श्वास गन्हाउनुका मुख्य ६ कारण र छुट्कारा पाउने उपाय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ श्रावण २०७४, मंगलवार ०७:१५

-डा. रोसिना भट्टराई, कान्तिपुर डेन्टल हस्पिटल

श्वास गन्हाउने अहिले आम मानिसको साझा समस्या भएको छ । युवादेखि वृद्धहरुसम्म यो समस्याबाट ग्रसित देखिन्छन् । श्वास गन्हाउने अनेक कारण छन् । ती कारण पहिल्याएर बानी व्यवहारमा परिवर्तन गर्न सकियो भने यो समस्याबाट छुट्कारा पाउन सकिन्छ । तीमध्ये श्वास गन्हाउने केही कारण र त्यसबाट छुट्कारा पाउने उपाय यहाँ उल्लेख गरिएको छ ।

खाना–  यो  सबैलाई अवगत नै छ कि प्याज, लसुन, चिज, अम्लयुक्त खानेकुरा, कफि आदिको सेवनले पनि अस्थायी रुपमा मुख गन्हाउने गर्छ । यस बाहेक विभिन्न खानेकुराहरु दाँतमा अड्किने हुँदा मुखमै रहन्छन् । जसले सुक्ष्म जिवाणु अनुकुल वातावरण सिर्जना हुन्छ र मुखलाई हानी पुर्याउनुका साथै गन्हाउने समस्या निम्त्याउँछ ।
सूर्तिजन्य पदार्थको सेवन– चुरोट, खैनी बिंडी, पान, गुट्खा लगायतका सूर्तिजन्य पदार्थको सेवन गर्नाले पनि श्वास गन्हाउने सामस्या आउन जान्छ । यसका साथसाथै यी पदार्थले विभिन्न रोग निम्त्याउने गर्छन्  ।  गिजाका रोगहरु, मुखको क्यान्सर आदिका कारण पनि मुखबाट नराम्रो गन्ध आउने गर्छ ।

मुख स्वास्थ्यमा ध्यान नदिनाले– जो मनिस नियमित रुपमा दाँत माझ्दैन, विशेष गरी दुई दाँत बिचको फोहोर सफा गर्न बनाइएको रेशमको काँचो धागोको प्रयोग गर्दैन, मुख कुल्ला गर्दैन र जसको मुखमा दन्तलेउ र दन्तपत्थर जम्मा हुन थाल्छ । यस्तो अवस्थामा श्वास गन्हाउने समस्या बढी हुन्छ ।

अन्य रोगहरु–  पिनाशको रोग, निमोनिया, गलाको संक्रमण, डायबिटिज, पेटका रोगहरु, कलेजोका रोगहरु, मृगौलाका रोगहरु आदि भएको अवस्थामा पनि मुख गन्हाउने समस्या देखिने गरेको पाइन्छ ।

मुख सुक्खा हुने अवस्था– मुखमा र्यालको ग्रन्थिबाट र्यालको मात्रामा कमी भएपछी मुख सुक्खा गर्छ । यस्तो अवस्थामा छिन–छिनमा पानी तिर्खा लाग्ने, घाँटी सुक्खा भएको महसुश हुने, नाक सुक्खा हुने गर्छ । साथसाथै सुक्खा मुख भएका मानिसलाई श्वास गन्हाउने समस्याले पनि सताउने गर्छ ।

गर्भावस्थामा– गर्भवती हुनाले नै मुख गन्हाउने भने होइन तर यस कारण वाकवाकी लाग्ने, उल्टी हुने, शरिरमा पानीको मात्रा कम हुने, शरिरभित्रको रसायनिक तत्व वा हार्मोनको कारणले गर्दा श्वास गन्हाउने गर्छ ।

यी समस्याबाट छुट्कारा पाउन के गर्ने त ?
दिनमा दुईचोटी दाँत माझ्नुका साथसाथै जिब्रोलाई पनि सफा राख्नु अत्यावश्यक छ । दाँत मझ्ने ब्रस वा जिब्रो सफा गर्नेको नियमित प्रयोग गर्न सकिन्छ ।  रेशादार खानेकुराको सेवन गर्ने, खानेकुरालाई दाँतमा फस्न नदिने, शरिरलाई तन्दुरुस्त बनाउने खालका खानेकुरा खाने जस्ता बानीको विकास गर्नुपर्छ ।

दिनमा पटक–पटक पानी पिउने, जाइलिटोल भएको चिनी रहित  गुद चपाउने, मुख कुल्ला गर्ने औषधी प्रयोग गर्ने, अ्म्लयुक्त खानेकुराको सेवन कम गर्ने गरेमा पनि निकै फाइदा हुने गर्छ । कफि लगायत अन्य क्याफीन भएका पेय पदार्थको सेवनमा पनि कमी ल्याउनुपर्छ ।

तसर्थ,  मुख, श्वास गन्हाउने  अवस्था आफैंमा कुनै रोग नभएर यसले शरिरको अर्को कुनै अवस्थाको बारेमा जानकारी दिन्छ । तसर्थ, यो समस्या देखा परेमा लापरवाही नगरिकन नजिकैको दन्तचिकित्सकलाई देखाउनुहोला । यसबाट आउन सक्ने थप समस्याहरु बाट पनि बच्नुहोला । सुन्नमा सानो सामान्य लागेपनि यसले भबिष्यमा जटिल समस्याहरु निम्त्याउन सक्छ । त्यसैले मुख स्वास्थ्यलाई आफ्नो शरिरको अन्य भागजस्तै ख्याल गर्नु आवश्यक छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०