विमलको नेतृत्वमा नेपाली युवा टोली भोलि बंगलादेशविरुद्ध मैदानमा उत्रिँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ असार २०७४, मंगलवार ०७:०५

यही असार २९ गते हुन गइरहेको ‘यू-२३ नेपाल-बंगलादेश’ मैत्रीपूर्ण खेलका लागि सातदोबाटोस्थित एन्फाको मैदानमा अभ्यास गर्दै नेपाली खेलाडी। तस्बिरः अनिश रेग्मी

एएफसी युथ–२३ छनोटको तयारीमा रहेको नेपाल र बंगलादेश मंगलबार मैत्रीपूर्ण खेलका लागि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे उत्रिँदैछन्।

गत वर्ष बंगलादेशको ढाकामा बंगबन्धु कप र साग गेम्सको उपाधि जितेको नेपाली युथ–२३ टिमका लागि मंगलबारको मैत्रीपूर्ण खेल आफ्नो पुरानो शाख जोगाउने अभियानको रुपमा रहेको छ।


स्ट्राइकर विमल घर्ती मगरको कप्तानीमा रहेको नेपाली टिम प्रायः राष्ट्रिय खेलाडीले भरिपूर्ण छ। बंगलादेश पनि एएफसी युथ–२३ छनोटका लागि तयारीका साथ काठमाडौं आएको छ। नेपाललाई साग गेम्सको उपाधि दिलाएका प्रशिक्षक राजुकाजी शाक्यले बंगलादेशविरुद्धको खेललाई एएफसी युथ–२३ छनोटअगाडि आफ्नो खेलको मूल्याङ्कन गर्ने अवसरको रुपमा लिएका छन्।

नेपालले युनाइटेड अरब इमिरेट्स (युएई)मा शनिवारदेखि सुरु हुने एएफसी युथ–२३ छनोटका लागि ढिलो तयारी सुरु गरेको थियो।
‘टिम संयोजन तथा आफ्नो रणनीति लागु गर्न अभ्यास खेल निकै आवश्यक हुन्छ। हामी बंगलादेशविरुद्ध आफ्नो कमजोरी र बलियो पक्षसँग पनि साक्षात्कार हुनेछौं,’ प्रशिक्षक शाक्यले सेतोपाटीसँग भने।

उनले सोमबार आयोजित पत्रकारसम्मेलनमा आफूहरु उज्वेकिस्तान, आयोजक युएई र लेबननजस्तो बलियो समूहमा रहेको बताए। यस्तै, कप्तानको जिम्मेवारी पाएका विमलले ठूलो प्रतियोगितामा नेतृत्व गर्न पाउनुलाई सम्मानको रुपमा लिएको बताए।

‘अन्य प्रतियोगिता जस्तै हामीले यस प्रतियोगिताका लागि पनि कडा अभ्यास गरेका छौं। दोस्रो चरणमा प्रवेश पाउन सफल भएको खण्डमा त्यो हाम्रो लागि ठूलो उपलब्धी हुनेछ,’ विमलले भने।

बेलायतमा जन्मिएर अस्ट्रेलियामा बसाइँ सरेका एन्ड्रयु ओर्ड एक महिनाअघि मात्र बंगलादेशको प्रशिक्षक नियुक्त भएका थिए। दक्षिण एसियामा यो उनको पहिलो खेल हो। त्यसैले उनी मंगलबारको खेललाई लिएर निकै उत्साही छन्।

‘मलाई नेपाली फुटबलको विषयमा त्यति ठूलो जानकारी छैन्। दक्षिण एसियामा नौलो पनि छु,’ एन्ड्रयुले सोमबार पत्रकार सम्मेलनमा भने, ‘नेपालसँग खेल्न राम्रो तयारीका साथ हामी आएका छौं। मैले नेपाल र यमनबीचको खेल पनि हेरेको थिए।’

बंगलादेशले एएफसी युथ–२३ छनोटअन्तर्गत आयोजक प्यालेस्टाइन, जोर्डन र ताजकिस्तानविरुद्ध खेल्दैछ।

प्यालेस्टाइनमा पनि आर्टिफिसियल मैदानमा खेल्नु पर्ने भएका कारण सातदोबाटोको आर्टिफिसियल मैदानमा हुने मैत्रीपूर्ण खेल आफूहरुका लागि राम्रो अनुभव हुने एन्ड्रयु बताउँछन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१