थशास्त्रमा विद्यावारिधि (पिएचडी) गरेका डा. महतले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदै पटक–पटक अर्थ मन्त्रालयको नेतृत्व गर्ने जिम्मेवारी पाएका छन् । तर, उनको जीवनकथा स्कुलको हेडमास्टर हुँदादेखि नै उथलपुथलपूर्ण छ । राष्ट्रिय खबर डटकमका लागि  कृष्ण कट्टेलले डा. महतलाई भेटेर जीवनका पाटा कोट्याएका छन् :

बिहानै महाराजगन्जस्थित महत निवास पुग्दा सरसर्ति जान्न सकिन्छ, उनको राजनीतिक हाल, बुझ्न सकिन्छ उनको अस्तित्व । समकालीन नेताहरूको भीडमा डा. महतको सक्रियता उनको घरमा पुग्दा स्पष्ट देख्न पाइन्छ । हामी पुग्दा पनि उनी कार्यकर्ताको भीडमै घेरिएका थिए । त्यसैले त भनिँदो रहेछ, कार्यकर्ताको खुब संरक्षण गर्ने नेता हुन्, डा. रामशरण महत ।

कार्यकर्ताको संरक्षण गर्न सक्ने नेता नै राजनीतिमा सफल हुन सक्छ । बाठा महतले यो कुरा राम्रैसँग बुझेका छन् । त्यसैले त उनी जहिल्यै कार्यकर्ताको भीडमा सुरक्षित महसुस गर्छन्, अनि पार्टीमा जहिल्यै बलियो ठाउँ लिन सक्षम हुन्छन् ।

हाम्रो उपस्थितिपछि कार्यकर्ताले महतलाई खाली गरिदिए । आमने–सामने बसेर मैले महतसँग गफ सुरु गरेँ । हालको राजनीतिक स्थान लिन उनले राजनीतिमा चालेको पहिलो पाइलाबारे जान्ने ध्येय जाग्यो । मेरो जिज्ञासाको जवाफभन्दा एक कदमपछाडि गएर उनले नुवाकोटबाट पढ्नका लागि काठमाडौं आउँदाको प्रसंग सुनाए । ‘नुवाकोटजस्तो ग्रामीण क्षेत्रमा मेरो परिवार त्यतिखेर हुनेखाने र सम्पन्नशालीमा नै गनिन्थ्यो । तर, त्यहाँ पढ्नका लागि राम्रो सुविधा थिएन । तीन छोरीपछि जन्मिएकाले पनि म बा–आमाका लागि ‘धनमाथिको रतिगेडी’ थिएँ । त्यसैले, परिवारले ६ वर्षको उमेरमै काठमाडौं पठायो,’ महतले अगाडि भने, ‘चोभारमा फुपूको घरमा शिक्षक राखेर दुई वर्षजति पढेपछि पाटनस्थित त्रिपद्म विद्याश्रममा एकैचोटि ५ कक्षामा भर्ना गरियो । डेढ घण्टा हिँडेर पढ्न जान्थेँ ।’

महत केटाकेटीको कथा बुन्न खोज्दै थिए । सायद, उनलाई त्यो संघर्ष सम्झिँदा अहिले आनन्द आउँदो हो । तर, मैले थोरै अगाडि फड्काउन खोजेँ । २०२० सालमा एसएलसी पास गरेपछि राजनीति सुरु गर्नुभएको हो ? प्रश्नको जवाफ दिँदै भने, ‘कक्षा ६ देखि पढाइ सुरु गरेको त्रिपुरेश्वरस्थित विश्व निकेतन हाइस्कुलबाट १३ वर्षको उमेरमा एसएलसी पास गरेँ अनि त्रिचन्द्र क्याम्पसमा भर्ना भएँ ।’

जुँगाको रेखीले भर्खर आकार लिँदै थियो । १४ वर्षका महत क्याम्पसका साना विद्यार्थी थिए । ०२१ सालको कुरा हो, चैतमा पञ्चायतविरुद्ध विद्यार्थी आन्दोलन भयो । घटना स्मरण गर्दै महतले भने, ‘देशव्यापी सम्मेलनको तयारी हुँदै गर्दा केही विद्यार्थी अगुवा पक्राउ परे । आन्दोलन झनै चर्कियो । म पनि आन्दोलनमा सहभागी भएँ । एक दिन त्रिचन्द्रबाट जुलुससहित त्रिपुरेश्वरस्थित आमसभामा पुगेँ ।’

केटाकेटी छँदै लहैलहैले आन्दोलनमा लागेका महत घटना सुनाउन निकै उत्सक देखिन्थे । ‘त्रिपुरेश्वरको आमसभामा पुलिसले लाठी चार्ज गर्यो, मेरो टाउकोमा लाग्यो,’ महतले सुनाए, ‘मसहित चारजना घाइतेलाई वीर अस्पतालमा सामान्य उपचार गरेपछि भद्रगोल जेलमा
लगेर कोचियो ।’

१४ वर्षको उमेरमा टाउको फुट्दा महत कुनै संगठन र पार्टीका कार्यकर्ता थिएनन् । बरु उनको नाममा ठूलो राजनीति भयो, त्यतिवेला । प्रहरी हस्तक्षेपछि सिथिल आन्दोलन चर्काउनु थियो । महतको नाम त्यो आन्दोलनमा प्रयोग भयो । ‘म जेलभित्र थिएँ । बाहिर त मरिसकेको हल्ला पिटेछन्, आन्दोलन चर्काउन,’ महतले भने, ‘छोरो मरेको खबर कानमा ठोक्किएपछि बुबा नुकावाकोटबाट हान्निएर काठमाडौं आउनुभएछ । भद्रगोल जेलमा पनि आउनुभएछ, तर मसँग भेट्न दिएइए । बुबा आएको कुरा चौकिदारले मलाई जानकारी दियो र म जिउँदै रहेको कुरा पनि बुबालाई बतायो । तर, बुबाले नपत्याएपछि मलाई बुबाको नाममा चिट्ठी लेख्न लगाइयो । मेरो चिट्ठी पाएपछि बुबा ढुक्क भएर फर्किनुभएछ ।’

जेलले नै महतलाई राजनीति सिकायो । भद्रगोलभित्रै उनले निर्मल लामा, मनमोहन अधिकारी, रमेशनाथ पाण्डेलगायतलाई भेट्ने मौका पाए । उनको दिमागमा राजनीतिक बिउ त्यहीँ रोपियो । ‘करिब एक महिना जेल बसेर बाहिरिँदा म परिपक्व राजनीतिक कार्यकर्ता बनिसकेको थिएँ,’ महतले सुनाए ।

क्याम्पस पढ्दै गर्दा उनलाई विश्वविद्यालयमा युनियनको चुनाव लड्ने इच्छा जाग्यो, राजनीति जतनाले ताते उनी । तर, बिए पासलगत्तै एक माध्यमिक विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी सम्हालेर लमजुङतिर लागेपछि उनको राजनीतिक जोस थाँती बस्यो । दुई वर्षपछि जागिर छाडेर फेरि विश्वविद्यालय फर्किए । पढाइ र विद्यार्थी आन्दोलनमा सक्रिय भए । उनी बिस्तारै कांग्रेसको राजनीतितिर नजिकिए । एमएमा उत्कृष्ट अंक ल्याएपछि महत उच्चशिक्षाका लागि अमेरिका तथा बेलायतमा छात्रवृत्तिमा छानिए । तर, पञ्चायत सरकारले जान दिएन । अनि भारतको पुना गएर पिएचडी गरे । जेल पर्नदेखि डर लाग्न छाडिसकेका महत पिएचडी सक्दासम्म धेरै ‘म्याचुअर्ड’ भइसकेका थिए । उनी नेपाल फर्किए । यतिवेलासम्म उनी राजनीतिमा सक्रिय भइसकेका थिए । शेरबहादुर देउवा नेविसंघको पहिलो सभापति हुँदा महतले महामन्त्री पद सम्हाल्ने मौका पाए ।

०३६ सालको जनमतसंग्रहमा सक्रिय उनी बिपीको निकट सम्पर्कमा थिए । लगत्तै संयुक्त राष्ट्रसंघ युएनको प्रतिस्पर्धामा छानिएपछि उनी पार्टी नेता बिपीकै सल्लाहमा जागिरमा हाजिर गरे । ‘६ वर्ष युएनमा रहेर काम सकेपछि अमेरिका हुँदै युएनको मुख्यालय न्युयोर्कमा समेत केही समय काम गरेँ, त्यसपछि अफगानिस्तान हेर्नेगरी पाकिस्तान गएर दुई वर्ष बसेँ,’ उनले सुनाए, ‘यो बीचमा वेला–वेला नेपाल आएर राजनीतिक परिवर्तनमा पनि सहयोग गरेँ ।’

०४७ सालमा कांग्रेस नेता कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएपछि पार्टीले नेपाल बोलाएको महतले बताए । ‘अग्रज नेताहरूले स्वदेशमै सक्रिय राजनीति गर्नुपर्छ भनेपछि सुविधाको जागिर छाडेर नेपाल आएँ,’ राष्ट्रिय राजनीतिको पहिलो पाइलाबारे उनले सुनाए । ०४८ सालको निर्वाचनमा नुवाकोट १ बाट टिकट पाए, तर डा. प्रकाशचन्द्र लोहनीसँग हारे ।

चुनाव हारे पनि उनी पछि योजना आयोगको उपाध्यक्षको जिम्मेवारीमा पुगे । राजनीतिलाई मुख्य आधार बनाएर अघि बढे । अहिलेसम्म चारवटा राष्ट्रिय निर्वाचनमा विजयी महतले सरकार पुनर्गठनसहित आठपटक अर्थमन्त्री र एकपटक परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । अझ महत्वपूर्ण कुरा त ०५० सालपछि कांग्रेस नेतृत्वको सरकारमा अवसर पाउँदा एकपटक परराष्ट्रबाहेक सधैँ अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । जीवनको आरोह–अवरोह सम्झिँदै महत आफ्नै मूल्यांकन गर्छन्, ‘म आफूलाई भाग्यशाली नै ठान्छु ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०