सद्भावको पर्व दशैँ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ आश्विन २०७४, सोमबार ०५:२५

– रघु पन्त । समयले कोल्टे फेरिँदै जान्छ जिन्दगीका रङ्गहरू । चाड–पर्व र संस्कृतिका अनेकौं रूप र पक्षहरू परिवर्तन हुँदै जान्छन् । जीवनसँगै गतिशील हुँदै अघि बढ्दा चाड–पर्वहरू जड भएर एकै रूपमा रहँदैनन् । कतिपय हराउँदै जान्छन् भने कतिपयले नयाँ अर्थबोध र स्वादसँगै आफूलाई जीवन्त राख्छन् । यस्तै आयाम, सन्दर्भ, अर्थ र रूप भएको चाड हो; दशैँ । भिन्न धर्म, संस्कृति, भाषा र भेगका नेपालीहरूले साझ रूपमा मनाउने दशैँलाई हिन्दूवादी आँखाबाट मात्र हेर्नु उपयुक्त हुँदैन ।

उपत्यकामा नेवारहरूले ‘मोहनी’ भनेर मनाउने दशैँको मोहिनी रूप अर्कै छ । हिन्दू हुन् या बौद्ध नेवारहरूले आफ्नै सांस्कृतिक विविधताभित्र दशैँलाई छुट्टै सुन्दरता र विशिष्टता दिएका छन् । उपत्यकाका शोभा भगवती, तलेजु भवानी, नरदेवी, रक्तकाली, इन्द्रायणी, गुह्येश्वरी, मैतीदेवी, रुद्रायणीलगायत अनेकौँ देवी मन्दिरहरूमा नवरात्रभर भीड लाग्छ । देवी भगवती या दुर्गा माताका रूपमा देशैभरि मातृसत्ता र स्त्री शक्ति पुजिन्छ । यो महिमा र गरिमा वर्णनले नेपाली समाजको ऐतिहासिक कालखण्डमा नारीहरूले खेलेका भूमिकाको अन्वेषण गर्नुपर्ने आवश्यकता पनि देखाउँछ । नेपाली समाज विकासको क्रममा ‘देवी’ र ‘भगवती’का रूपमा पुजिएका नारीहरूबारे समाजशास्त्रीय खोजबिनको आवश्यकताबोध हुन्छ । स्त्री शक्ति, कृषि जीवन र त्यससँग सम्बन्धित विभिन्न पक्षहरूको दशैँमा सम्मिश्रण भएको छ । यसलाई हेर्दा दशैँ हिन्दूहरूको मात्र चाड भनेर साँघु¥याउन मिल्ने देखिँदैन । दशैँमा त्यसै पनि अनार्य र जनजातिपनको स्वाद कम छैन ।

विद्वान्हरूका अनुसार ‘नेपाल’ भन्ने भूगोल, शब्द र अर्थ अस्तित्वमा आएको हजार वर्षभन्दा पहिल्यै हो, दशैँ पनि संभवतः त्यसैबेलादेखि मानिँदै आएको हुनुपर्छ । नेपालमा अनेकौँ जाति र धर्मावलम्बीहरू आउने क्रममा दशैंको स्वरूपमा परिवर्तन हुँदै आएको हुनुपर्छ । मगर–गुरुङलगायत विभिन्न जनजातिहरूको विशिष्टतासँग नेवार, बाहुन–क्षत्रीहरूका संस्कृतिसमेत मिलेर दशैँले साझ पर्वको रूप लिँदै–लिँदै आएको छ । नेपालका मगर, गुरुङ, राई–लिम्बू, थारू, नेवार, बाहुन, क्षत्रीलगायतका जातिमा जस्तो चामलको टीका र जमरा लगाउने चलन संसारका अन्य कुनै जाति वा हिन्दूहरूमा देखिँदैन । त्यसैले पनि यो ‘नेपालीहरूको पर्व’ हो ।

सांस्कृतिक मोहकता

मालश्री रागले विछट्टै मोहक बन्दै जाने दशैँमा मादल, टीका, जमरा आदि थपिँदै जान्छ । उपत्यकाका चोक–चोक र भजनखलहरूमा ज्यापू समुदायको समृद्ध साङ्गीतिक झ्ंकारले विशिष्ट नेपाली संस्कृतिको मोहकता छरिरहेका हुन्छन् । भूपि शेरचनले ‘शुभ्र–शान्त र स्निग्ध शिखा मैनबत्तीको’ भनेर कविता लेखे जस्तै ‘शुभ्र, शान्त र स्निग्ध’ हुन्छ दशैँताका नेपाल । शिरमा सेतो हिमाल, काँधभरि हरिया पहाड र धानले पहेँलपुर मधेशमा फिजिएको नेपाल विश्व सौन्दर्य प्रतियोगिता जितेकी सुन्दरीजस्तै देखिन्छ, दशैँताका । बर्खाभर मेघले सबै पानी धर्तीमा खन्याइसकेकाले दशैँताका आकाश कञ्चन भइसकेको हुन्छ । नीलो आकाशमा कावा खाइरहेका चङ्गाहरू जस्तै मन पनि उड्न थाल्छ । यसबेला प्रकृति नै सुन्दर, स्निग्ध र स्वच्छ हुन्छिन् ।

बर्खाको बिदाइ र शरदको आगमनसँगै देखापर्ने शारदीय शान्त वातावरणमा आउने दशैँसँग नयाँ बाली भिœयाउन ठिक्क परेका जनताको हर्ष मिसिन्छ । पहाड होस् या तराई अहिले पनि धान नेपालको मुख्य खाद्यान्न बाली हो । दशैँताका सुन फलेझ्ैँ खेतका गरा र समथर फाँटहरूमा पहेँलै भएर धान झ्ुलिरहेका हुन्छन् । सिङ्गै नेपाल गाइरहेको हुन्छ– ‘धानको बाला झ्ुल्यो हजुर देशै रमाइलो ।’ देशै रमाइलो भइरहेको समयमा दशैँ ठ्याक्क हाम्रो आँगनमा झ्ुल्कन्छ, घरभित्र पस्छ, चोटा–कोठामा डुल्छ र मनहरूमा उमङ्ग जगाइदिन्छ ।

कमाउन देश–विदेश गएका ‘लाहुरे’हरूले घर फर्कने र सबैभन्दा बढी घर सम्झ्ने बेला दशैँ नै हो । हजुरबा र हजुरआमाहरू आफूसँगै भएका सन्तानका बगाललाई वरिपरि राखेर टीका र जमरासँगै आसिक दिएर दङ्ग पर्ने बेला हो दशैँ । ती पाका पुरानाहरू छोरा–बुहारी, छोरी–ज्वाईं, भाञ्जाचेला, भाइभतिज, नाति–नातिना आदिलाई टीकासँगै सुखद् भविष्यको आशीर्वाद दिन दशैँ पर्खेर बसेका हुन्छन् । बाजे–बज्यै, बाबु–आमा नभएकाहरू अपूर्णता, रित्तोपन र उदासी अनुभव गर्छन् । उनीहरूले ठूलो बाबु–ठूली आमा, काका–काकी, मामा–माइजू, दाजु–भाउजूको हातको टीका थापेर आपसी सम्बन्धलाई हार्दिक र जीवन्त पार्छन् ।

वर्षाले भित्रैसम्म रुझएको वन–जङ्गल शारदीय घाम तापेर न्यानो अनुभूति गरिरहेको हुन्छ दशैँको बेलामा । मौसम परिवर्तन र चाड–पर्वहरूसँग मान्छेका दैनन्दिन अभिन्न रूपले गाँसिएका छन् । दशैँमा मानो खाएर मुरी उब्जाउने बर्खाको थकानलाई मिठोमसिनो खाँदै आफन्तबीच रमाएर मेट्ने र हिउँदलाई स्वागतको तयारी गर्छन्, नेपालीहरू । दशैँ नेपालीहरूलाई मोहक रूपले जोड्ने, अभिभूत पार्ने, भित्रैदेखि व्यथित र आनन्दित पार्ने अनौठो चाड हो ।

दशैँ खर्च गर्ने बेला पनि हो । वर्षभरि साँचेको नगदले मन फुकाएर उपभोगका सामग्री जुटाउने यो चाडले नेपाली अर्थतन्त्रको गतिलाई अलि वेगले अघि बढाउँछ । पैसा बजारमा आउँछ । अन्न, फलफूल, माछा, मासु, दूध, दही, लत्ताकपडा र अन्य उपभोगका सामग्री घर–घर पुग्छन् । त्यसैले जनताको आय बढेकै हदमा दशैँ आनन्ददायी हुन्छ । त्यसैले समाजलाई असमानता, द्वन्द्व र विभाजनबाट मुक्त बनाउने प्रयत्नको अवसर बनाउनुपर्छ दशैँलाई ।

दशैँसँग अनेकौं मिथक र बिम्बहरू जोडिएका छन् । अन्यायमाथि न्यायको विजयको कथा पनि दशैँसँग जोडिएको छ । त्यसैले हामीलाई थोरैका लागि होइन सबै नेपालीका लागि लाउन, खान हाँस्न र रमाउन पुग्ने दशैँ चाहिएको छ । त्यस्तो अवस्था ल्याउने हामीले नै हो । गरिबी, अभाव, असमानता र विभेद भएकैले हामीलाई समानता, स्वतन्त्रता, अधिकार र समृद्धि चाहिएको हो । दशैँले अन्याय विरुद्ध विद्रोह गरेर विजय प्राप्तिको सन्देश दिन्छ । र, दिन्छ सबैको जीवनमा सुख, समृद्धि र उल्लासको सन्देश ।

नेपाल जोड्ने सूत्र

मेची–काली मनाइने यो पर्वले ठाउँ–ठाउँमा आत्मसात् गरेको आ–आफ्नै जातीय र सांस्कृतिक सुगन्धलाई अझ् व्यापक पार्नुपर्छ । बाहुन–क्षत्री आदिको बडादशैँ, नेवारहरूको ‘मोहनी’, तराईको दशैँ र कोजगरा (कोजाग्रत) तथा मगर, गुरुङ, राई, लिम्बू, थारूलगायतको दशैँका कतिपय कुरा मिल्छन्, कतिपय फरक छन्, बगैँचाका अनेकौं थरी फूलहरू जस्तै । सबैका आ–आफ्नै सन्दर्भ, परम्परा र सांस्कृतिक विशेषताहरू छन् । सबै जातजातिका विविधता र विशिष्टतालाई आत्मसात् गरेर नै दशैँ सबै नेपालीको साझ खुसीको पर्व बनेको हो । नेपालीहरूलाई जोड्ने सांस्कृतिक सूत्रहरू भनेका हाम्रा चाडपर्वहरू हुन् । बहुभाषिक–बहुधार्मिक र बहुजातीय नेपालमा विभिन्न जातीय समुदायका आ–आफ्ना चाडपर्वहरू छन् । ती सबै हाम्रा साझ सांस्कृतिक सम्पदा र इतिहासले उत्तराधिकारमा दिएका विशिष्टताहरू हुन् । तिनलाई फराकिलो दिलले आत्मसात् गर्नुपर्दछ । दशैँ त्यस्तै एउटा प्रमुख सांस्कृतिक पर्व हो जसलाई नेपालीहरूले एउटा साझ चाडका रूपमा अघि बढाउँदै आएका छन् ।

परिवार, आफन्तजन र गाउँलेहरूसँग भलाकुसारी गर्न नपाएर तिर्खाएकाहरू जुनसुकै जाति वा क्षेत्रका हुन्, अहिले धमाधम आ–आफ्ना वस्तीतिर फर्कंदैछन् । यो पुनित अवसरमा अभावलाई जितौं, अपूर्णतालाई परास्त गरौं । थकान, पीडा र शोकलाई हर्षमा परिणत गरौं । परिवार र समुदायको आनन्दका लागि लगाइएका बाली र पालिएका पशु धनहरूलाई ठीक ढङ्गले उपभोग गरौं । जाँगर र सीपले आर्जन गरेका सुन्दर कपडाहरू लगाऔं । मादलका ताल र गीतका भाकाहरूमा नाचौं । जीवनका हर्ष, उल्लास र उमङ्गहरूलाई राम्ररी आत्मसात् गरौं । स्नेह र सद्भावका नरम हातहरूले नेपाली समाजलाई सुम्सुम्याऊँ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१