१४ अक्टोबरदेखि १७ सम्म हुने एनआरएनएको आठौं विश्व सम्मेलन,क–कसले गरे उम्मेदवारी घोषणा ?

काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभा चुनाव तथा दलहरुबीचका गठबन्धनका चर्चाले तात्तिएको काठमाडौं गैरआवासीय नेपाली संघ (एनआरएनए)को चुनावको चर्चाले झनै गर्माएको छ । आउँदो १४ अक्टोबरदेखि १७ सम्म हुने एनआरएनएको आठौं विश्व सम्मेलन तथा अधिवेशनका लागि विभिन्न पदमा उम्मेदवारी घोषणा हुने क्रम चलिरहेको छ । केही दिन अघिदेखि नै नेपाल आएका एनआरएनए नेताहरु काठमाडौं बाहिरका विभिन्न कार्यक्रममा सहभागी हुँदै काठमाडौं फर्किएका छन् । अहिले होटल, रेष्टुराँ, दोहोरी, डान्सलगायतका क्षेत्रमा एनआरएनएका नेताहरु बाक्लै भेटिन थालेका छन् । विभिन्न सञ्चारमाध्यममार्फत् आआफ्नो प्रचारप्रसारका लागि एनआरएनए नेताहरुले लबिङ तीव्र पारेका छन् । केहीले आफ्नो उम्मेदवारीका विषयमा विज्ञापनसमेत दिन थालेका छन् ।

काठमाडौंको बौद्धमा रहेको होटल हायातमा विश्व सम्मेलन र अधिवेशनको तयारी तीव्र पारिएको छ । झण्डै ३ हजार प्रतिनिधि पर्यवेक्षक सहभागी अपेक्षा गरिएको एनआरएनए सचिव अर्जुनकुमार श्रेष्ठले बताएका छन् । ‘ट्रान्सफरमिङ एनआरएनए’ भन्ने मूल नारासहित सम्मेलनअन्तर्गत अक्टोबर ११ लाई एनआरएनए डेका रुपमा मनाउने तयारी गरिएको छ । नेपाल सरकारले पनि उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा गैरआवासीय नेपाली विश्व सम्मेलन आयोजक उच्चस्तरीय समिति यसअघि नै घोषणा गरेको छ । समितिले सबै तयारी पूरा भएको महराका प्रेस सल्लाहकार हरि लामिछानेले बताएका छन् । निर्वाचन समितिले निर्वाचन तालिकासमेत सार्वजनिक गरिसकेको छ ।

प्रतिनिधि पर्यवेक्षकको दर्ता प्रक्रिया चलिरहेको छ । दर्ताका लागि अमेरिका, यूरोप, ओसियाना र एशिया प्यासेफिक क्षेत्रका प्रतिनिधिले २ सय अमेरिकी डलर बुझाउनु पर्नेछ । मध्य पूर्व, मलेसिया र अफ्रिकाका प्रतिनिधिका लागि १ सय अमेरिकी डलर दर्ता शुल्क तय गरिएको छ । एनआरएनए अमेरिकाले भने थप ५० डलर उठाएको एनआरएनए सचिवालय काठमाडौंले जनाएको छ । प्रतिनिधि पर्यवेक्षकबाहेक अन्यले पनि निश्चित शुल्क बुझाएर कार्यक्रममा सहभागी हुन पाउने एनआरएनएले जनाएको छ ।

निर्वाचनसम्बन्धी कार्यतालिकाअनुसार १३ अक्टोबरमा निर्वाचन समितिलाई सचिवालयले प्रारम्भिक मतदाता नामावली बुझाउने छ । अक्टोबर १४, बिहान ११ बजे निर्वाचन समितिले प्रारम्भिक मतदाता नामावली प्रकाशन गर्नेछ भने बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मतदाता नामावलीमा त्रुटी भएको नाम सच्याउने समय रहेको छ । दिउँसो ३ बजे निर्वाचन समितिले वैकल्पिक नामसमेत समावेश गरी दोस्रो मतदाता नामावली प्रकाशन गर्नेछ । निर्वाचन प्रतिनिधिको प्रमाणीकरण तथा दस्तुर दाखिलाबारे निर्वाचन समितिले छानबिन गर्ने अन्तिम समय त्यही दिन ४ बजेसम्मका लागि तय गरिएको छ । बेलुकी ५ बजेसम्म वैकल्पिक प्रतिनिधिको नाम दर्ता तथा प्रमाणीकरण, बेलुकी ६ बजे मतदाता नामावलीमा दाबी विरोधको समय तय गरिएको छ ।

अक्टोबर १५   को बिहान ११ बजे निर्वाचन समितिले मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ । त्यही दिन दिउँसो ३ बजेदेखि अक्टोबर १६ गते बिहान साढे ८ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तय गरिएको निर्वाचन समितिले जनाएको छ । त्यही दिन बिहान साढे ९ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन हुनेछ । उम्मेदवारको मनोनयनउपर दाबी विरोधको समय बिहान साढे ९ बजेदेखि साढे १० बजेसम्मको समय तय गरिएको छ । उम्मेदवारी फिर्ता लिने तथा छानबिनको समय बिहान साढे ११ बजे र दिउँसो १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । १६ अक्टोबर दिउँसो १ बजेदेखि बेलुकी ६ बजेसम्म मतदान हुनेछ । निर्वाचन सम्पन्न भएको एक घण्टापछि मतगणना हुने र लगत्तै नतिजा घोषणा गरिने निर्वाचन आयुक्त शिवप्रसाद रिजालले बताएका छन् । निर्वाचनका सबै काम होटल हायात रेजेन्सीमा हुनेछ ।

उम्मेदवारको योग्यता

एनआरएनएको उम्मेदवार बन्नका लागि विधानले विभिन्न प्रकारका योग्यता तोकेको छ । विदेशमा दुई वर्ष वा त्योभन्दा बढी अवधि बसेको प्रमाणित हुने राहदानी र प्रवेशाज्ञा मनोनयनपत्र साथ पेश गर्नुपर्नेछ । त्यस्तै, कुनै राजनीतिक, जातीय वा धार्मिक संस्थाको कार्यकारी समितिको पदाधिकारी वा सदस्य धारण गरेको भए त्यो पद त्याग गरेको राजीनामा र स्वीकृत गरेको प्रमाण पनि पेश गर्नुपर्नेछ । कुनै समूह वा प्यानलका आधारमा चुनाव लड्न वा समूहगत रुपमा मतको आह्वान गर्न वा प्रचारप्रसार गर्न रोक लगाइए पनि अहिलेसम्म प्यानल बनाउने छलफल चलिरहेका छन् ।

एनआरएनएको परिवर्तित विधानअनुसार अध्यक्षसहित १३ पदमा ३९ जना पदाधिकारी निर्वाचित हुनेछन् । अधिवेशनबाट अध्यक्ष १, उपाध्यक्ष २, महिला उपाध्यक्ष १, महासचिव १, सचिव २, कोषाध्यक्ष १, सहकोषाध्यक्ष १, महिला संयोजक १, युवा संयोजक १, क्षेत्रीय संयोजक ६, क्षेत्रीय उपसंयोजक कम्तीमा ६ (विधानअनुसार उपसंयोजक १० भन्दा कम एनसीसी भएका क्षेत्रमा १ र १० वा १० भन्दा बढी एनसीसी भएका क्षेत्रमा दुई जना उपसंयोजक रहनेछन् ।), क्षेत्रीय महिला उपसंयोजक ६, क्षेत्रीय युवा उपसंयोजक ६ जना निर्वाचित हुनेछन् ।

निर्वाचनका लागि मनोनयन दर्ता शुल्क पनि सार्वजनिक गरिएको छ । अध्यक्ष पदका लागि ४ हजार ५ सय अमेरिकी डलर, उपाध्यक्ष तथा महासचिव पदका लागि ३ हजार ७ सय ५० अमेरिकी डलर, सचिव तथा कोषाध्यक्षका लागि ३ हजार अमेरिकी डलर, सहकोषाध्यक्षका लागि २ हजार ६ सय २५, महिला, युवा तथा क्षेत्रीय संयोजकका लागि २ हजार २ सय ५०, क्षेत्रीय उपसंयोजकका लागि १ हजार ५ सय अमेरिकी डलर र महिला तथा युवा क्षेत्रीय उपसंयोजकका लागि १ हजार अमेरिकी डलर तय गरिएको छ ।

क–कसले गरे उम्मेदवारी घोषणा ?

एनआरएनएको आगामी नेतृत्वका लागि उम्मेदवारी घोषणा धमाधम भैरहेको छ । अध्यक्षका लागि वर्तमान उपाध्यक्ष भवन भट्ट र पूर्व प्रत्यासी टीबी कार्कीले उम्मेदवारी घोषणा गरिसकेका छन् । वर्तमान अध्यक्ष शेष घलेकी पत्नी जमुना गुरुङले पनि उम्मेदवारी घोषणा गर्ने वा नगर्ने भन्ने विषयमा परामर्श तीव्र पारेकी छन् । उनले विभिन्न एनसीसीबाट आएका प्रतिनिधि र उम्मेदवारी घोषणा गरिरहेका व्यक्तिसँग छलफललाई तीव्रता दिएकी छन् । स्रोतका अनुसार उनले जित्ने अवस्था रहेमा अन्तिम समयमा भए पनि अध्यक्षको उम्मेदवार बन्ने बताएकी छन् । त्यस्तो अवस्था नभएमा उनी उपाध्यक्षमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् । वर्तमान अध्यक्ष घले पनि सबै क्षेत्रमा परामर्शमा जुटेका छन् । उनले जित्ने अवस्थाका लागि अन्तिम कसरत गरिरहेका छन् । भट्टलाई अर्का उपाध्यक्ष कुमार पन्तले साथ दिएपछि घलेले चुनावी रणनीति बनाइरहेका छन् ।

दुई खुल्ला उपाध्यक्ष र एक महिला उपाध्यक्षमा पनि धमाधम उम्मेदवारी घोषणा भइरहेको छ । अमेरिकाबाट सोनाम लामा र खगेन्द्र जिसीले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान उपाध्यक्ष पन्तले पनि फेरि उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । यूरोप क्षेत्रका संयोजक कुल आचार्यले पनि उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । कतारका नरेन्द्र भाट, जापानका चिरञ्जीवि थापा, जर्मनीका पुष्प थापाले समेत उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । एक महिला उपाध्यक्षका लागि मंगलबार बिहानसम्म महिला संयोजक सपिला राजभण्डारी र एनआरएनए प्रवक्ता रञ्जु थापाले उम्मेदवारी घोषणा गरेका छन् ।

महासचिवका लागि पनि विभिन्न व्यक्तिले उम्मेदवारी दिने चर्चा भइरहेको छ । अमेरिकाका एनआरएनए अध्यक्ष डा. केशव पौडेलले महासचिवमा उम्मेदवारी दिने चर्चा चले पनि अहिलेसम्म उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छैनन् । वर्तमान महासचिव डा. बद्री केसी र वर्तमान सचिव अर्जुनकुमार श्रेष्ठले भने उम्मेदवारी घोषणा गरेर प्रचारप्रसार गरिरहेका छन् । यूकेका त्रिलोक गुरुङ र डेनमार्कका सुमन थापाले पनि महासचिवमा उम्मेदवार बन्ने घोषणा गरेका छन् । दुई सचिवका लागि पनि विभिन्न व्यक्तिले उम्मेदवारी घोषणा गरेका छन् । बेल्जियमकी जानकी गुरुङ, अष्टे«लियाका गणेश केसी, यूकेका विश्वदीप तिगेला र महेन्द्रकुमार लम्साल, जर्मनीका सन्तोषकुमार भट्टराई र ओमानका डिबी क्षेत्रीले सचिव पदको उम्मेदवारी घोषणा गरेका छन् ।

कोषाध्यक्षका लागि पनि वर्तमान कोषाध्यक्ष हिक्मत थापा र यूकेका मुछेत्र गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनएको नयाँ पद सहकोषाध्यक्षमा डेनमार्कका सोम सापकोटा तथा अमेरिकाका डिल्ली भट्टराई र रामचन्द्र खरेलले उम्मेदवारी घोषणा गरेका छन् । महिला संयोजकमा बेल्जियमकी रजनी प्रधान, अष्ट्रेलियाकी भोमा लिम्बुले उम्मेदवारी घोषणा गरेका छन् । युवा संयोजकमा डेनमार्कका लोकराज शर्मा, अष्टे«लियाका प्रताप शाह, केदार जोशी र इजरायलका दीपक ओलीले पनि उम्मेदवारी घोषणा गरेका छन् । अमेरिकाको क्षेत्रीय संयोजकका लागि एसी शेर्पा अमेरिका, गिरी बुढाथोकी क्यानडा र श्री पराजुलीको चर्चा छ । उपसंयोजकमा नविन शेरचन र दील श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । विभिन्न क्षेत्रको संयोजक र उपसंयोजकका लागि पनि दर्जनौंले उम्मेदवारी घोषणा गरेका छन् ।

घले भर्सेस पूर्वअध्यक्ष

वर्तमान अध्यक्ष शेष घलेले सम्मेलनका क्रममा भिजन ट्वान्टी–ट्वान्टी पेश गर्ने तयारी गरेका छन् । यसको नीतिगत पक्षमा पूर्व अध्यक्षहरुले विरोध शुरु गरिसकेका छन् । घले पक्षधरले भने यसको खुलेरै बचाऊ गरेका छन् । नेतृत्वका लागि पनि संस्थापक अध्यक्ष उपेन्द्र महतो र पूर्वअध्यक्ष जीवा लामिछानेले उपाध्यक्षद्वय भवन भट्ट र कुमार पन्तलाई सहमतिमा ल्याएका छन् । सहमतिअनुसार भट्ट अहिले अध्यक्ष बन्ने र पन्त अर्को कार्यकालका लागि अध्यक्षमा प्रस्ताव गरिएको छ । त्यसैअनुसार एकले अध्यक्ष र अर्काले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । घले भने पत्नी जमुनालाई अध्यक्ष बनाउने गरी आन्तरिक छलफलमा छन् । पछिल्ला दुई कार्यकाल एनआरएनए घलेबाट मात्र सञ्चालन भएपछि महतो र लामिछाने जमुनालाई जसरी पनि नेतृत्वमा आउन रोक्नुपर्ने निष्कर्षमा पुगेका छन् ।

पूर्वअध्यक्ष महतो र लामिछानेको भन्दा राम्रो प्रभाव भएका घलेले अहिलेसम्म नेतृत्वका लागि कसैलाई पनि अगाडि सारेका छैनन् । उनी पर्ख र हेरको अवस्थामा रहेका छन् । औपचारिक रुपमा शेष घले पत्नी जमुनाले अहिलेसम्म अध्यक्षको दाबेदारी प्रस्तुत गरेकी छैनन् । उनले पत्रकारहरुसँग पनि औपचारिक रुपमा नेतृत्वका लागि नलागेको बताउने गरेकी छन् । तर, वर्तमान अध्यक्ष घलेका केही क्रियाकलाप र उनी निकट एनआरएनए नेताका भनाइले जमुना एनआरएनएको अध्यक्षको दौडमा छन् भन्ने कुरा बुझ्न सजिलो हुन्छ ।

संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने लगायत अहिलेका अधिकांश पदाधिकारीले जमुनालाई अगाडि सार्न खोजिएकोे भन्दै भित्रभित्रै मोर्चाबन्दी शुरु गरेका छन् । अध्यक्ष घलेले भिजन ट्वान्टी–ट्वान्टी डकुमेन्ट ल्याएर अध्यक्ष बलियो बनाउने अभियान थालेका छन् । जमुनालाई अध्यक्ष बनाउनका लागि भिजन ट्वान्टी–ट्वान्टी ल्याइएको भन्दै एनआरएनएको यूरोप बैठकमा पूर्वअध्यक्षसहितले त्यसको विरोध गरेका थिए । सम्मेलनका क्रममा पनि यसको विरोध गर्ने तयारी गरिएको छ ।

जमुना गुरुङ अध्यक्ष बन्ने सम्भावनाले पहिले बोलचालसमेत खासै नहुने पन्त र भट्ट मिलेरै चुनावमा होमिएका छन् । सहमतिअनुसार उम्मेदवारी घोषणासमेत भैसकेको छ । अर्को पटक भट्टले पन्तलाई अध्यक्ष बनाउनेगरी पूर्व अध्यक्ष जीवा लामिछानेको पहलमा सहमति भएको हो । तर, दोस्रो र तेस्रो तहको नेतृत्व मिलाउन भने समस्या परेको छ । जमुनालाई अध्यक्ष बन्नबाट रोक्नका लागि पूर्व अध्यक्षलगायत वर्तमान कार्यसमितिका अधिकांश पदाधिकारी लागिपरेका छन् । पहिले–पहिले नेतृत्वमा बस्न नमान्नेहरु अहिले लुछाचुँडीको अवस्थामा पुगेका छन् ।

‘विन’का लागि तीन फ्याक्टर

एनआरएनएको नेतृत्व चयनका लागि विभिन्न फ्याक्टरले काम गर्छ । तीमध्ये तीनवटा फ्याक्टर निकै महत्वपूर्ण छन् । सबैभन्दा बलियो फ्याक्टर चुनाव जित्नका लागि पैसा हो । मतदातालाई काठमाडौं ल्याउनुपर्ने, रजिष्टे«शन शुल्क आफैंले दिनुपर्ने र कतिपयलाई गाँसबासको समेत व्यवस्था गर्नुपर्ने अवस्था उम्मेदवारलाई बाध्यता पर्ने गरेको छ । अझै कतिपय देशमा त एनसीसी चुनावका लागि समेत केन्द्रीय अध्यक्षका आकांक्षीले खर्च दिनुपर्ने अवस्था आएको छ ।

अर्को फ्याक्टरको कुरा गर्दा एनआरएनएभित्र पछिल्लो समय राजनीति भित्रिएको छ । हरेक सदस्य कुनै न कुनै दलमा आबद्ध छन् । यस्तो अवस्थामा राजनीतिक दलको समर्थनले नेतृत्व चयनमा ठूलो अर्थ राख्नेछ । स्वदेशमा जस्तै विदेशमा पनि सबैभन्दा ठूलो संगठनको रुपमा नेपाली कांग्रेस, दोस्रोमा नेकपा एमाले र तेस्रोमा नेकपा माओवादी केन्द्रको प्रभाव छ । त्यसैले राजनीतिक नेतृत्वले दिने समर्थनले नेतृत्व चयनमा महत्वपूर्ण प्रभाव पर्छ । भट्ट पूर्वराजावादी हुन् । अर्का उम्मेदवार कार्की भने कमजोर उम्मेदवार हुन् ।

एनआरएनएको चुनावका लागि पछिल्लो समय जातीय फ्याक्टर पनि महत्वपूर्ण भएको छ । एनआरएनए बेलायत लगायत यूरोपका विभिन्न देशमा देखिएको जातीय प्रतिस्पर्धाले एनआरएनभित्र जातीय फ्याक्टरले चुनावमा जित–हारको टुंगो लाग्ने देखिन्छ । अहिले चर्चामा रहेका तीन उम्मेदवारमध्ये जनजातिको अधिकांश भोट जमुनाको पक्षमा जानेछ । यसले उनलाई जितका लागि सजिलो बनाउने छ भने जातीय फ्याक्टरमा समेत भट्ट कमजोर देखिएका छन् । एनआरएनका पूर्वअध्यक्ष देवमान हिराचन, संरक्षक दिल गुरुङ, अमेरिका संयोजक सोनाम लामा लगायतले खुलेरै घलेको पक्षमा अभियान चलाउने छन् ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनबाहेकका मुलुकमा रहेका नेपाली मूलका विदेशी नागरिक र विभिन्न कारणले गएका नेपाली नागरिकको संस्थाका रुपमा एनआरएनको स्थापना भएको हो । सन् २००४ मा स्थापना भएको एनआरएनएको सञ्जाल झण्डै ७६ देशमा पुगिसकेको छ । एनआरएन स्थापना ताका एक पटकको नेपाली सधैंको नेपाली नारा नेपाली डायस्पोरामा निकै लोकप्रिय थियो । अहिले यो नारा लगभग हराएको छ । एनआरएनएमा राजनीतिक अधिकारसहितको नेपाली नागरिकता प्राप्ति, नेपालमा लगानी गर्न पाउनुपर्ने, एनआरएनए कार्ड जारी गर्नुपर्ने लगायतका विषयलाई मुख्य सैद्धान्तिक मुद्दा बनाइएको थियो । एकपछि अर्को गर्दै यी माग आंशिक पूरा भएका छन् । नेपालको संविधानले राजनीतिक अधिकारविहीन नागरिकता अर्थात् गैरआवासीय नागरिकता पाउने बाटो खोलेको छ । अहिले एनआरएनएका नेताहरुलाई मुख्य उद्देश्य के हो भनेर सोध्दा फरक फरक उत्तर दिन्छन् । किनकी निश्चित तथा साझा उद्देश्य एनआरएनएले प्रष्ट पार्न सकेको छैन ।

बुधबार, अशोज २५, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री