केरुङबाट नेपालतर्फ ल्याइएका सामग्री एक महिनादेखि भन्सारमै थन्किए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ भाद्र २०७४, आईतवार ०८:१७

काठमाडौं । रसुवागढी भन्सार अवरुद्ध हुँदा चीनको केरुङबाट नेपालतर्फ ल्याइएका सामग्री एक महिनादेखि भन्सारमै थन्किएका छन् । भन्सार कार्यालयले निर्धारण गरेको मूल्यसूची नै साबिकको भन्दा बढेपछि सामग्रीको भन्सार शुल्क तिर्न कठिन भएको भन्दै व्यापारीले भन्सार बहिष्कार गरेको व्यापारी धर्म पौडेलले बताए । ‘भन्सार विभागको मूल्यांकन गोष्ठीपछि रसुवा भन्सार कार्यालयले मालवस्तुको मूल्य वृद्धि गरेको छ,’ उनले भने, ‘पैठारी गर्ने व्यवसायीले सामानको मूल्य असार मसान्तभन्दा पनि बढी पर्ने हुनाले सामान छुटाएका छैनन् ।’

 

व्यापारीहरूले पार्टीवालाबाट समायोजन गरिएको भन्सार शुल्क तिरेर दिनै नसकिने रकम संकलन गरेकाले पनि सामान नलगेको अर्का व्यापारी उत्तम गौतमले बताए । ‘साउन लागेलगत्तैदेखिको भन्सार हुन सकेको छैन,’ उनले भने, ‘१५ दिनजति चिनियाँ भन्सार मूल्य बढाउँदा आयात ठप्प भयो, त्यसपछि नेपालतर्फ सबै सामग्रीमा साविकको भन्सार मूल्यांकनभन्दा वृद्धि गरिएकाले ठप्प भएको हो ।’ आजको नयाँ पत्रिकामा खबर छ ।

भन्सार सुचारु गर्न भन्सार कार्यालयले व्यापारीसँग नियमित बैठक गरे पनि त्यस्ता बैठक निष्कर्षविहीन हुँदै आएका छन् । दुवै पक्षले आ–आफ्नो अडान नछाड्दा बैठक औपचारिकतामा सीमित हुने गरेको छ । अहिले ऊन, स्याउ र अत्यावश्यकीय सामग्रीको मात्र भन्सार भएको प्रमुख भन्सार अधिकृत केदार पनेरुले बताए ।

चाडपर्वलाई लक्षित गरेर ल्याइएका रेडिमेट कपडा, कस्मेटिक सामान, चप्पल, जुत्तालगायतका सामान रसुवागढी भन्सारमै थन्किँदा व्यापारीहरू पनि समस्यामा परेका छन् । व्यापारीले सामान नउठाउँदा आंशिक रूपमा प्रभाव परे पनि भन्सारको काम भने सञ्चालन भइरहेको भन्सार प्रमुख पनेरुले बताए ।

कन्टेनरका कारण ट्राफिक जाम
भन्सार नहुँदा अहिले टिमुरेदेखि रसुवागढीसम्मको २ किलोमिटर सडकमा कन्टेनरको लाम लागेको छ । त्यस्तै यार्डमा पनि कन्टेनर भरिभराउ छन् । दैनिक मालबाहक कन्टेनर थपिँदै जाँदा ट्राफिक जाम हुन थालेको छ । जसका कारण ट्राफिक व्यवस्थापनमा समस्या हुन थालेको सीमा प्रहरी चौकी टिमुरेले जनाएको छ । अहिले यार्ड र सडकमा गरी करिब ८ सय मालबाहक कन्टेनर रहेको बताइएको छ ।

साँघुरो सडकमा सवारी राख्दा जोखिम बढेको कन्टेनरचालक सरोज तामाङले बताए । ‘भन्सार नभएर बसेको एक महिना हुन लागिसक्यो,’ उनले भने, ‘वर्षात्को समय छ, साँघुरो सडकमा गाडी राख्दा माथिबाट पहिरो आएर पुर्छ कि भन्ने डर बढ्न थालेको छ ।’ गत बिहीबारको वर्षापछि पहिरो जाँदा रसुवागढी भन्सार यार्डमा रोकिराखेको ना।२ख ४६९४ नम्बरको मालबाहक कन्टेनरमा क्षतिसमेत पुगेको छ ।

राजस्व संकलन प्रभावित
भन्सार अवरुद्ध हुँदा रसुवागढी भन्सारबाट संकलन हुने राजस्वमा पनि गिरावट आएको छ । मुख्य सिजन दसैँ, तिहारलगायतका चाडपर्वका लागि तयारी पोसाक आयात गरिएको छ, तर त्यसको भन्सार नहुँदा राजस्वमा गिरावट आएको हो । चालू आर्थिक वर्षको पहिलो महिनामा २५ करोड राजस्व असुली लक्ष्य राखेको भन्सार कार्यालयले ६ करोड मात्र असुली गरेको भन्सार प्रमुख केदार पनेरुले बताए । चिनियाँ भन्सार मूल्यवृद्धि र नेपालतर्फ व्यापारीहरूले समयमै भन्सार नतिरिदिँदा राजस्व असुलीमा असर परेको उनको भनाइ छ । पछिल्लो समय नेपाल र चीनबीच सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढी व्यवस्थित रूपमा सञ्चालन नहुँदा अस्तव्यस्त बन्दै गएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१