अर्जेन्टिनाको अन्तिम चुनौती

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० आश्विन २०७४, शुक्रबार ०८:०४

विश्वकप यात्रामा धरमराएको अर्जेन्टिना बिहीबार फर्ममा रहेको पेरुसँग ब्युनर्स आयर्समा भिड्दै छ । नामका हिसाबमा एक से एक खेलाडी रहे पनि दुई वर्षअघि सुरु भएको छनोट यात्रामा २०१४ को विश्वकप उपविजेता अर्जेन्टिनाले निराशाजनक प्रदर्शन गर्दै आएको छ ।

लियोनल मेसीको नेतृत्वमा रहेको दुईपटकको विश्व च्याम्पियन अर्जेन्टिनाले छनोट चरणका १६ खेलमा केबल १६ गोल गरेको छ । यो तथ्यांक अर्को वर्ष रुसमा हुने विश्वकपको दौडबाट बाहिरिसकेको बोलिभियाको जत्तिकै हो । अर्थात अर्जेन्टिना र बोलिभियाले दक्षिण अमेरिकी विश्वकप छनोटमा सबैभन्दा कम गोल गरेका छन् ।

विश्वकप छनोटमा पछिल्लोपटक खेल्दा अर्जेन्टिनाले निराशाजनक रूपमा भेनेजुएलासँग १–१ को बराबरी नतिजा मात्र निकालेको थियो । यस नतिजाले अर्जेन्टिनाको सोझै विश्वकपमा पुग्ने आशामा ठूलो वज्रपात परेको थियो । पेरुपछि पाँचौं स्थानमा रहेको अर्जेन्टिनाले इक्वेडरसँग छनोट चरणको अन्तिम खेल खेल्दै छ । दक्षिण अमेरिकी क्षेत्रका १० मध्ये शीर्ष चार टोली विश्वकपमा सोझै छनोट हुनेछन् ।

पाँचौं स्थानमै रही छनोट चरणको यात्रा टुंगाएमा अर्जेन्टिनाले न्युजिल्यान्डसँग प्ले–अफमा खेल्नुपर्ने हुन्छ, जसमा अर्जेन्टिना ढुक्क हुने स्थिति रहँदैन । दक्षिण अमेरिका क्षेत्रको पाँचौं स्थानमा रहने र ओसियानाको च्याम्पियनले दुई लेगको प्ले–अफमा खेलेपछि विजेता विश्वकपमा पुग्ने प्रावधान छ ।

दक्षिण अमेरिकन च्याम्पियन चिली अहिले अर्जेन्टिनाभन्दा एक स्थानमुनि छ । चिलीले घरेलु मैदानमा हुने इक्वेडरविरुद्धको खेल जितेमा तथा चौथो स्थानमा रहेको पेरुले अर्जेन्टिनासँग अंक खोसेमा अर्जेन्टिना अन्तिम चरणको खेलअघि प्ले–अफ स्थानबाट पनि बाहिर हुनेछ । यस्तो अवस्थामा अर्जेन्टिनाले पेरुसँगको खेलमा सबै शक्ति प्रयोग गर्नेछ । पेरुले उरुग्वे, बोलिभिया र इक्वेडरमाथि लगातार जित हात पारेको थियो ।

मैदान परिवर्तनको विरोध

अर्जेन्टिना–पेरुबीचको खेल बोका जुनियर्सको ला बोमबोनेरा मैदानमा सारिएको छ । यो मैदानको स्वरूप सामान्यभन्दा अलि भीड देखिन्छ र ४९ हजार दर्शक क्षमता भएको यस मैदानमा घरेलु टोलीलाई दर्शकले नजिकबाट समर्थन गर्न पाउँदा फाइदा पुग्ने सम्भावना देखिन्छ । गत महिना पेरुले सुरक्षित मैदानमा खेल सार्नका लागि विश्व फुटबल महासंघलाई अनुरोध गरेको थियो । २०१५ मा कोपा लिबेर्टाडोरेज कपको एक खेलमा रिभर प्लेटका खेलाडीमाथि टियर ग्यास जस्तै देखिने वस्तु प्रहार गरेपछि यो मैदान निलम्बनमा परेको थियो ।

संयोग के छ भने यही मैदान पेरुका लागि विगतमा भाग्यमानी साबित भएको थियो । सन् १९६९ मा ला बोमबोनेरामा पेरुले २–२ को बराबरी नतिजा निकालेपछि टोली अर्जेन्टिनालाई पछाडि पार्दै १९७० को विश्वकपमा छनोट भएको थियो । अर्जेन्टिना पछिल्लोपटक विश्वकपमा छनोट नभएको यही बेला थियो ।

ला बोमबोनेरामा खेल सारिएपछि अर्जेन्टिनाले कस्तो खेल्छ त्यो हेर्न बाँकी छ । नयाँ प्रशिक्षक जोर्गे साम्पाउलीको नेतृत्वमा अर्जेन्टिनाले पछिल्ला दुई खेलमा उरुग्वे र भेनेजुएलासँग बराबरीको नतिजामात्र निकाल्न सकेको थियो । जारी छनोट यात्रामा साम्पाउली अर्जेन्टिनाले ल्याएको तेस्रो प्रशिक्षक हुन् ।

अर्जेन्टिनाले १९७८ को विश्वकप जित्दाका स्टार हुन् मारियो केम्पस । मेसी, पाउलो डिबाला, माउरो इकार्डी, एन्जल डी मारिया जस्ता खेलाडीले किन आफ्नो प्रभाव देखाउन सक्दैनन् भनेर समर्थकको आवाजमा उनले बल पुर्‍याएका थिए । ‘जब उनीहरू अर्जेन्टिनाको जर्सी लगाउँछन्, त्यसपछि उनीहरू तत्कालै फुटबल कसरी खेल्ने भनेर बिर्सिन्छन्,’ हालैको एक अन्तर्वार्तामा केम्पसले आक्रोश पोखेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१