ढुक्क भएर सबै संस्थामा मजदुर यूनियन खोल्न जिफन्ट अध्यक्षको निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ भाद्र २०७४, आईतवार २०:३९

काठमाडौ । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट)का अध्यक्ष विष्णु रिमालले ढुक्क भएर सबै संस्थामा यूनियन खोल्न मजदुरहरुलाई निर्देशन दिएका छन् । नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाईन्स–कर्मचारी मजदुर यूनियन(यूनिट्राभ)को १२ औं राष्ट्रिय महाधिबेशन उद्घाटन गर्दै जिफन्ट अध्यक्ष रिमालले श्रम ऐनले गरेको व्यवस्था अनुरुप ढुक्क भएर यूनियन खोल्न र यूनियनमा लागेका श्रमिकलाई अन्तिम अवस्थासम्म पनि निकाल्न नपाइने बताए । उनले भने, “अब यूनियनमा भाग लिन पाईन्न भनियो भने व्यवसायीको खराब आचरण भएको मानिनेछ । व्यवसायीलाई कारबाही हुनेछ । यूनियनका मानिसलाई अब अन्तिमसम्म निकाल्न पाईदैन । अब ढुक्क भएर यूनियन खोले हुन्छ । श्रम ऐनले यो व्यवस्था गरेको छ ।”
नयाँ श्रम ऐनले व्यवसायीको आँखामा हेर्दा सबै श्रमिक अस्थायी भएको र मजदुरको आँखाबाट सबै स्थायी भएको बताए । मजदुरका जायज नीति नियम बनाउन सुझाव दिंदै त्यसको पक्षमा लडाई गर्न महासंघ संधै लागिपर्ने उनले बताए ।
यूनिट्राभका मजदुरले नेपालको मजदुर आन्दोलनलाई संसारमाझ चिनाएको
उनले यूनिट्राभमा आबद्ध भएका मजदुरहरुले यो दुनियामा आफु मरेर पनि नेपाल, नेपालको मजदुर आन्दोलनलाई संसारमाझ चिनाएको बताए । किर्तिमानी आरोही स्व.दोर्जे खत्रीले क्लाईमेट चेन्जका बारेमा संसारमा महत्वपूर्ण सन्देश फैलाएको र उनको नामसँगै संसारले नेपाल, यूनिट्राभका साथै जिफन्टको नाम सँगसँगै लिने र यो नेपालको सम्पति भएको उनको भनाई थियो ।
अब श्रमिकलाई देख्नासाथ नाक खुम्च्याउनेको भविष्य अन्धकारमा पर्ने
अध्यक्ष रिमालले भने, “कुनै पनि व्यवसायीले श्रमिकलाई देखेर डराउनुपर्ने स्थिति र व्यवसायीले श्रमिकलाई देख्नासाथ मुख खुम्च्याउनुपर्ने स्थिति आयो भने त्यो देशको भविष्य अन्धकारमा गयो । व्यवसायी देख्दा यो मेरो सहयात्री हो भनेर श्रमिकले देख्ने स्थिति र श्रमिक देख्दा मेरो श्रीवृद्धि गर्ने लेबर फोर्स यहि हो भनेर व्यवसायीले देख्ने स्थिति भयो भने मात्रै गति लिने स्थिति आउने हो ।”
एउटै डोरीमा सगरमाथा चढेसरी व्यवसायी र मजदुर मिल्नुपर्छ 
व्यवसायी र श्रमिक चुम्बकको दुई ध्रुव भएको उल्लेख गर्दै उनले दुई ध्रुव मिलेमा विज्ञानसम्मत ढंगले व्यवसायले गति लिने उनको दाबी थियो । उनले व्यवसायी र श्रमिकबीचमा एउटै स्वार्थ व्यवसाय अगाडि बढाउनुपर्ने भएपनि मजदुरलाई उच्च ज्याला र व्यवसायीलाई उच्च नाफा कमाउने दुई फरक स्वार्थलाई मिलाएर अगाडि बढ्नुपर्ने भनाई राखे । एउटै डोरिमा सगरमाथामा चढेसरी व्यवसायी र मजदुर मिलेर अगाडि बढ्नुपर्ने उनले बताए ।
खल्तीमा कार्यालय राख्ने र कानुनलाई नमान्नेहरुलाई नछोड्ने चेतावनी 
अब श्रम ऐनले दिएको अधिकार अनुसार एकजना वकिलका भरमा एजेन्सीलाई चलाउँछु भन्ने नदेख्न आग्रह गरे । उनले कानुनलाई नटेर्नेहरुलाई अब श्रमिकले नछोड्ने चेतावनी दिंदै भने, “हामी चिल्लो कागजमा लेखेर प्रत्येक एजेन्सीको ढोकामा, एमडी बस्ने कोठाभित्र तपाईहरुले श्रम ऐनका कुरा टाँसिदिनुपर्छ । एच आर हेर्ने म्यानेजरको कोठामा टाँसिदिनुस् । त्यसभन्दा तल कसैले गर्न पाउँदैन । कानुनको कडाईपन भनेको न्यूनत्तम कुरा पूरा नगर्ने कुनैपनि व्यवसायीलाई अब यो कानुनले सहँदैन । अब खल्तीमा कार्यालय राख्नेहरु,कागजमा यूनियन बनाउनेहरुका दिन गए  ।”
सरकार र व्यवसायीले आधिकारिक यूनियनलाई मात्र मान्ने कार्य नहुँदासम्म व्यवसाय अगाडि बढ्न नसक्ने उनले बताए ।
अब प्रत्येक गाउँमा पर्यटन प्रोडक्ट तयार बन्नुपर्छ
उनले संघियताको नयाँ अबधारणा अनुसार प्रत्येक गाउँपालिका,प्रदेशमा कुनै न कुनै पर्यटन प्रोडक्ट तयार बनाईनुपर्ने बताए ।उनले भने, “पर्यटन व्यवसायलाई अझ बढि फैलाउने अवस्थामा लैजानुपर्छ । संघियताको मतलब अब प्रत्येक गाउँपालिका र प्रदेशमा पर्यटकलाई डाक्ने कुरा के हुनसक्छ भनेर तपाईको गाउँमा पर्यटक डाक्ने बनाइनुहुन्छ । अब गाउँपालिकाले पर्यटक डाक्न सकेन भने त्यसको  अस्तित्व रहन्न भन्ने बुझ्नुपर्छ । केहि नगरे पनि फन्को मार्ने ठाउँ बनाएर पर्यटकलाई आमन्त्रण र आकर्षण गराउनुपर्छ ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण अर्यालले श्रमिकका जायज माग पूरा गराउन कुनैपनि व्यवसायीसँग नडराउन मजदुरलाई आग्रह गर्दै व्यवसायीले पनि मजदूर देख्नासाथ टाउको दुखाउने अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।
त्यस्तै ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)का अध्यक्ष चन्द्रप्रसाद रिजालले पर्यटन क्षेत्रमा साधनस्रोतको गलत प्रयोग हुने अवस्थाको अन्त्य गर्नुपर्ने  भन्दै मजदुरको मुद्धा सम्बोधन गर्न व्यवसायीहरुले इमान्दारिता देखाउनुपर्ने बताए ।
कार्यक्रममा आईएलओ गभर्निङ बढिका सदस्य विन्दा पाण्डेले व्यवसायीहरुले मजदुरहरुसँग सहकार्य गर्न आग्रह गर्दै यदि सहकार्य नभए बिद्रोह गर्न बाध्य हुने चेतावनी दिईन् । उनले मजदुरप्रतिको अन्यायलाई आवश्यक परे जिफन्टको सहयोगमा अन्तराष्ट्रियकरण गराएर उनीहरुलाई न्याय दिलाउने बताईन् ।
कार्यक्रममा २१ पटक सगरमाथाको सफल आरोहण गरेका कामी रिता शेर्पा सहित १०० भन्दा बढि किर्तिमानी आरोहीहरुलाई सम्मान गरिएको थियो । महाधिबेशनबारे प्रकाश पार्दै यूनिट्राभका अध्यक्ष श्यामकुमार राई, महासचिव सुमन पराजुली लगायतले पर्यटन क्षेत्रका मजदुर नियम र बिधिसंगत ढंगले आफ्नो कार्यस्थलमा काम गर्ने र यदि कसैले हेप्ने÷चेप्ने कार्य गरेमा कुनैपनि व्यवसायीलाई नछाडिने चेतावनी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१