उपल्लो मुस्ताङमा पर्यटकको चाप बढ्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ कार्तिक २०७४, आईतवार ०८:१६

काठमाडौं ।  पर्यटक आर्कषकको गन्तव्यका रुपमा चिनिने हिमाली जिल्ला मुस्ताङको उपल्लो भेगमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । पर्यटकीय मौसम शुरु भएपछि मुस्ताङको कागबेनी, छुसाङ हुँदै पैदल र गाडीमा दैनिक करीव एक सयको हाराहारीमा विदेशी पर्यटकहरू भित्रिने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० लोमान्थाङले जनाएको छ ।

नेपाल पर्यटन बोर्डमा बुधबार भेटिएका मुस्ताङका पर्यटन व्यवसायी रमेश शेरचनले बिदाको समयमा हवाई र स्थलमार्ग हँुदै आउने आन्तरिक पर्यटकको उल्लेख चाप भएको बताए । ‘म्याग्दीको बेनी–जोमासोम सडक र पोखरा–जोमसोम हवाइमार्ग हुँदै भित्रिने अधिकांश विदेशी पर्यटकहरुले उपल्लो मुस्ताङको भ्रमण गर्ने गरेको छ । यो सिजनमा अघिल्लो वर्षको तुलनमा विदेशी पर्यटकको चाप धेरै छ,’ उनले भने ।

अर्का होटल व्यवसायी एकेन्द्र थकालीले मुक्तिनाथ मन्दिर, कागबेनी, अनौठो भू–बनोट, तिब्बती कला सँस्कृति र प्राकृतिक सुन्दरता नै जिल्लामा आकर्षणको केन्द्र विन्दुबन्दै गएको नागरिकलाई बताए । उनका अनुसार दसैँ र तिहारको याममा सरकारी कर्मचारी, विद्यार्थी, शिक्षक शिक्षिका र समूहमा घुम्न आउने आन्तरिक पर्यटक बढी देखिएको बताए ।
मेघा टे«ेक्स नेपालका संचालक प्रकाश लामाले गत हप्तामात्रै मुस्ताङमा विदेशी पर्यटक घुमाएर काठमाडौं फर्किएका छन् । ‘अहिले मुस्ताङको दृश्य र हिमाल हेर्नका लागि उपयुक्त समय हो । यो सिजनमा सबैभन्दा धेरै पर्यटकहरु देखियो ।’ उनले भने,‘मुस्ताङ भित्रिने पर्यटकलाई आकर्षित गर्न एक्यापको सहयोगमा स्थानीयले विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत गरिएको देखियो ।’

उपल्लो मुस्ताङ प्रवेश गर्ने पर्यटकले १० दिनको अनुमति लिएर दैनिक ५० डलर शुल्क तिनुपर्ने व्यवस्था रहेको छ । उपल्लो मुस्ताङमा पर्ने छुसाङ, धमी, सुर्खाङ, चराङ, लोमान्थाङ, छोन्हुपलगायतका गाविसमा रहेका सयौं वर्ष पुराना दरबार, गुम्बा, चैत्य, प्राकृतिक सौन्र्दयता, मनोरम दृश्यावलोकन, पुराना बस्ती, तिब्बतीयन कला र संस्कृतिहरू पर्यटकका लागि प्रमुख आर्कषण रहेका छन् ।

आन्तरिक पर्यटकहरु समेत विभिन्न समूहमा मुस्ताङ पुग्ने गरेका छन् । लोमान्थाङबाट छोसेर र छोन्हुपको भ्रमण गरी पुनः लोमान्थाङमै बास बस्न फर्कने गरेका छन् । लोमान्थाङमा ५ वटा पर्यटकस्तरका होटल छन्भने दर्जनको हाराहारीमा साना होटलहरू सञ्चालनमा रहेका पर्यटन व्यवसायी राम गुरूङले नागरिकसँग बताए ।

लोमान्थाङमा रहेको राजदरबार, छोसेरको झोङ गुफा र चराङको मराङस्थित विश्वकै सबैभन्दा पुरानो गुम्बा पर्यटकका लागि आर्षणको केन्द्र विन्दु हो । एक्याप कागबेनी चेकपोष्टले दिएको जानकारी अनुसार दैनिक १५ देखि ६० जनासम्म विदेशी पर्यटकहरु भित्रिने गरेका छन् । आन्तरिक पर्यटकको समेत रोजाई बनेको उपल्लो मुस्ताङमा उनीहरुले न्यूनतम तीन देखि एक हप्ता लामो भ्रमण गर्दछन्।

पर्यटकको आगमनलाई मध्यनजर गरेर छुसाङदेखि लोमान्थाङसम्म जीप सेवा समेत सञ्चालन गरिएको छ । फ्रान्स, जर्मनी, अमेरिका, बेलायतलगायतका विभिन्न देशबाट वर्षेनी पर्यटकहरु आउने गरेको पर्यटन व्यवसायी गुरुङको भनाई छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१