रोनाल्डोको ह्याट्रिकमा कीर्तिमान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० बैशाख २०७४, बुधबार ०६:३३

क्रिस्टियानो रोनाल्डो आफ्नो पुरानो फर्ममा फर्किएपछि रियल म्याड्रिडले च्याम्पियन्स लिगको गत सिजन फाइनल पुगेको एट्लेटिको म्याड्रिडलाई सेमिफाइनलअन्तर्गत पहिलो लेगको खेलमा ३–० ले पराजित गरेको छ।

तीन वटै गोल रियलका लागि रोनाल्डोले गरे। उनले पहिलो हाफको १०, ७३ र ८६ मिनेटमा गोल गर्दै च्याम्पियन्स लिगको नकआउट चरणमा लगातार दुई खेलमा दुई ह्याट्रिक पुरा गरेका छन्। दुई साताअघि सान्टियागो बेर्नाबेउमै जर्मनी क्लब वायर्न म्युनिखविरुद्ध क्वाटरफाइनलअन्तर्गत दोस्रो लेगको खेलमा उनले ह्याट्रिक गोल गरेका थिए।

आज बिहान सेमिफाइनलअन्तर्गत आफ्नो घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा उनले टाउको र खुट्टा दुवैले गोल गरे।

उनले ह्याट्रिक गोल गर्दै थुप्रै कीर्तिमान बनाए। आजको ह्याट्रिक गोल च्याम्पियन्स लिगमा उनको १ सय ३ गोल थियो। उनले घरेलु मैदानमा सर्वाधिक ५४ र बाहिर ४७ गोल गरेका छन्। उनको यो च्याम्पियन्स लिगको नकआउट चरणमा ५२ औं गोल थियो।

एट्लेटिकोविरुद्ध ह्याट्रिक गर्ने क्रममा रोनाल्डोले च्याम्पियन्स लिगमा सर्वाधिक ह्याट्रिक गर्ने बार्सिलोनाका आफ्ना प्रतिद्वन्दी लिओनल मेसीको कीर्तिमानको पनि बराबरी गरेका छन्। च्याम्पियन्स लिगमा दुवैको ह्याट्रिक गोलको संख्या ७ पुगेको छ।

रोनाल्डोले युरोपेली प्रतिस्पर्धामा सेमिफाइनलमा सर्वाधिक गोल गर्ने कीर्तिमान पनि बनाएका छन्। उनले १८ खेलमा १३ गोल पुरा गरेका छन्। उनले च्याम्पियन्स लिगमा घरेलु मैदानमा सर्वाधिक गोल गर्ने मेसीको कीर्तिमानलाई पनि उछिनेका छन्। मेसीले ५२ गोल गरेका थिए।

उनले युरोपेली क्लब फुटबलमा १८ खेलमा सेमिफाइनलमा सर्वाधिक ११ गोल गर्ने आफ्ना क्लबका अग्रज अल्फ्रेडो डि स्टेफानोको कीर्तिमान पनि भंग गरेका छन्। उनी च्याम्पियन्स लिगको नकआउट चरणमा ५० गोल पुरा गर्ने पहिलो खेलाडी बन्न पुगेका छन्। उनले ६६ खेलमा यो कीर्तिमान बनाएका हुन्। उनीपछि मेसी छन्। मेसी ३७ खेलमा ५० गोल पुरा गर्न १३ गोलले पछाडि छन्।

उनको क्लब फुटबलमा यो ४७ औं ह्याट्रिक थियो। सन् २०१४ र २०१६ को च्याम्पियन्स लिगको फाइनलमा रियलसँग पराजय भएको एट्लेटिकोका लागि बुधबार बिहानको नतिजा लगभग प्रतियोगिताबाट बाहिरिएको अवस्था हो। तर, एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनीले फुटबलमा जे पनि जायज हुन सक्ने बताउँदै दोस्रो लेगको खेलमा आफूहरु खेलमा फर्किने प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१