के हो मानसिक समस्या ?

मानसिक स्वास्थ्यका बारेमा प्रायः मानिसमा गलत धारण पाइने गरेको छ । मानसिक रोग लागेको भन्नासाथ ‘पागल’ भएको भन्ने सोच्ने गरिन्छ । तर, मानसिक रोगी भन्नासाथै ‘पागल’ बाहेक अरु समस्या भएका पनि जान्ने गरिन्छ । मानिसमा विद्यमान यस्तो धारणा हटाउन जनचेतनामुलक कार्यक्रम गर्नुपर्छ । प्रायजसो मानसिक चिकित्सकले मानसिक समस्यालाई मनोरोग तथा नशाको रोग भन्ने गर्छन् । मानसिक स्वास्थ्यअन्तर्गत धेरैजसोमा डिप्रेशन र एन्जाइटी (डर, त्रास) को समस्या हुने गरेको पाइन्छ ।
प्रायजसो बिरामी पहिले अन्य रोगको आशंकामा अरु डाक्टरकहाँ जान्छन्, निको नभएको पाएपछि मात्र मानसिक विशेषज्ञकहाँ जाने गरेको पाइन्छ । किनभने मानसिक रोगीहरु टाउको दुख्ने, निद्रा नलाग्ने, डर लाग्ने, मन उदास भैरहने, जोसजाँगर हराएर जाने, मुटु ढुकढुक हुने, सास फेर्न गाह्रो हुने, बेहोश हुनेजस्ता लक्षण लिएर संबन्धित डाक्टरकहाँ जान्छन् । जसका कारण उनीहरुले धेरै खर्च गरिसकेका हुन्छन् । अन्तिममा मात्र मनोरोग विशेषज्ञकहाँ जाने गरेको पाइन्छ । सामान्य उपचारपछि बिरामी निको भएको पाइन्छ । तर उनीहरुले त्यतिन्जेलसम्ममा धेरै खर्च गरिसकेका हुन्छन् ।
तनाव मुख्य कारण भएपनि मानसिक रोगका अन्य धेरै कारण हुन्छन् । तनावका धेरै कारण हुन्छन् । जसमा वंशाणुगत, पारिवारिक, मानसिक, आर्थिक, सामाजिक जस्ता तनावले मानसिक रोग बढाउन भूमिका खेल्छन् ।
श्रीमानले रक्सी खाँदा श्रीमतीलाई मात्र होइन छोराछोरीमा पनि तनाव उत्पन्न हुन्छ । रक्सीका कारण परिवारमा अनेकौ समस्या उत्पन्न भई तनाव हुन्छ । बुवाले रक्सी खाने तर, परिवारलाई समय नदिने जस्ताकारणले गर्दा बच्चामा नकारात्मक सोचाइका कारण पढाइमा समेत असर पर्छ, जसबाट उनीहरु पनि तनावग्रस्त बन्छन्  ।
त्यसैगरी अफिसमा काम गर्ने व्यक्तिमा पनि धेरै तनाव भएको पाइन्छ । आफ्नो काम कसरी सम्पन्न गर्ने, हाकिमको अगाडि कसरी राम्रो बन्ने जस्ता कारणले तनाव हुन जान्छ र डिप्रेशन भई अन्त्यमा मानसिक रोग लाग्ने डर हुन्छ । दाजुभाईबीच अंशबण्डाको झगडा, श्रीमानको अर्को केटी रहेको या दुईवटा श्रीमती भएको, सासुबुहारीको झगडा, श्रीमान श्रीमतीबीचको शंका हुने, केटाकेटीहरुलाई पिट्नेलगायतले गर्दा पनि तनाव हुन्छ ।

 

प्रायजसो डिप्रेसनका रोगी नै मानसिक रोग लिएर आउने गर्छन् । उनीरुमा निद्रा नलाग्ने, टाउको दुख्ने, मन उदास हुने, बिसर्ने, भोक नलाग्ने, तौल विस्तारै घट्दै जाने, आत्मविश्वास नहुने, छिट्टै रिसाउने हुन्छ र अन्त्यमा गएर आत्महत्याको कुरासमेत मनमा खेल्न थाल्छ । यस्ता लक्षण देखिएमा बिरामी मानसिक रोग विशेषज्ञकहाँ जाँच नगरी अन्य विशेषज्ञकहाँ गएको पाइन्छ । मनोराग विशेषज्ञकहाँ जाँदैमा पागल भन्ने हुदैन । त्यसैले यस्ता लक्षण देखिएमा मनोरोग विशेषज्ञसँग परामर्श गर्दा बिरामीलाई छिटो निको हुन्छ ।
अर्को ‘एन्जाइटी’ अर्थात् डर त्रास हुने समस्या हो । यस्तो अवस्थामा विनाकारण मुटुको धडकन बढ्ने, सास फेर्न गाह्रो हुने, छटपटी हुने, मनमा धेरै कुरा खेलाउने, एउटै कुरा बारम्बार मनमा आइरहने, गाडी चढ्न डराउनेजस्ता लक्षण हुन्छन् । घाँटीमा केही अड्केजस्तो लाग्ने, हातखुट्टा झमझम हुने या पोल्ने, चिसोतातो हुने, छट्पटी हुने पनि एन्टाइटीका लक्षण हुन् । यस्ता बिरामी विनाकारण बढ्यो वा ग्यास्ट्रिक भयो भन्दै संबन्धित चिकित्सककहाँ पुग्छन् । तर यो एन्जाइटीका कारणले भएको हो भन्ने बुझेका हुँदैनन् । यो एउटा मानसिक रोग हो । यस्ता लक्षण देखा परेमा मानसिक रोग विशेषज्ञकहाँ जानु उचित हुन्छ । यो समस्या मनोविशेषज्ञसंगको परामर्शपछि औषधि सेवन गरेर निको हुने समस्या हो ।
हिस्टेरिया अर्को मनोरोगको समस्या हो । यसलाई कन्भर्सन डिस्अर्डर पनि भनिन्छ । यो प्रायजसो युवायुवतीमा लाग्नेगर्छ । विशेषगरी युवतीहरु बेहोस भएर लड्ने हुन्छन् । गाउँघरमा भूत लागेको, देवीदेउता लागेको भन्दै धामीझाँक्री लगाउने गरेको पाइन्छ । तर, यो एक प्रकारको मानसिक रोग हो । प्रायः युवायुवती पारिवारिक झगडा, ब्वाइफ्रेन्ड, गर्लफ्रेण्डले छाडेको, पढाईको तनावजस्ता कारणले मानसिक तनावमा परेका हुन्छन् । यस्ता तनाव कसैलाई नभन्ने कारणले बेहोस भएर लड्ने हुन्छन् । यो प्रायः उस्तै उमेरका र उसैका नजिकका साथीमा हुनेगर्छ । एक जनामा भयो भने अर्कोलाई पनि हुने र सबै विद्यार्थीमा हुनेगर्छ । यो एउटा साइकोलोजिकल हो । आफ्नो साथी लडेको देखेपछि मलाई पनि त्यस्तै हुन्छ कि भन्ने डरले सबै बेहोस हुँदैं जान्छन् । यसमा कसैलाई परामर्शको जरुरी हुन्छ भने कसै–कसैलाई औषधिसमेत दिनुपर्ने हुन्छ ।
बुढेसकालमा बिसर्ने रोग ‘डिमेन्सिया’ अर्को मानसिक समस्या हो । तर हाम्रो समाजमा बुढेसकालमा यस्तो भएको भन्दै सामान्यरुमा लिने गरेको पाइन्छ । यसलाई पनि उपचार पछि कम गर्न सकिन्छ । यस्तो अवस्थामा विसर्ने, घरका परिवारमा शंका गर्ने, खाना खाए–नखाएको थाहा नहुने, व्यवहारमा परिवर्तन हुनेजस्ता लक्षण देखिन्छन् । सबैभन्दा कमन डिमेन्सीयाको टाइप अल्जाइमर हो । यसमा ब्रेनको नशा सुक्दै जान्छ ।
मानसिक रोग नियन्त्रण गर्न वा लाग्न नदिनका लागि निद्रामा विशेष ध्यान दिनुपर्छ । निद्रा राम्रोसंग पुगेमा कुनै पनि किसिमको तनाव हुँदैन । व्यक्ति ६ देखि ८ घण्टा सुत्नैपर्ने हुन्छ । साथै नशालु पदार्थ रक्सी, चुरोट, लागुपदार्थ आदि सेवन नगर्ने । यदि तनाव उत्पन्न भएमा परिवार वा साथी भाइसँग सेयर गर्नाले पनि यसलाई धेरै कम गर्न सकिन्छ ।

शुक्रबार, असार २, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री