१० विगाहा जमिनमा यसरी सुरु भयो केरा खेती

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ आश्विन २०७४, मंगलवार ०६:२८

दाङ । दाङको तुलसीपुरका एक व्यक्तिले १० बिगाहा जमिनमा व्यावसायिक केराखेती शुरु गरेका छन् । तुलसीपुर–१६ बैचपुरका रुद्रमणि लम्सालले तुलसीपुर–१६ बैचपुरमा केराखेतीको व्यावसायिक केरा खेती सुरु गरेका हुन् । आफ्नो पाँच बिगाहा जमिन र पाँच बिगाहा जमिन भाडामा लिएर केराखेती शुरु गरेको लम्सालले बताए ।

लम्सालले हाल सात बिगाहा क्षेत्रफलमा साढे एघार हजार जिनाइन जातको केराको बिरुवा लगाएका छन् । बाँकी तीन बिगाहामा केरा लगाउने तयारी गर्दै गरेको उनले बताए । अहिलेसम्म ४९ लाख रुपैंया लगानी गरेका लम्सालले सात जनालाई रोजगारी समेत दिएका छन् ।

लम्साल भन्छन्, “जागिर खानु र विदेशमा पसिना बगाउनुभन्दा आफ्नै गाउँमा केही नमूनायोग्य काम गर्ने उद्देश्यले केराखेती शुरु गरेको छु । अबको एक वर्षमा यसबाट राम्रो आम्दानी हुने आशा छ ।”

दाङमा केराखेतीका लागि अनुकूल मौसम छ र यहाँ एक बिगाहामा ३० टन केरा उत्पादन हुने गर्छ । दाङमा व्यावसायिक केराखेती नहुँदा अन्य जिल्लाबाट केरा आयात हुने गरेको छ । लम्सालका अनुसार दाङलाई केराखेतीमा आत्मनिर्भर बनाउन सकिन्छ । पाँच बिगाहा जमिनमा थोपा सिँचाइबाट र पाँच बिगाहा जमिनमा परम्परागत सिँचाइ हुने व्यवस्था मिलाएका लम्साल भन्छन्, “राम्रोसँग केरा फलेमा एककट्ठा जमिनबाट वार्षिक १० हजारसम्म आम्दानी लिन सकिन्छ ।

लम्सालले टिस्यूकल्चरबाट उत्पादित केराको बेर्ना १० बिगाहा जमिनमा लगाउने र बाँकी बाहिर बिक्री गर्ने योजना रहेको बताए ।

दाङमा ४०० हेक्टर जमिनमा केराखेती हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । बागवानी विकास अधिकृत धनराज गौतमका अनुुसार १५ प्रतिशत केरा दाङमा उत्पादन हुने र अन्य बाहिरी जिल्लाबाट आयात गरी पूर्ति गर्ने गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१