एनआरएनए अध्यक्षमा जापानका भवन भट्ट विजयी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ आश्विन २०७४, मंगलवार ०५:३५

काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को अध्यक्षमा जापानका व्यावसायी भवन भट्ट विजयी भएका छन्। मध्यराती आएको परिणाम अनुसार भट्ट ११९७ मत ल्याएर विजयी भएका हुन्।

यसअघि अध्यक्ष शेष घलेको दुवै कार्यकालमा उपाध्यक्ष रहेका भट्टले यो ८औं विश्व सम्मेलनमा अन्तिम समयमा अध्यक्षको उम्मेदवार बनेकी जमुना गुरुङ घलेलाई पारजित गरेका हुन्।

यसैगरी उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य तथा महिला उपाध्यक्षमा सपिला राजभण्डारी निर्वाचित भएका छन्। यस्तै महासचिवमा बद्रि केसी, सचिवमा डिबी क्षेत्री, कोषाध्यक्षमा हिक्मत थापा र सहकोषाध्यक्षमा सोम सापकोटा निर्वाचित भएका छन्।

विद्यार्थीका रुपमा जापान छिरेका भट्ट रेष्टुरेण्टमा भाँडा माझ्ने काम गर्दै विस्तारै व्यावसायी बनेका थिए, जो अहिले २९० रेष्टुरेण्टका मालिक बनेका छन्। त्यसबाहे अरु व्यावसायमा पनि उनको ठूलो लगानी छ।

जर्मनीका कुमार पन्त अध्यक्षमा भट्टलाई समर्थन गर्दै उपाध्यक्ष पदको उम्मेदवार बनेपछि भट्ट अध्यक्षका बलियो दाबेदार बनेका थिए। एनआरएनएका पूर्व अध्यक्ष उपेन्द्र महतो र जीवा लामिछानेले पनि भट्टलाई नै साथ दिएका थिए।

एनआरएनए अध्यक्षमा रुसका उपेन्द्र महतो, जापानका देवमान हिराचन, रुसका जीवा लामिछाने, अष्ट्रेलियाका शेष घलेपछि फेरि जापानकै भवन भट्ट दोहोरिएका छन्। जापान अध्यक्ष हुँदै एनआरएनएको कोषाध्यक्ष र दुई कार्यकाल उपाध्यक्ष भएपछि भट्ट अध्यक्ष बन्न सफल भएका हुन्।

जमुना निवर्तमान अध्यक्ष शेष घलेकी पत्नी हुन्, यद्यपी अष्ट्रेलियामा एक सय ५ धनी महिलाको सूचीमा रहेकी उनको आफ्नै व्यवासायिक पहिचान छ। अध्यक्षको उम्मेदवार बन्नुअघि उनी एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य थिइन।

सोमबार साँझ ५ः३० बजे शुरु भएको मतदान राती ११ः१५ बजे सकिएको थियो। एनआरएनए निर्वाचनमा १८५४ मतदाता रहेकोमा १९ जना बाहेक १८३५ जनाले मतदान गरेका थिए।

शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको एनआरएनएको ८औं विश्व सम्मलेनको बन्दसत्रले आइतबार अध्यक्ष शेष घलेले प्रस्तुत गरेको ‘भिजन २०२०’ संशोधनसहित पारित गरेको थियो।

यो सम्मेलनले एनआरएनएको विधान संशोधन गरी अर्को कार्यकालदेखि ३ जनाबाट बढाएर ५ जना उपाध्यक्ष रहने व्यवस्था गरेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१