डा. भोलाको गीतमा छोरा कपिलको निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ आश्विन २०७४, मंगलवार ०५:५६

काठमाडौं ।  पेशाले दन्त चिकित्सक डा. कपिल रिजालको निर्देशनमा तयार भएका दुई गीतको म्युजिकको भिडियो सार्वजनिक गरिएको छ । आइतबार एक कार्यक्रममा रामकृष्ण ढकाल र तारा रिजालको स्वरमा सजिएका दुई भिडियो सार्वजनिक गरिएको हो।

रामकृष्ण ढकालको स्वरमा सजिएको गीतको रचना डा. भोला रिजालले गरेका हुन् भने तारा रिजालले नारायण गोपालले गाएको गीत कभर गरेकी हुन् । डा.कपिल गीतकार भोला रिजालका छोरा हुन्। उनले बुबाकै प्रेरणाले संगीत निकट रहेको बताए।

‘बुबाको संगतकै कारण गीतसंगीतमा सानैदेखि रुची थियो। कामको सिलसिलामा लन्डनमा बसे पनि नेपाली गीत, संगीत र फिल्म प्रति रुची उस्तै छ,’दुई वर्षअघि रिलिज भुवन केसी निर्देशित फिल्म ‘ड्रिम्स’को निर्मातासमेत रहेका उनले भने,‘मैले अहिलेसम्म निर्माण गरेका आधा दर्जन बढी म्युजिक भिडियो भन्दा यो भिडियो अलिक पृथक किसिमको छ ।’ उनले भिडियोले परिवारको बीचमा संवाद कम हुनुमा नयाँ पुस्ता वा पुरानो पुस्ताभन्दा पनि समयका कारण ‘ग्याप’ भइरहेको अवस्थालाई चित्रण गरेको बताए।‘भिडियोको कथा आफ्नै अनुभवबाट सिर्जितभन्दा पनि हुन्छ । मैंले चाहेर पनि बुबा वा ममीलाई समय दिन सक्दिन तर यसको मतलब यो होइन कि उहाँहरूलाई आदर गर्दिन । भिडियो पनि हामीले यस्तै थिममा बनाएका छौं,’ डा.कपिलले भने।

बाबु, छोरा र नाति पुस्ताको सम्बन्धलाई देखाउने भिडियोमा नातिसँग रमाउने हजुरबुवा र हजुरबुवाप्रति उनका छोराले गर्ने व्यवहारको विषयलाई संयोगान्त रुपमा प्रस्तुत गरिएको छ । भिडियोमा अभिनेता सरोज खनाल हजुरबुवा, जीवन भट्टराई छोरा, सुरबिना कार्की बुहारी र बाल कलाकार कुसाग्र भट्टराईले नातिको भूमिकामा अभिनय गरेका छन्।

शिखर सन्तोषको संगीतमा रामकृष्ण ढकालले स्वर दिएको गीतको भिडियोमा टेकेन्द्र शाहको सम्पादन र सुदिप बरालको छायांकन छ। गीतकार डा. रिजालले विषम परिस्थितिमा आफूले गीत सिर्जना गरेको बताए। ‘यो गीतको रेकर्ड गर्दा गायक रामकृष्णले रेकर्डिङ लगत्तै यो गीतमा सरोज खनाललाई खेलाउन पाए हुन्थ्यो भन्ने सोचेका रहेछन् । मैंले पनि त्यही सोचिरहेको थिएँ । नभन्दै भिडियोमा सरोज खनाललाई नै खेलाउन मौका पायौं । उहाँले हाम्रो सोचलाई असाध्यै न्याय गर्नु भएको छ,’ भोला रिजालले भने ।

कार्यक्रममा डा. कपिलकी छोरी तारा रिजालले गाएको ‘मलाई नसोध कहाँ दुख्छ घाउ’को कभर गीतको भिडियो पनि देखाइएको थियो ।  यो गीतका वास्तविक गायक नारायण गोपाल हुन् । यो भिडियोको निर्देशन पनि डा. कपिलले नै गरेका हुन् ।

भिडियो:

 

 

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१