बाउन्स चेक काटेर तपाईलाई कसैले झुलाउँदै त छैन ? यसरी गर्नुहोस असुली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ श्रावण २०७४, आईतवार ०८:२५

तपाईले कुनै व्यक्ति वा संस्थाबाट असुल गर्ने रकम चेकबाट संकलन गर्दै हुन्छ र पटक पटक खातामा पैसा नभएको बैंकको जवाफले हैरान हुनुहुन्छ भने चनाखो बन्नुस् । तपाई अलि सक्रिय बन्न सकेको खण्डमा त्यसरी पैसा नभएको खाताको चेक काट्नेलाई बैंकिङ कसुर गरेको प्रमाणित गर्न सक्नु हुन्छ । साथै तपाईले पाउनु पर्ने रकम पनि असुल हुन्छ ।

सर्वप्रथम आफुले अरुलाई रकम भुक्तान गर्दा काटिने चेकका बारेमा सचेत हुनुस् । खातामा पैसा नभएको अवस्थामा चेक काट्ने गर्नु भएको छ भने त्यस्तो काम तत्काल बन्द गर्नुस् ।

हस्ताक्षर नमिलेको चेक काट्नु भयो भने पनि तपाई समस्यामा पर्न सक्नु हुन्छ । खातामा पैसा नभएको अथवा हस्ताक्षर नमिलेको चेक काटेको खण्डमा त्यस्तो चेक वाउन्स भएको मानिन्छ । तर चेक बुझेको व्यक्तिले त्यसलाई बाउन्स गराउन आग्रह गरेको खण्डमा मात्र बैंकले चेक बाउन्स गराउँछ ।

चेक बाउन्स हुनु भनेको कार्वाहीको भागेदार हुनु हो । यसका अलावा जसको चेक बाउन्स हुन्छ, उक्त चेकमा उल्लेख भएको रकम पनि चेक संकलन गर्नेलाई उपलब्ध गराइन्छ ।

रकम भुक्तानीका लागि आउने तिब्र दवाबका कारण जानेर नै बाउन्स चेक दिएर थमथमाउने प्रयास बढ्दो छ । तपाईले त्यस्ता चेकलाई केही प्रकृया पुरा गर्नु भयो भने चेक जारी गर्नेलाई कार्वाही हुन्छ ।

यसको मतलव चेक मात्र दिएर तपाई कसैलाई झुलाउन खोज्दै हुनुहुन्छ वा तपाईलाई कसैले झलाई रहेको छ भने चेक बुझ्ने पक्षले चेक काट्नेलाई चेक वाउन्स गराएर कार्वाहीको दायरामा ल्याउन सक्छ । साथै उसले आफुले पाउनु पर्ने रकम पनि चेक जारी गर्ने संस्था वा व्यक्तिबाट असुल गर्दछ ।

कसरी गराउने चेक बाउन्स ?

कुनै संस्था वा व्यक्तिले तपाईलाई बैंक खातामा रकम मौज्दात नगराई चेक काट्छ भने तपाईले उक्त चेकलाई बाउन्स गराउन बैंकका कर्मचारीसँग आग्रह गर्नु पर्छ । पहिलो पटक वा दोस्रो पटक एउटै चेक बाउन्स भएको खण्डमा बैंकले चेक वाहकको खाताबाट केही रकम काट्छ । तर तपाईले सोही चेकलाई बिस्तृत विबरण सहित तेस्रो पटक बाउन्स गराउनु भयो भने चेक जारी जारी गर्ने व्यक्तिले बैंकिङ कसुर गरेको ठहर्छ । सोही अनुसार चेक जारी गर्नेलाई कार्वाही हुन्छ ।

तपाईले बैंकका कर्मचारीबाट प्रत्येक पटक चेक बाउन्स भएको प्रमाण भने संकलन गर्नु पर्ने हुन्छ । किनकी तपाईको आग्रहलाई वेवास्ता गर्दै बैंकले आफ्नो ग्राहकको बचावटका लागि चेक बाउन्स नगराइदिन सक्छन् । यसमा तपाई चलाख हुनु भएन भने सोचे जस्तो नतिजा नआउन सक्छ । चेक बाउन्स गराउन बैंक तयार नभएको अवस्थामा सो सम्बन्धमा राष्ट्र बैंकमा उजुरी गर्न सकिन्छ ।

सातामा एक पटक मात्र त्यस्तो चेक बाउन्स गराउन मिल्छ । अर्थात तपाई दिनहुँ चेक लिएर बैंक जानु हुँदैछ भने पहिलो पटक चेक बाउन्स गराएको एक साता पछि दोस्रो पटक चेक बाउन्स गराउन सक्नु हुन्छ । दोस्रो पटक चेक बाउन्स गराई सके पछि तपाइले चेक जारी गर्ने व्यक्ति वा संस्थालाई कालो सूचीमा राखि पाउँ भनेर निवदेन पनि दिनु पर्ने हुन्छ । प्रत्येक पटक चेक बाउन्स भएको प्रमाण संकलन गर्न भने छुटाउनु हुँदैन ।

यति गरे पछि चेक जारी गर्ने पक्ष कालो सूचीमा पर्छ । अर्को साता तेस्रो पटक पनि तपाईले रकम पाउन सक्नु भएन भने फेरी बाउन्स गराएर त्यसको प्रमाण संकलन गर्नु पर्ने हुन्छ ।

यति गर्नु भयो भने सम्वतः तपाईलाई उपलब्ध गराइएको चेकको रकम असुल हुन सक्छ । तर उल्लेखित प्रकृया पुरा गर्दा पनि चेक वाहकले रकम उपलब्ध नगराए तपाईले प्रहरीमा सबै प्रमाण सहित उजुरी गर्नु पर्छ । तपाईले उपलब्ध गराएको प्रमाणका आधारमा प्रहरीले त्यस्तो व्यक्तिलाई नियन्त्रणमा लिन्छ ।

त्यस पछि बैंकिङ कसुर तथा सजाय ऐन अनुसार प्रकरीले कार्वाही प्रकृया अघि बढाउँछ । तपाईले सबै प्रमाणको प्रतिलिपि बुझाएर सक्कल प्रति आफुसँग राख्नु पर्ने हुन्छ ।

प्रहरीले अदालतमा मुद्धा प्रकृया अघि बढाए पछि तपाईले सबै प्रमाण अदालतमा पेश गर्नु पर्छ । सोही प्रमाणका आधारमा अदालतले तपाईको पक्षमा फैसला गर्छ भने चेक जारी गर्नेको जाय जेथा बिक्री गरेर तपाईलाई रकम भुक्तान गर्न पनि आदेश दिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१