कंगनाविरूद्ध आदित्य दम्पतीले हाले मुद्दा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ कार्तिक २०७४, आईतवार ०७:३७

बलिउड अभिनेत्री कंगना रनावतविरूद्ध अभिनेता आदित्य पन्चोली र उनकी पत्नी जरिना वहाबले मुद्दा हालेका छन्। पन्चोली दम्पतीले अँधेरी अदालतमा कंगना र उनकी बहिनी रंगोलीविरुद्ध मानहानीको मुद्दा दायर गरेका बताएका छन्।

भारतीय समाचार संस्था पिटिआइसँग कुरा गर्दै आदित्यले भने, ‘हो हामीले रनावत दिदी–बहिनीविरुद्ध मानहानीको मुद्दा हालेका हौं।’

कंगनाले केही साताअघि एक अन्तवार्ता दिएकी थिइन् जसले बलिउडमा निकै खलबली मच्चाएको थियो। कंगनाले अन्तर्वातामा अभिनेता ऋतिक रोशन र आदित्य पन्चोलीका साथै उनका छोरा सुरज पन्चोलीबारे बोल्दै केही अचम्म लाग्ने कुरा खुलासा गरेकी थिइन्।

आदित्यले घरमै आफूलाई कैद गरेकोदेखि लिएर ऋतिकले आफ्नो इमेल ह्याक गरेसम्मका कुराबारे उनले खुलेर बताएकी थिइन् जसले सबैलाई चकित पारेको थियो। कंगनाका टिप्पणीबारे बोल्दै सुरजले कंगना र आफ्ना बाबुबारे केही कुरा याद नभएको बताएका थिए। आफू १४–१५ वर्षको मात्रै भएकाले उनीहरूबीच भएका सबै कुरा थाहा नभएको उनले बताएका थिए। यो सम्बन्धले घर बिगारेकाले आफ्नी आमालाई भने सबै थाहा भएको उनले बताएका थिए।

 

आदित्यले भने अहिले मुद्दा नै हालेर प्रतिक्रिया दिएका हुन्। कंगनाले आफूलाई वर्षौैंदेखि सताइरहेको भए पनि आफू चुप बसेको आदित्यले बताएका छन्। उनले अन्तर्वार्तामा आफ्नो व्यवहारबारे बोलेपछि भने चुप बस्न नसकी मुद्दै हालेको उनले बताए।

‘कंगना र उनकी बहिनी रंगोलीले यो मामिलामा मसहित, मेरी श्रीमती र छोरालाई समेत मुछे, जुन एकदमै गलत छ,’ आदित्यले भने, ‘म मेरो परिवारबारे चिन्तित छु।’

उनले थप भनेका छन्, ‘कंगनाले मलाई दिए जस्तो महिला कुट्ने पुरूष वा शोषकको छवि होस् भन्ने चाहन्नँ। त्यसैले म चुप बस्दिनँ।’
आदित्यले कंगनासँग उनले आरोप लगाएका कुराहरुको प्रमाण नभएको पनि बताएका छन्। केही दिनअघि मात्रै पन्चोली दम्पतीले कंगना र रंगोलीले माफी माग्नुपर्ने भन्दै सूचना जारी गरेका थिए।

 

कंगनाले दिएको अन्तर्वार्ताबारे चुप बसेका ऋतिक पनि अहिले बोल्न थालिसकेका छन्।

वकिलहरूको सल्लाहअनुसार केही बोले बिग्रने सम्भावना हुने भन्दै लामो समय चुप बसेका ऋतिकले केही साताअघि सामाजिक संजालमा आफ्नो बचाउ गर्दै एक पत्र पोस्ट गरेका थिए। यो पत्र देखेपछि कंगनाको तर्फबाट वकिल रिजवान सिद्दिकीले ऋतिकविरूद्ध मुद्दा दायर गरेका छन्।

ऋतिकका वकिल महेश जेठमलानीले गत अप्रिलमै यो पूरा मामिलाबारे मुम्बई पुलिसमा उजुरी हालेका थिए। उजुरीमा कंगनाले उनलाई यौन सम्बन्धबारे इमेल पठाएको ऋतिकले बताएका थिए।

कंगनाले आफ्नो अन्तर्वार्तामा ऋतिक र यो पूरै विषयबारे धेरै कुरा बोलिसकेकी छन्।

ऋतिकले कंगनासँग कुनै प्रेम सम्बन्ध नभएको र उनलाई एक्लै कहिल्यै नभेटेको समेत बताएका छन्।

कंगनाको लडाइँमा उनकी बहिनी रंगोली पनि जमेर लागेकी छन्। कंगनाले एकोहोरो ऋतिकलाई आरोप लगाईरहँदा उनको साथमा ठूलो समर्थन जुटेको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१