कौशी खेती

बजारमा तरकारी मूल्य आकासिएको छ। व्यापारीहरूले किसानको खेतबाट खरिद गर्दाको मूल्यमा दुईगुनाले वृद्धि गरी उपभोक्तालाई बेच्दै आएका छन्।
अहिलेको महंगीमा दैनिक तरकारी किनेर खान निकै समस्या परेको छ। हामी उपभोक्ताले तरकारी किलोमा होइन पाउमा मात्रै सोध्नुपर्ने बाध्यता भइसकेको छ।
तरकारीको मूल्य पसलै पिच्छे फरक फरक हुन्छ। महंगो गरी किनेको तरकारी पनि स्वस्थकर हुँदैन। नत यसको स्वाद हुन्छ नत स्वस्थकर नै। विशेष गरेर सहरका बासिन्दालाई विषाधीयुक्त तरकारीले स्वास्थ्यमा गम्भीर समस्या पार्ने खतरा बढ्दै गएको छ।
तरकारीको गुणस्तर नाप्ने कुनै निकाय छैन। बेलाबखत अनुगमन त गरिन्छ तर यसले निरन्तरता पाउदैन। यस्ता समस्याबाट बच्न आफैं सतर्क हुनुनै उत्तम हुन्छ। सहरमा आफ्नै घर हुनेले कौशी खेती गर्न सके तरकारीका लागि बजारको भर पर्नुपर्ने कम हुन्छ। साथै स्वस्थ्यकर र अर्गानिक तरकारी घरमै फलाउन सकिन्छ।घरमा थोरै मात्र खाली ठाउँ छ भने पनि गमलामा तरकारी लगाएर त्यो जग्गाको सदुपयोग गर्न सकिन्छ।
के हो कौशी खेती?

कौशी खेती परम्परागत तरिकाले घरको छतमा गमलामा तरकारी रोपेर गरिने खेती हो। परम्परागत तरिकाले गरिएको कौशी खेतीमा थोरै नयाँ प्रविधिको प्रयोग गरिएको हुन्छ। केही नयाँ अनुसन्धान गरेर नयाँ तरिकाले कौशी खेती गर्न सकिने कौशी खेतीका प्रवर्तक एवम् सलुम एग्रिकल्चरका सञ्चालक श्रीकृष्ण अधिकारीले सेतोपाटीलाई बताए।
‘हामीले परम्परागत तरिकाले कौशी खेती गर्दा माटो अथवा सिमेन्टका गह्रौं(गह्रौं गमला छतमा राखेर गरिन्थ्यो। यसमा धेरै तौल भएकाले घरलाई असर पर्ने, भूकम्पको समयमा खस्न सक्ने हावाहुरीको समयमा अरू समस्या आउनसक्ने हुन्थ्यो। अहिलेको नयाँ प्रविधि अन्तर्गत गमलामा तरकारी खेती गर्दा यो समस्या आउँदैन,’ उनले भने।
अहिले गरिने कौशी खेती इजरायलबाट भित्रिएको हो। ‘मैले इजरायल बस्दा यस्तो काम गरेको थिएँ। यसमा पिभिसि अथवा पोली ब्याग वा गमलामा नरिवलको जटाको धुलो ९कोकोपिट० राखिन्छ,’ उनले भने, ‘बिरुवालाई आवश्यक मलखाद कम्पोष्ट मल या रसायनिक मल, पोटासहरू हालेर बिरुवा सार्न सकिन्छ।’
यो नयाँ तरिकाले खेती गरेमा बिरूवा बढ्न सहयोग पुर्‍याउँछ। कोकोपिट आफैंमा खुकुलो चिज भएकाले यसले जरा बड्न र जरालाई अक्सिजन लिनलाई सहयोग गर्छ।
कसरी गर्ने कौशी खेतीरु

गमलामा कोकोपिट र मलखादको सम्मिश्रण गराएर तरकारीको बिरुवा लगाउन सकिन्छ। एक पटक प्रयोग गरेको कोकोपिटलाई तीन चार पटकसम्म प्रयोग गर्न सकिने अधिकारीको भनाई छ। ‘कोकोपिटमा अरू मलखाद थपेर हामीले तीन चार पटकसम्म प्रयोग गर्न सकिन्छ। यसो गर्दा झार नउम्रिने थोरै पानीमा पनि चिस्यान रहिरहने हुँदा कौंशीमा तरकारी खेती गर्दा राम्रो हुन्छ,’अधिकारीले भने।
बढ्दो छ यसको प्रयोग

अहिले कौशी खेती गर्नैक्रम दिनहुँ बढिरहेको छ। ‘जसले कौशी खेतीबारे बुझ्नुभएको छ उहाँहरूले निरन्तरता दिनुभएको छ। पाँचवटा गमलामा तरकारी खेती गर्नेले अहिले दशदेखि पन्ध्र वटासम्मा गरिहरेका छन्,’अधिकारीले आफ्नो अनुभव सुनाए।
गमलामै अब धनियाँ, साग जस्ता तरकारी लगाएर खान सकिने रहेछ भन्ने सहरमा घर भएकालाई परिसकेको छ। धेरैले यसको प्रयोग गरिरहेका पनि छन्। गमलामा तरकारी लगाए भान्साका लागि चाहिने कम्तिमा चालिस प्रतिशत तरकारी बजारमा किन्न नपर्ने अधिकारीको दाबी छ।
‘दैनिक प्रयोगमा आउने धनियाँलाई हामी बाह्रै महिना कौशीमा लगाउन सक्यौ भने बजारमा किन्न जानुपर्देन। चुँढेर काटेर हामीले पटक पटक धनियाको प्रयोग गर्न सक्छौ । त्यसैगरी सागजन्य सबै चिजहरु हामीले लगाउन सक्छौ। पाकचोय ९चाइनिज साग०, रायोको साग मुलाको साग, तोरी साग कुनै पनि किसिमका सागहरू कौशीमा लगाउन सकिन्छ।
दुई चार बोट गोलभेडा, खुर्सानी लगाउन सकिन्छ। यस्ता किसिमका तराकारीका लागि हामीले पसलमा किन्न जानु नपर्ने हुन्छ। त्यसका लागि कौशीमा उत्पादन गर्न सक्छौ।
साग, धनियाँ, प्याज, लसुन, गोलभेडा क्याप्सिकोन हामीले कौशीमै लगाउन सकिन्छ। अलि ठूलो खालको प्लान्टर ब्यागमा हामीले थाक्रा दिन सक्ने भए घिरौला करेलासमेत लगाउन सकिन्छ। त्यसैगरी चाइनिज फर्सीसमेत लगाउन सकिन्छ।
कौशी खेती गर्दा कति लाग्छ खर्चरु

एउटा गमलाको ५० देखि २ सय रूपैयासम्म पर्छ। प्लान्टर ब्यागमा तरकारी लगाए २० रूपैयादेखि २५ रूपैयाँसम्म पर्छ। त्यसमा मल खाद र विरूवाका लागि थप ५० रूपैयाँसम्म खर्च हुन्छ।
‘गमलामा गर्नेकि ब्यागमा गर्ने त्यसमा भरपर्छ गमलामा गर्ने हो भने गमलाको मूल्य २ सय परे पनि हामीले त्यसलाई चार वर्षसम्म प्रयोग गर्न सकिन्छ। यदि २ सयको गमलामा तरकारी लगाएमा २ सय ५० रूपैया खर्च हुन्छ। एक सय रूपैयाको गमलामा १ सय ५० खर्च हुन्छ। गमला कस्तो खालको प्रयोग गर्ने हो त्यसमा भरपर्छ, ’ अधिकारी भन्छन् ।
कोकोपिट खादिएर आएको हुन्छ त्यसलाई चिस्याउन पर्छ। भिजाएपछि त्यो फुल्छ अनि त्यसमा बिरुवालाई चाहिने आबश्यक मलखाद भरेर राख्नुपर्छ। त्यसलाई एकै ठाउँमा मिलाएर मोल्दै गमालामा भर्नुपर्छ।
५० रूपैयाको गमलामा पनि गर्न सकिन्छ। सय रूपैयामा त राम्रै खालको गमला पाइन्छ। बिरुवालाई उमेर अनुसारको मलखाद पुर्‍याउँदै जानुपर्ने अधिकारीको सुझाव छ। त्यसको लागि सानो गमलामा पनि खेती गर्न सकिन्छ।
‘कोकोपिट थरी थरीको पाइन्छ एक खालको कोकोपिट अलि कमसल खालको छ। नरिबलको जटा रेसाहरु अलि धेरै हुन्छ। एक केजीको ६० रूपैयादेखि १ सय ५० रुपैयासम्म पर्छ। एक केजी कोकोपिटमा पानी हालेपछि त्यो फुलेर ८ केजीसम्म हुन्छ। त्यती कोकोपिटले तीन वटासम्म सय रुपैया पर्ने गमलामा भर्न सकिन्छ,’ अधिकारीले भने।
तरकारी रोपेको गमला घरको जुनसुकै ठाउँमा पनि राख्न सकिन्छ। सूर्यको किरण पुगेको जुनसुकै ठाउँ पनि यसका लागि उपयुक्त हुन्छ। कौशीमा झ्यालको छेउमा जता पनि राख्न सकिन्छ तर सूर्यको प्रकाश भने छिर्नुपर्छ। यसका लागि सूर्यको प्रकाश जरूरी छ।
कौशी खेती अभियान नै चलाउनुपर्छ

कौशी खेतीलाई अभियानका रुपमा चलाउनुपर्ने अधिकारिको तर्क छ। ‘गमलामा खेती त सबैले गरेका छन्। तर, यस्तो प्रविधि प्रयोग गरेर तरकारी खेती गर्दा सुरुवातमा लगानी अलिकति धेरै लागे पनि यसले बिस्तारै लगानी उठाउँदै जान्छ,’ अधिकारी भन्छन् ‘यसले व्यक्तिको घाटा त कम गर्छ नै अन्ततः सरकारलाई पनि यो घाटा कम हुँदै जान्छ।’
कौशीमा तरकारी खेती गर्ने सरकारी तवरबाटै प्रयास थाल्नुपर्ने अधिकारीको भनाई छ। ‘सरकारले गमला, कोकोपिट र मलखादमा अनुदान दिएर सहरका उपभोक्तामाथि लगानी गरे तरकारीका लागि आत्मनिर्भर बन्न सहयोग पुग्छ।’
उनले सहरका हरेक घरमा खाली रहेको जग्गा र छतमा गमला राखेर तरकारी खेती गर्ने अभियान सुरू गरे तरकारीमा गरिने खर्च केही हदसम्म कम हुने बताए।
‍स्वस्थ्य र विषाधिरहित अर्गानिक तरकारी आफ्नै घरमा फलाउन सके तरकारीको परनिर्भर कम हुन्छ। यसले घरको सौन्दर्य पनि बढाउँछ र आर्थिक घाटा पनि कम गर्न सहयोग गर्छ।

मङ्लबार, अशोज २४, २०७४ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री