नेपालकै प्रथम महिला आरजु देउवा भन्छिन्,‘म हाउस वाइफभन्दा हाउस म्यानेजर बढी हुँ

देशको चर्चित घर हो, बालुवाटार । त्यहाँ प्रधानमन्त्री बस्छन् र बस्छन्, उनको परिवार । त्यहाँ कि त भिआइपी पुग्न सक्छन् कि त पार्टीका ठूला नेता–कार्यकर्ता । तीन वटा ग्यालरी र सुरक्षा घेरा पार गरिसकेपछि देशकै प्रधानमन्त्रीको निवासमा छिर्न सकिन्छ ।
असोज अन्तिम साता प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन गराउने चटारो, एमाले–माओवादीको चुनावी समीकरण–एकीकरण हल्लापछि प्रधानमन्त्री निवासमा नेताहरुको ठूलो भीड थियो । लामा–लामा बैठक चलिरहेको कुरालाई इंगित गर्दै देशकै प्रथम महिला आरजु देउवाले ‘नागरिक परिवार’सँग खुला रुपमा प्रस्तुत हुँदै भनिहालिन्, ‘घर चलाउनजस्तो छैन मुलुकको जिम्मेवारी चलाउन । त्यसैले मुलुक चलाउनु कता हो कता गाह्रो !’
आरजु आफैँ कांग्रेस सभासद हुन् । उनी विभिन्न गैर सरकारी संस्थाको अभिभावक छिन् । ‘बरु घर चलाउन सजिलो, मुलुकको जिम्मेवारी चलाउन गाह्रो,’ उनले खुल्दै भनिन्, ‘घरमा एउटै परिवार हुन्छ, भावनात्मक सम्बन्ध हुन्छ, रगतको नाता हुन्छ । मुलुकमा धेरै खालका जटिलता छन्, आफ्नै खालका नेटवर्क हुन्छन् । राज्य चलाउनु वृहत् चुनौतीलाई अँगाल्नुपर्छ ।’

सर्वसाधारणको घर–आँगन त हामीले देखेका छौं तर प्रधानमन्त्री निवासभित्र के हुन्छ ? त्यहाँ बसेर परिवार चुलाउनुका सजिला र अप्ठेरो के छन् ? नेपालकै प्रथम महिला आरजु देउवा भन्छिन्,‘म हाउस वाइफभन्दा हाउस म्यानेजर बढी हुँ ।’

नेपाल–भारतको कर्पोरेट व्यवसायमा महिला सहभागितामाथि पिएचडी गरेकी आरजु आफूलाई असल गृहिणी मान्दिनन्, ‘म गृहिणी होइन, ममा हाउस म्यानेजरको खुबी छ ।’ उनले थपिन्, ‘गृहिणी भनेको परिवारका सदस्यहरूलाई बिहान, बेलुकै खाना, खाजा, चिया पकाउनु, ख्वाउनु, घर सफासुग्घर राख्नु, कसलाई के पुग्यो, पुगेन विचार गर्नु हो । घर म्यानेजरले घरका लागि चाहिने आवश्यक सामग्रीको बन्दोबस्त मिलाउनु हो, किन मेल गर्नु हो, आवश्यक सबै कुराको व्यवस्थापन गर्नु हो ।’
पढाइमा अब्बल
काठमाडौँको सेन्टमेरिज स्कुलबाट विद्यालीय शिक्षा हासिल गरेकी आरजु सानै उमेरदेखि पढ्न तेज थिइन् । त्यसैले घरायसी काममा पहिलेदेखि नै उति महत्व नदिएको बताउँछिन् । ‘मेरो हुर्काइ गृहिणीका रुपमा भएन,’ उनले भनिन्, ‘पढेर डाक्टरजस्तै केही हौँ भन्ने लाग्थ्यो ।’
राणा परिवारमा उनले देखेकी थिइन्, उनका आफन्त र नजिकका नातेदारमध्ये अधिकांश गृहिणी छन्, उनीहरु साना कुरामा बाँधिएका छन्, त्यसैमा खुसी भएका छन् । उनलाई भने घरको सीमित घेरामा बाँधिन मन थिएन । उनी घरबाहिरै केही गर्न चाहन्थिन् । ‘फेरि मेरो फ्यामिलीमा पनि गर्न चाहेको काममा कहिल्यै रोकतोक भएन,’ उनले सोचेजस्तो उडान भर्ने काम परिवारकै हौसलाले सम्भव तुल्याएको स्मरण गरिन् ।
राणा परिवारका चेलीहरू घर गृहस्थीमै बिताउने चलन थियो त्यसबेला । करिअर बनाउने भन्ने थिएन । विवाह गर्यो, घरजम गर्यो बस्यो । हजुरआमा मीनादेवी राणाको इच्छा भने नातिनीलाई पढाएर ‘ठूलो मान्छे’ बनाउने थियो । ‘ठूलो मान्छे बनाउने चाहना थियो, त्यो ठूलो मान्छे भनेको केहो त्यसको कुनै परिभाषा थिएन,’ आरजु सम्झन्छिन्, ‘फूपुहरू र आमा पनि पढेका कारण घरमा पढ्ने माहोल थियो ।’
पछि आमाले डाक्टरको नाइट ड्युटी र अप्ठेराहरु बताएपछि उनले डाक्टर हुने सपना त्यागिन् । पढ्न ब्रेन पनि चाहिने र मिहिनेत पनि गर्नुपर्ने धारणा उनको छ । माइतीमा छोरा र छोरी भन्ने भेद अनुभव नगरेको बताउँदै उनले भनिन्, ‘पिएचडी गरेर म काम गर्न थालेपछि मात्रै पो मैले थाहा पाएँ– नेपालमा छोरा र छोरीमा कत्रो भेदरहेछ !’
भारतको पञ्जाबस्थित चण्डीगढबाट पिएचडी सकेपछि नेपाल आउँदा उनमा आत्मविश्वासको चुली थियो । उनले नेपाल फर्किएलगत्तै महिला तथा बालिकाका पक्षमा काम सुरु गरिहालिन् । त्यसबाट आएको सकारात्मक चर्चा कस्तो थियो भने उनका लागि दुलाहाको खोजी हुन थालिसकेको थियो । उनलाई राणा वा कुनै ठकुरीसँग विवाह गर्ने इच्छा थिएन । त्यसमा परिवारको पनि कुनै खास छनोट थिएन ।

गृहमन्त्री देउवाको प्रस्ताव
एउटी सफल अधिकारकर्मीका रुपमा पहिचान बनाइसकेकी आरजु र तत्कालीन गृहमन्त्री रहेका शेरबहादुर देउवाबीच चिनजान गराउने काम तत्कालीन अमेरिकी राजदूत जुलिया चाङ ब्लकले गरेकी थिइन् । ‘मलाई राजनीति गर्ने मान्छे मन पर्दैैनथ्यो,’ उनले २४ वर्षअघिको घटना सम्झँदै भनिन्, ‘त्यसैले म उहाँसँग बिहे गर्न तयार थिइनँ । त्यसैले पहिलो पटक कुरा उठेको दुई वर्षसम्म कतैबाट पनि कुरा अघि बढेन । मलाई एक किसिमको ढुक्क भयो ।’ तर दोहोर्याएर देउवासँगै विवाहको प्रसंग उप्किएपछि भने उनले सर्त नै राखेकी थिइन्, ‘म गृहिणी भएर बस्दिनँ र मबाट त्यो काम हुन सक्तैन । सबैथोकको म्यानेज चाहिँ गर्न सक्छु ।’
शेरबहादुरले तत्काल आरजुको शर्त स्वीकार गरे । यसरी आरजु र शेरबहादुरको घर बस्यो ।
घर व्यवस्थापकका रुपमा आरजु आफैँ किनमेल गर्न जान्छिन् । तरकारी, फलफूल र खाद्यान्न कहाँ सस्तो पाइन्छ, खोजखबर गर्छिन् । ‘आफैँ किनमेलमा जाँदा र अरूहरूलाई किनमेल पठाउँदा फरक हुन्छ,’ उनी व्यवस्थापनको कुरा सुनाउँछिन्, ‘अरुले किनेर ल्याउँदा जस्तो पायो त्यस्तै आउन सक्छ । आफूले किन्दा राम्रो, स्वस्थकर छानिन्छ । तरकारी पनि कुन राम्रो छ, आफूलाई के मनपर्छ त्यही किन्ने हो । फेरि हामी महिलाहरू अलिक बढी मितव्ययी पनि हुन्छौँ । हामीलाई पैसाको माया लाग्छ ।’
किनमेल गर्न जाँदा सर्वसाधारणसँग भेटघाट हुन्छ, कुराकानी हुन्छ, सम्पर्क हुन्छ । त्यो पनि उनलाई रमाइलो लाग्छ । विवाह भएको दोस्रो वर्षमै शेरबहादुर प्रधानमन्त्री बने र पनि उनी सामान्य जीवनमा रमाउन चाहेकी थिइन् । उनी भन्छिन्, ‘म महारानी होइनँ नि ! प्रधानमन्त्री पत्नी हो, त्यो पद त आउँछ, जान्छ । म रियालिस्टिक हुन चाहन्छु । म सामान्य जीवन बिताउँन चाहन्छु । त्यो जीवन नै सबभन्दा राम्रो हो ।’
अचेल खुलेका बिग मार्ट, भाटभटेनी लगायतका सपिङ मल र मार्टका कारण कामकाजी तथा व्यवसायिक महिलाहरुलाई किनमेल गर्न सजिलो भएको आरजुको अनुभव छ । ‘म त जिल्लामा जाँदा पनि हत्तपत्त हाटबजारमा छिर्छु,’ उनले किनमेलको मोहबारे बताउँदै थपिन्, ‘यस किसिमको बानीले बजारमा कस्ता सामान छन्, काठमाडौंभन्दा के–केमा फरक छ, त्यो थाहा हुन्छ ।’
जुद्ध सम्सेरको परिवारका जन्मिएकी आरजुका बारेमा परिवारलाई बढी नै चिन्ता थियो । कस्तो घरमा पर्ने हो, कसरी घरजम गर्ने हो भन्ने अभिभावकका स्वाभाविक चिन्ता थिए । त्यसैले उनले केही खाना पकाउने तालिम भने लिएकी थिइन् । तर अहिले उनीसँग २० वर्षयता एक जना कुक छन् । जो देशी–विदेशी खाना पकाउन सिपालु छन् । ‘दिनदिनै के पकाउने, म र कुकबीच सल्लाह हुन्छ,’ आरजु भन्छिन् । प्रधानमन्त्री देउवालाई साग बढी मन पर्छ । बिहानको खान्कीमा अलिकति मासु र भुजा (भात), बेलुकी तरकारी भुजा प्रधानमन्त्रीको खान्की हो ।
आफूलाई भने दुवै छाक मासु मन पर्ने भएकाले मोटाएको ठट्टा गर्छिन् आरजु ।
चाहेजस्तो केटा पाउन गाह्रो
पिचडी गरेर फर्किएपछि उनी आइयुसिएनमा काम गर्थिन् । आमा प्रतिभा राणा राजनीतिमा लागेकी हुनाले आमा र अमेरिकी राजदूत जुलियाको भेट भइरहन्थ्यो । २९ वर्ष पुगिसकेकी आरजुको विवाह कोसँग गराउने भन्ने चिन्ता स्वभाविक रुपमा बाक्लो थियो । ‘बिहे त गर्ने तर कोसँग गर्ने ?’ त्यो बेला उभिएको चिन्तासँगै उनले आफ्नो दुलाहा रोचक हुनुपर्ने मानक बनाइन् । ‘केटा जे गरे पनि इन्टे«स्टिङ होस् भन्ने लाग्थ्यो,’ उनले भनिन्, ‘‘म आफूभन्दा कम पढेको केटा विवाह नगर्नेमा दृढ थिएँ । मेरो जोडा पाउन अभिभावकलाई गाह्रै थियो ।’
‘कस्तो हो त इन्ट्रेस्टिङ केटा ?’ एक पटक त्यस्तै प्रश्न सोधिन्, जुलियाले र आफूले केटा खोज्ने बताइन् । जवाफमा आरजुले भनिन्, ‘मैले पनि ५ वर्ष भयो खोजेको, भेटेको छैन ।’
जुलियाले आमा प्रतिभालाई भनिछन्, ‘ठकुरी केटा छ, ठकुरी । के भन्नुहुन्छ ?’
पछि जुलियाले एउटा पार्टीमा दुवैलाई भेला पारिन् । मिनी स्कर्ट, टि सर्ट, हिल जुत्ता लगाएर आरजु पार्टीमा गएकी थिइन् । ‘त्यसबेला मेरो हेयर स्टाइल पनि बेग्लै थियो,’ उनले मुसुमुसु हाँस्तै भनिन्, ‘अहिले बुढेसकालमा त नक्कल पार्न मन लाग्छ, त्यसबेला झनै कस्तो थियो होला ?’
टेलिभिजनमा मात्र देखेको मोटो चस्मा, टोपी लगाएको, मोटा–मोटा काला जुँगा हेर्दै अनाकर्षक लाग्थ्यो उनलाई ।  प्रत्यक्ष भेटमा भने उनलाई ठीकै पाइन् । त्यही बेला जुलियाले तिमीहरू दुई जनालाई परिचय गराउँछु भन्नासाथ आरजुले कुरा बुझिहालिन् । पार्टीबाट घरमा आएपछि उनले परिवारलाई देउवासँग बिहे नगर्ने भनी घोषणा नै गरिन् । तर बेला–बेलामा देउवाका तर्फबाट प्रस्ताव आइरहन्थ्यो । जुलियाले त अझ अचाक्ली रुपमा दिनदिनै  आइयुसिएन अफिसमा फोन गरेर हैरान पार्थिन् ।
‘म ठकुरीसँग विवाह गर्दिनँ भन्ने पक्षमा थिएँ,’ उनले देउवालाई नरुचाउने कारण खुलाउँदै भनिन्, ‘उनीहरू अलिक कन्जरभेटिभ र परिवारमा कडा हुन्छन् भन्ने मेरो अनुभव थियो । मैले आफ्ना नजिकका नातेदार पनि त्यस्तै देखेकाले ठकुरीसँग बिहे नगर्ने मनस्थिति बनाएकी थिएँ ।’
तर भनेजस्तो कहाँ हुँदोरहेछ ! एक दिन उनको घरमा नजिकका नातेदार (भान्जा) अशोकबम मल्ल आएका थिए । कांग्रेस नेतासमेत रहेका अशोकलाई आमा प्रतिभाले सोधिन्, ‘गृहमन्त्री देउवाले मेरी छोरीलाई विवाह गर्छु भनेर प्रस्ताव राखेका छन्, साँच्चिकै गर्न खोजेको हो कि केहो ?’
अशोक तुरुन्तै खुसी हुँदै भने, ‘म बुझेर आउँछु ।’ साँच्चिकै हो रहेछ भन्ने खबर अशोकले ल्याए ।
आमा प्रतिभाले छोरी आरजु अफिसबाट फर्किएलगत्तै भनिन्, ‘देउवा भोलि विदेश जाँदै हुनुहुन्छ रे, एकचोटि भेटेर तिमीहरु दुई बीचको कुरा फाइनल गर ।’ उनले पनि यी दुई वर्षमा देउवालाई राम्रै ख्याल गर्न थालेकी थिइन् । त्यसैले उनले देउवालाई ‘हुन्छ’ भन्ने स्वीकृति दिइन् । ‘म क्यानडा जाँदै थिएँ, उहाँ जापान जाने कार्यक्रम थियो,’ उनले ती दिन सम्झँदै भनिन्, ‘आमाले तिमीहरू दुवै परिपक्व छौ ।पारिवारिक दबाबमा हुन्छ भनेर नभन, यसबारे तिमिले एक्लै सोचेर निर्णय गर भन्नुभयो । मलाई पनि मान्छे इन्ट्रेस्टिङ नै लाग्यो । पछि क्यानडाबाटै हुन्छ भनिदिएँ, म फर्किएर आउँदा त विवाहको तयारी पो भैसके छ !’
देउवा कसरी इन्ट्रेस्टिङ त ? ‘मेरो भन्दा भिन्न लाइफ, जेल बसेर संघर्ष गरेको,’ उनले देउवा मन पराउनुको कारण बताइन्, ‘मैले चिने जानेका धनी बाबुका छोराहरू पैसाले उभ्याएका थिए, ती मलाई मन नपर्ने । मेरो वरिपरिका अधिकांश केटाहरुको बोरिङ जीवन देखेर म मेरो आफ्नै जीवन हुनुपर्छ भन्ने थियो ममा । आफ्नै घर हुनुपर्छ, आफ्नो घर बनाउँछु भन्ने थियो । यस्तो अवस्थामा उहाँ मभन्दा भिन्न लाग्यो । विवाह हुने लेखेको रहेछ, भयो ।’
देउवालाई साथ, संगतले राजनीति
२० वर्षसँगै बसेपछि केही न केही त सर्छ नै ! त्यसैले नेता देउवाको संगतका कारण राजनीतिमा आएकी छन् । ‘उहाँको जस्तो राजनीति मलाई आउँदैन,’ आरजु भन्छिन्, ‘हाम्रो उमेरको फरक पनि धेरै छ । म नजन्मँदै उहाँ राजनीतिमा लाग्नु भएकाले होला मलाई केही पनि आउँदैन भन्नुहुन्छ । पहिला पहिला म उहाँसँग धेरै गुनासो पनि गर्थें । तर एक पटक ऐश्वर्या राय (बलिउड हिरोइन)को कुरा सुनेपछि मेरो चित्त बुझ्यो र गुनासो गर्न छाडेँ । अन्तरवार्तामा पत्रकारले सोधेका थिए, ‘तपाईंलाई श्रीमान्ले दिनमा कति पटक तिमी राम्री छौ भन्छन् ?’ ऐश्वर्याको उत्तर थियो, ‘घरकी मुर्गी दाल बराबर !’
सबै श्रीमान्ले महान् पत्नीलाई ‘घरकी मुर्गी दाल बराबर’ देख्ने गरेको चाल पाएपछि उनले पनि चित्त बुझाइन् । यस्तो अवस्था भनेको पुरुष अहं हो भन्ने उनले बुझेकी छन् किनभने उनी स्वयं मनोविज्ञ पनि हुन् ।
पतिका रुपमा प्रधानमन्त्री देउवा कस्ता छन् त ? ‘उहाँलाई सफासुग्घर चाहिन्छ,’ चिटिक्कको सोफामा बसेकी आरजु भन्छिन्, ‘आजकल कोठाचोटामा अलिकति धुलो वा खज्मजिएको छ भने उहाँलाई मन पर्दैन । रिसाउनु हुन्छ ।’
त्यसो त जेल बसेको र कार्यकर्ता आउजाउ भइरहने घरमा गुजारा चलाइरहेका नेता देउवाको घर लजजस्तो हुन्थ्यो भन्ने सुनेकी थिइन् । ‘आजकल उहाँलाई सफा सुग्धर, चटक्क चाहिन्छ,’ उनी भन्छिन् ।
कुनै पनि सफल पुरुषका पछाडि नारीको हात हुन्छ । अनि नारीको सफलताका पछाडि पनि पुरुषको हात हुन्छ । ‘जीवन साथीले एक अर्कालाई सहयोग चाहिन्छ, गर्नुपर्छ,’ आरजु भन्छिन्, ‘मलाई उहाँले मैले गरिरहेका काममा सहयोग गर्नुभयो । यता नजान, उता नजान भन्नुभएन । उहाँले कुनै काम नगर भन्नुभएको भए मलाई अप्ठ्यारो पथ्र्यो । मैले पनि सकेको सहयोग गरेँ, गरिराखेकी छु । मैले केही नगरी बसेको भए पनि हुन्थ्यो होला, अरु कतिपय मन्त्राणीजस्तो ।’ तर उनले प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा धेरै सामाजिक काम गरेकी छन् । दैनिक आइपर्ने सबै काममा सघाएकी छन् । ‘हामीले नियम बनाएका छौँ– दिनभरिका काम, तनावका विषयलाई  लिएर राति कुराकानी नगर्ने । घरमा त टिभी हेर्ने, रमाइलो र रिल्याक्स गर्ने हो । बालुवाटार प्रधानमन्त्री निवास आफैँमा अफिस भए पनि  तल्लो तलामा मात्र काम हुन्छ, माथि उक्लेपछि घर हुन्छ । यो घरमा राजनीतिक कुरा नगर्ने नियम बनाएका छौँ ।’
हुन पनि दिनदिनै पत्नीले कचकच गरेर टाउको चाट्नु हुँदैन भन्ने उनलाई थाहा छ  । ‘हामी लोग्नेस्वास्नीबीच झगडै नहुने भन्ने होइन, त्यो त हुन्छ कहिलेकाहीँ,’ उनी बुझ्झकी छन्, भन्छिन्, ‘उहाँ धेरै थोक प्रेसरमा हुनुहुन्छ । त्यस्तो अवस्थामा म पनि थपिएर फाइट गर्न मिल्दैन । एक किसिमले म चुपचाप बस्छु पार्टी र सरकारका मामलामा ।’

उहाँलाई सफासुग्घर चाहिन्छ,‘चिटिक्कको सोफामा बसेकी आरजु भन्छिन्,‘आजकल कोठाचोटामा अतिकति धुलो वा खज्मजिएको छ भने उहाँलाई मन पर्दैन । रिसाउनु हुन्छ ।’

देउवा दम्पतीबीच पहिला चुरोटका विषयमा झगडा हुन्थ्यो । ‘दिनकै साठीवटासम्म चुरोट खानुहुन्थ्यो,’ उनले भनिन्, ‘अनि झगडा पथ्र्यो । आजकल चुरोट खानुहुन्न । वाइन पिउनु हुन्छ, पहिला रक्सी पनि निकै खानुहुन्थ्यो, तर बेहोस हुनेगरी वा ढल्ने गरी होइन । रक्सी खाएर रिसाउने, झगडा गर्ने बानी पनि छैन । खाएर सुत्ने बानी छ । मेरो विचारमा त चुरोटभन्दा ड्रिङ्स राम्रो हो ।’
लालनपालनका कुरा
विवाह गरेको एक वर्ष पुग्ने एक दिनअघि छोरो जन्मियो । छोराछोरी जन्माउने योजना बनाएको थिएन । ‘छोरो त जस्ट लाइक ह्पापेन भनेजस्तो भयो,’ छोरा जयवीर अचानक जन्मिएपछि आमा प्रतिभाको निकै सहयोग पाएको उनले बताइन् । ‘घरमा मेरो सासू पनि नभएको अवस्थामा आमाको सहयोगले मैले आफ्नो काम छोड्न परेन,’ छोरा हुर्काउँदाका कथा सुनाइन् उनले, ‘कतिपटक त बच्चा लिएरै अफिस जान्थेँ । पछि हामीले हाम्रो अफिस रुडुक र समानता एकै ठाउँमा थिए । त्यहीँ बच्चाहरू राख्ने नर्सरी बनायौं, एउटा कोठालाई । त्यहीँ मेरो बच्चा र अरुहरूका बच्चा पनि हुर्किए । हामी धेरैका बच्चा हुर्किएका छन् त्यसरी । आमा हुनेहरूलाई मात्र थाहा हुन्छ बच्चाको माया कस्तो हुन्छ । त्यसैले अफिसमै एउटा कोठा बनाएर त्यहाँ कर्मचारीको बच्चा राख्ने व्यवस्था मिलायो भने बच्चा पनि त्यहीँ हुन्छ, बच्चाकी आमा पनि त्यहीँ । जहाँ जहाँ म काम गर्छु, यस्तो वातावरण बनोस् भनेर पोलिसी बनाउने गर्छु । अहिले त संविधानमा दस जना महिला कामदार भएको अफिसमा त्यस्तो नर्सरी राख्नुपर्छ भनेको छ ।’ यो सफलतामा उनलाई गर्व छ किनभने ढिलोचाँडो नेपाली आमाले यस किसिमको सुविधा उपयोग गर्न पाउनेछन् ।
‘सानो बच्चालाई आमाले गरेजस्तो स्याहार अरुबाट हुँदैन,’ आरजुको अनुभव बोल्छ, ‘कहीँकतै बाहिर जानु छ, काममा जानु छ, परिवारका सदस्य तथा बाबुले बच्चा हेर्दा राम्रो हुन्छ । कतिपय महिलाहरू नोकरचाकरको भरमा बच्चा छोडेर हिँड्छन्, त्यो राम्रो होइन ।’
लालनपालनको अनुभवले उनलाई बताउँछ– बच्चालाई आमा–बाबुले राम्रो नराम्रो सिकाउनुपर्छ । हाम्रोमा कतिपय कुराहरू भन्नुहुँदैन भन्ने मान्यता छ तर सबै कुरा बुझाएर भन्नुपर्र्ने उनको मान्यता छ । अचेल कतिपय विद्यालयमा त्यस्तो शिक्षा दिन्छन् पनि । बच्चाको आफ्नै इन्टिलिजेन्स हुन्छ, आफ्नै खालको आनी–बानी हुन्छ । बच्चालाई गाली गर्न पिट्न हुँदैन । ‘मैले एक पटकमात्र छोरालाई पिटेकी छु,’ उनले भनिन्, ‘त्यो पनि बिरामी दाजुलाई कचकच गरेको भनेर । बच्चालाई राम्रोसँग सम्झाउनु बुझाउनुपर्छ । बच्चालाई समय दिनुपर्छ । आमाबाबुले जहिले पनि छोराछोरीसँग कुराकानी गर्नुपर्छ । म छोरासँग अहिले पनि दिनदिनै जसो कुरा गरिरहन्छु ।’
उनको नजरमा संवाद ठूलो कुरा हो । यसले नै आमाबाबु र बच्चालाई जोड्छ । यो कुरा बोल्न हुन्छ, यो हुँदैन भन्ने कुरा उनी मान्दिनन् । ‘लागु औषध, अपराध, यौन सबै कुरा उनीहरूसँग खुलस्त कुरा गर्नुपर्छ,’ उनी भन्छिन्, ‘अहिलेको इन्टरनेटको जमानामा बच्चाको सबैतिर पहुँच छ । उसलाई राम्रो नराम्रो सबै पक्ष बुझाउनुपर्छ । बच्चा जिज्ञासु हुन्छन् र आफूले चाहेको कुरा खोजिरहने स्वभावका हुन्छन् । तपाईंले उनीहरुलाई राम्रोसँग बुझाउन सक्नु भएन भने उसको जिज्ञासाले खराब बाटोमा पनि लैजान सक्छ ।’
किशोरावस्थामा पुगेका सन्तानको व्यवस्थापन अझ चुनौतीपूर्ण लाग्छ उनलाई । ‘तर मेरो अनुभवमा मलाई कहिल्यै त्यस्तो ग्राहो भएन,’ उनले भनिन्, ‘यो उमेरमा बच्चासँग प्रत्यक्ष कन्फर्ट गर्न हुँदैन । कतिपय कुरा थाहा नपाएजस्तो पनि गर्नुपर्छ ।’ अरुअरुको उदाहरण दिएर आफूले किशोर–किशोरी छोराछोरीलाई सम्झाउनुपर्ने उनको धारणा छ । गर्नुपर्दछ । ‘मैले यस्तो सुनेकी थिएँ, यसरी सुनेकी थिएँ भनेर अप्रत्यक्ष रुपमा भन्यो भने उनीहरुले कुरा बुझ्न सक्छन् तर प्रत्यक्ष हस्तक्षेप गर्यो भने अवस्था झन् आक्रामक हुने डर हुन्छ,’ मनोविद् समेत रहेकी आरजु भन्छिन्, ‘त्यस्तो बेला आफू पनि त्यही उमेरबाट हुर्किएको मनन् गर्न सक्नुपर्छ । यहाँ नजाऊ, त्यहाँ नजाऊ, यसो नगर, उसो नगर भन्न हुँदैन । उनीहरूले सिक्न जरुरी  छ । यत्ति हो उनीहरूले गर्न सक्ने, जान सक्ने लिमिट बुझाउनुपर्छ र त्यो क्रस गर्नु हुँदैन भन्नुपर्छ । त्यस्तो बेला होस भन्दा जोश हुन्छ र बाबुआमाभन्दा म आफैँ जान्ने छु भन्ने छोराछोरीले ठान्छन् ।’
सम्पन्न परिवारका कतिपय समस्या सुनिन्छन् । त्यस्तो परिवारमा पैसाले जे पनि गर्न सकिन्छ भन्ने भ्रम हुन्छ । त्यस्तो अहंले धेरै कुरा बिग्रने आरजुको धारणा छ । ‘बाबुआमा कस्ता छन् भन्ने कुरा छोराछोरीले पहिल्यै थाहा पाइसकेका हुन्छन्, तिनलाई ढाँटन सकिँदैन,’ आरजु भन्छिन्, ‘उनीहरूले सबै कुरा अप्रत्यक्ष रुपमा बुझिराखेका हुन्छन् । पैसाले छोराछोरी हुर्कन्छन् भन्ने लाग्छ तर त्यस्तो हुँदैन न त पैसाले नै जिम्मेवारी वहन गर्छ । पैसा दिएर छोराछोरीलाई पन्छाउन मिल्दैन । उनीहरूलाई समय दिनुपर्छ । जहिले पनि छोराछोरीहरुलाई यो राम्रो, धनी भन्ने कुराको तुलना गर्ने भावना आउन दिनुहुँदैन । अरूसँग तुलना गरेर हिनताबोध हुने काम गर्न हुँदैन । बाबुआमाले कठिन काम गरेर विश्वास आर्जन गरेका हुन् भन्ने देखाउनुपर्छ र कडा परिश्रमले जीवन बन्छ भन्ने शिक्षा दिनुपर्छ ।’
छोराछोरीमा गितार बजाउने रहर छ भने गितार नखेल पढ मात्र भन्यो भने उसले पढ्दैन । पछि गितार पनि खेल्दैन । गितार पनि बजाऊ तर पढ पनि भन्यो भने के थाहा ऊ पछि धुरन्धर गितारवादक बन्ला कि ! तर जे कुरा पनि छोराछोरीलाई रोक्न खोज्यो भने बनाउन खोजेको व्यक्ति पनि नबन्ने सम्भावना बढी हुने उनले आफ्नै आँखाले देखेकी छन् । त्यसैले त्यस्तो नगर्न उनी सुझाव दिन्छिन् ।
आरजुको धारणामा जीवनमा महत्वाकांक्षा हुनुपर्छ र व्यक्ति सामाजिक पनि हुनुपर्छ । त्यस्ता व्यक्ति समाजका असल पात्र बन्न सक्छन् भन्ने उनलाई लाग्छ ।
जयवीरको संसार
अहिले देउवा पुत्र जयवीर सिंह देउवा २२ वर्षका भए । उनी लण्डनमा आर्टस पढ्दैछन् । हुन त जयवीरको गणित र विज्ञान धेरै राम्रो थियो । उनलाई एउटी आमाको हिसाबले विज्ञान पढ्न सुझाव दिएकी थिइन् । जयवीरले मानेनन् । उनले आफूले पढ्न चाहेका विषय नै पढ्ने भनेर राजनीतिशास्त्र, अर्थशास्त्र र दर्शनशास्त्र पढिरहेका छन् । ‘कडा परिश्रमबाट मात्र फल पाइन्छ भन्ने कुरा हामीले सिकाउने हो,’ आरजु भन्छिन्, ‘त्यो पाठ आफ्ना सन्तानले सिके भने जे सुकै पढे पनि तिनले आफ्नो बाटो पहिल्याउन सक्छन् ।’
जयवीरले पनि त्यहाँ पढेर आएपछि यहाँ आफ्नो जुनसुकै विषयमा पनि भविष्य खोज्न सक्ने विश्वास आरजुले लिएकी छन् । ‘उसले यहाँ आएर आफ्नो सम्भावना ‘एक्सप्लोर’ गर्ने हो,’ उनले भनिन्, ‘मैले पनि इन्डियाबाट पढेर आएका २ वर्षमा ५ वटा काम फेरेकी थिएँ । उसले कहिलेकाहीँ वैज्ञानिक खेती गर्ने कुरा सुनाउँछ । कहिले अरु कुनै सपना सुनाउँछ । उसले जे गरे पनि राम्रो गरोस्, आफ्नो विषयमा उत्कृष्ट गरोस् । मेरो चाहना त्यत्ति हो ।’
उसो भए प्रधानमन्त्री बाबा शेरबहादुरको छोराप्रतिको चाहना के होला त ? ‘उहाँको चाहना त राजनीति गरोस् भन्ने नै होला,’ आरजु भन्छिन्, ‘राजनीतिक सिद्धान्तका कुरामा जयवीरको चाहना छ, पढलेख गर्छ पनि तर उसले अहिलेसम्म जनताको तहको राजनीति गरेको छैन । पछि आएर ऊ कता जाने हो, त्यसको निर्णय उसैले गर्छ ।’
नेपाली नक्कला नक्कली
नेपाली समाजमा चाडबाड मनाउने कुरा भड्किलो बन्दै गएकोमा उनलाई चिन्ता लागेको छ । ‘अहिलेको जस्तो तडकभडक मैले कहिल्यै देखेकी थिइनँ,’ उनले आफ्नो माइती सम्झँदै भनिन्, ‘त्यो बेला सबैभन्दा हुनेखाने राणाजीहरूको जीवन पनि सरल थियो । हुन त त्यो बेला अन्य सर्वसाधारणको भन्दा तडक भडक मानिन्थ्यो होला तर अहिलेको जस्तो भद्दा थिएन । तीजकै कुरा गरौँ न, एक महिना अघिदेखि नाचगान सुरु हुन्छ । हामीकहाँ त तीजको एक दिनअघि माइतीमा दर खाने हो, त्यसको एक दुई दिनअघि मामाघरमा खाने हो । उपहारमा पनि चुरा, टीका, पोते उपहार दिने हो ।’ उनले यतिबेला तीज के हो, किन मनाएको केही थाहा पत्तो छैन नभई नाच्यो, गायो खायो, फेसबुकमा फोटो हाल्योमै सीमित हुन थालेको देख्दा चिन्ता लाग्ने बताउँछिन् । ‘रमाइलो गर्नुपर्छ तर त्यसले अस्वस्थ प्रतिस्पर्धा हुनु भएन,’ उनी अभिभावकले जस्तो चिन्ता गर्दै भन्छिन्, ‘देखाउनका लागि झरिझट्ट गहना लगाएर फेसबुकमा फोटो ट्याग गर्दा नहुनेलाई अप्ठारो हुनसक्छ भन्ने बुझ्नुपर्छ । चाडबाड संस्कृति मनाउनुपर्छ, तर एउटा हदसम्म त्यसको मर्म र महत्व बुझेर मात्र मनाउनुपर्छ ।’
नेपालीहरू फेसनमा पनि अगाडि छन् र लाउन खानमा सौखिन छन्, नेपालीहरू भन्ने उनलाई लाग्छ । ‘हाम्रो पालामा मिनी स्कर्ट र टि सर्ट लगाउँदा त्यो फेसन हुन्थ्यो, आजकल त्यो फेसन नै होइन,’ उनी भन्छिन्, ‘ बंगलादेशीलाई हेराैं न आर्थिक हैसियतमा हामीभन्दा माथि छन् तर त्यहाँ धेरैले चप्पल नै लगाउँछन् । हामीकहाँ जुत्ता नलगाउने भेट्न मुस्किल छ । चीन, भारतजस्ता छिमेकी र विश्व बजारसँगको पहुँचले गर्दा सस्तोमा सबै थोक भेटिएर पनि नेपाली नक्कल पार्न जानेजस्तो लाग्छ ।’

(नागरिक परिवारबाट साभार)

बिहिबार, कार्तिक २३, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री