देशैभर मनसुन सक्रिय, ठूला नदीमा पूर्वसूचना दिने उपकरण जडान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ असार २०७४, बुधबार ०७:२७

काठमाडौं,७ असार । एक हप्ताअघि पूर्वीनेपाल हुँदै प्रवेश गरेको मनसुन आठ दिनपछि देशैभर सक्रिय भएको छ । मंगलबार बंगालको खाडीबाट आउने पूर्वी वायु बलियो भएपछि देशैभर मनसुन सक्रिय भएको हो । देशका अधिकांश भूभागमा वर्षासँगै सुरु भएको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका मौसमविज्ञ सुवास रिमालले बताए ।

 

बुधबार सुदूरपश्चिमको तराई क्षेत्रबाहेक अधिकांश भूभागमा वर्षा हुने महाशाखाको अनुमान छ । सुदूरपश्चिमको तराई क्षेत्रमा भने मौसम बदली मात्र हुन सक्ने अनुमान छ ।

प्रिमनसुन र मनसुनमा प्राकृतिक प्रकोपबाट धेरै विनाश हुने भएकाले मातहतका सबै निकायलाई तयारी अवस्थामा रहन गृह मन्त्रालयले निर्देशन दिएको छ । ‘हामीले प्रिमनसुन सुरु भएलगत्तै १० चैतमा गृह मन्त्रालयमतहतका सबै निकायलाई प्राकृतिक प्रकोपबाट हुन सक्ने जोखिमका विषयमा तयारी अवस्थामा रहन निर्देशन दिइसकेका छौँ,’ गृह मन्त्रालयका सहसचिव कृष्णबहादुर राउतले भने । प्राकृतिक प्रकोपबाट हरेक वर्ष मानवीय तथा भौतिक क्षति हुने भएकाले मन्त्रालयको नियमित कार्यतालिकाअनुसार काम हुने राउतले बताए । प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । उनका अनुसार ५५ जिल्लाका आकस्मिक कार्यसञ्चालन केन्द्रलाई पनि तयारी अवस्थामा रहन भनिएको छ ।

ठूला नदीमा पूर्वसूचना दिने उपकरण जडान
उच्च जोखिममा रहेका केही नदीमा तीन दिनअघि पूर्वसूचना दिने उपकरण जडान गरिएको जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट विनोद पराजुलीले बताए । यस वर्षदेखि कर्णाली नदी क्षेत्र, पश्चिम सेती, भेरी, दाङ बबई, नारायणी नदी, कालीगण्डकी, सेती, मादी, मस्र्याङ्दी, बुढीगण्डकी र त्रिशूली नदीमा बाढीको पूर्वसूचना दिने उपकरण जडान गरिएको हो । पश्चिम राप्ती, कोसी नदीमा उपकरण राख्ने काम अन्तिम चरणमा पुगेको विभागले जनाएको छ ।

अत्याधुनिक प्रविधिको प्रयोग गरी जलाधार क्षेत्रमा परेको पानीको आधारमा बाढीको तीन दिनअघि पूर्वानुमान गर्न सकिने पराजुलीले बताए । ‘हामीले नदी वा खोलाको जलाधार क्षेत्रका ९० ठाउँमा वर्षामापन गर्ने उपकरण राखेका छौँ,’ उनले भने, ‘सोही वर्षाको आधारमा बाढी कति ठूलोसम्म आउन सक्छ भन्ने अनुमान गर्न सक्छौँ ।’ बाढीले अत्यन्तैै प्रभावित गर्ने नदी वा खोलाका जलाधार क्षेत्रमा वर्षामापन केन्द्रले दिएको सूचनाका आधारमा तीन दिनअघि सूचना दिइनेछ भने बाँकी नदीमा आठ घन्टाभन्दा अगाडि पूर्वसूचना दिन सकिने विभागले जनाएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०