बाल्यकालदेखि नै अरुभन्दा पृथक : चित्र बहादुर रसाईली

चित्र बहादुर रसाईलीलाई कलाका बादशाह भन्दा फरक पर्दैन । सुनका बिभिन्न गरगहनामा समय र ग्राहकको चाहनाअनुसारका डिजाईन निर्माण गर्न सक्ने क्षमता उहाँमा छ । तर, अचम्मको कुरा कुनै दिन उहाँको कलाको शोषण आफ्नै पिताबाट भएको थियो भन्दा तपाईलाई अपत्यारीलो लाग्न सक्छ । तर, यो सत्य हो ।

वि.स. २०२० सालमा सिन्धुपाल्चोकको पाल्चोक गाउँपालिकामा बुबा तामलाल रसाइली र आमा पद्ममायाको कोखबाट जन्मनुभएको रसाइलीको बाल्यकाल मध्यवर्गीय परिवारमा बित्यो । सात सन्तानमध्ये जेठो सन्तानको रुपमा जन्मनुभएको रसाइली बाल्यकालदेखि नै अरुभन्दा पृथक हुनुहुन्थ्यो । बाल्यकालदेखि नै मिलनसार हुनु, बिलक्षण प्रतिभा प्रदर्शण गर्नु तथा कुनै पनि बिषयप्रति गहिरो जानकारी राख्न खोज्नु उहाँको फरक बिशेषता थियो । परिवार कृषि र सुन व्यवसायमा आश्रित थियो । 

श्री फूलबारी महेन्द्र मा.वि. बौद्धबाट उहाँको अक्षर शुभारम्भ भयो । त्यहीँबाट २०३८ सालमा प्रवेशीका परिक्षा दिन खोज्दा उहाँ असफल हुनुभयो । कारण उहाँले सात वर्षको उमेरदेखि सात जना बच्चा पढाउनु पर्ने थियो । स्कुलमा रसाइली अध्ययनमा धेरै बिलक्षण हुनुहुन्थ्यो । गुरुबाट माया, प्रेम पाए पनि साथीभाइबाट विभेदको सिकार हुनुपरेको रसाइलीको गुनासो छ ।  पारिवारीक अवस्थाको कारण प्रवेशीका परिक्षामा असफल भएपछि उहाँ आफ्नो पुख्र्यौली सुन व्यवसायमा संलग्न हुनुभयो । सुनका गरगहनामा उहाँ नयाँ–नयाँ कलाको प्रयोग गर्नुहुन्थ्यो । जसले ग्राहक निक्कै मोहीत र आकर्षित हुन्थे । तर, उहाँको क्षमता, कला र प्रतिभा आफ्नै पितालाई सह्य भएन र निरन्तर उहाँ शोषीत हुन बाध्य हुनुप¥यो । सहयोगको कुरा त छाडौँ रसाइली पिताबाट आफ्नो कलामा स्वतन्त्रता हुन पाउनुभएन । यतिसम्मकी काठमाण्डौँमा भएको घर चार भाइले समान रुपमा पाउनुपर्ने भए पनि बुबाले आफूले पाउनुपर्ने अंश कान्छी श्रीमतीको छोरालाई दिएको गुनासो गर्नुहुन्छ । त्यस्तै, आफ्नो अंश सौताको भागमा पार्न बुबाले वकीललाई सात लाख खुवाएको प्रमाणीत गर्न सक्ने उहाँ बताउनुहुन्छ ।

सात वर्षदेखि काम गर्न सुरु गर्नुभएको रसाइली नौं वर्षको हुँदा सिन्धुपाल्चोकस्थित पाल्चोक प्रा.वि.को उप–प्रमुख हुनुुभयो । सानै उमेरमा उहाँ प्रा.वि.को उप–प्रमुख हुनुको मुख्य कारण उहाँको पढाई र प्रतिभा नै हो । नौं वर्षको कलिलो उमेरमा उहाँले एक भाइ एक बहिनी र आमालाई पाल्नुप¥यो । आमा बिरामी भइरहनुहुन्थ्यो । दश वर्षको हुँदा आमाको देहवशान भयो । त्यसपछि उहाँ एक्लो हुनुभयो । भाइ र बहिनीलाई पाल्दै शिक्षण पेसामा आवद्ध हुँदै रसाइलीको जीवन संघर्ष जारी थियो । अचानक बुबाले बिहेको प्रस्ताव ल्याउनुभयो र १४ वर्षको उमेरमा २०३४ सालमा उहाँको बिबाह भयो ।  त्यसको केही समयपछि बुबाले बेलुका घाम अस्ताउने बेला बेलुकाको पाँच बजे भिन्नो गराइदिनुभयो क्षण सम्झदा रसाइली निक्कै भावुक हुनुहुन्छ । भावुक मुद्रामा रसाइलीले भन्नुभयो, बुबाले घाम अस्ताउने बेलामा भिन्नो गराइदिनुभयो । त्यसपछि म श्रीमति र बहिनी लिएर काका रघुवीर रसाइलीको घरमा आश्रम लिन गएँ । त्यो क्षण म कहिल्यै बिर्सन्न । रघुवीर रसाइली र चन्द्रलाल रसाइलीले जीवनमा ठूलो सहारा दिएको उहाँ बताउनुहुन्छ ।  व्यवसायको विकल्प नहुँदा एक दिन उहाँले काका रघुवीरसँग सेतो धातुको धुलो मागेर रातभरी लगाएर आकर्षक ब्रास्लेट बनाउनुभयो । तर, त्यसलाई बजारमा लगेर बेच्ने उहाँसँग पैसा थिएन । काकाको छोरासँग १० रुपैयाँ मागेर रसाइलीले बजारमा ५० रुपैयाँमा बेच्नुभयो ।  त्यही पैसाबाट उहाँले व्यवसाय सुरु गर्नुभयो ।

हरेक रातदिन आफ्नी जीवनसङ्गीसँग मिलेर उहाँले कडा मेहनत गर्नुभयो । परिणाम १२ वर्षको उमेरमा उहाँ धेरै सिपालु भैसक्नुभएको थियो । त्यसपछि उहाँले काठमाण्डौँको बौद्धमा बौद्ध धर्मसम्बन्धी पुजाका सामाग्री बनाउन सुरु गर्नुको साथै सहना पनि बनाउन सुरु गर्नुभयो । उहाँले बनाएका सामाग्रीको चर्चा र निक्कै माग हुन थाल्यो । जसले गर्दा उहाँ आर्थिक रुपमा सम्पन्न हुँदै जानुको साथै कला, क्षमता र प्रतिभाको पनि चर्चा हुन थाल्यो । अहिले पनि उहाँ आफ्नो पेसालाई निरन्तरता दिँदै आउनुभएको छ ।

व्यवसायसँगै समाजसेवामा पनि सक्रिय रसाइली नेकपा एमाले काठमाण्डौँ क्षेत्र नं.–३ को सचिवालय सदस्यको साथै नेकपा एमाले जनवर्गीय संगठन (नेपाल उत्पीडित जातीय मुक्ति समाज) को केन्द्रिय सदस्य, नेकपा एमाले सिपकला पेशा बिभागको उप–प्रमुख, श्री पाल्चोकी माई जयवागेश्वरी मन्दिर संरक्षण समिति सदस्य तथा प्रचार विभाग प्रमुख, बोस्टर मिडियाको सल्लाहकार, आइसीटि पत्रकार संघको सदस्य र रसाइली बन्धु एकता समाज नेपालको केन्द्रिय सह–अध्यक्ष हुनुहुन्छ । सन् २०११ मा नयाँदिल्लीमा भारतीय साहित्य एकेडेमीद्धारा सम्मानीत रसाइली आगामी दिनमा सामाजिक क्षेत्रमा नै सक्रिय रहने प्रण गर्नुहुन्छ ।  

मङ्लबार, कार्तिक २१, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री