राजधानीमै पानीको पाइप छोएको निहुँमा एक दलित महिलामाथि निर्मम कुटपिट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ चैत्र २०७३, मंगलवार ०६:३२

काठमाडौँ ,१५ चैत्र । राजधानीमै पानीको पाइप छोएको निहुँमा एक दलित महिलामाथि निर्मम कुटपिट भएको छ । टोखा, कोटाल-६ निवासी कमला नेपालीलाई छिमेकी शान्ता केसीले छिमेकीको आडमा कुटपिट गरेकी हुन् ।
यसरी भयो घटना
कमला नेपाली टोखाको आफ्नै घरमा बस्छिन् । उनीसँग छोराबुहारी, नातिनातिना पनि छन् । उनका श्रीमान भने रोजगारीका सिलसिलामा मलेसिया छन् । शान्ता केसीले कमला नेपालीलाई जग्गा बेचेकी थिइन् । गत भूकम्पमा घर क्षति भएपछि शान्ता कमलाको घरनजिकै घर बनार्इ बसेकी थिइन् ।
शान्ताको परिवारले प्रयोग गर्ने पानीको पाइपबाट चुहिएको पानी कमलाको परिवारले प्रयोग गर्दै आएको थियो । तर, पछिल्लो समय शान्ताले कमलालाई ‘तल्लो जात दमिनी’ भन्दै पानीको पाइप नछुन भनेकी थिइन् । यही विषयमा बेलाबेला भनाभन भइरहने पीडित परिवारले बतायो ।
शान्ता र कमलाबीच पानीको पाइप छोएको निहुँमा भनाभन भएपछि घटनाले ठूलो रुप लियो । कमलाको घरमा आएर शान्ताले कुटपिट गर्न थालिन् । त्यसपछि वरपरका छिमेकीको भीड लाग्यो । त्यहाँ दलित समुदायको दुई घर मात्र हुँदा पीडित परिवार डरले घरभित्र लुक्न बाध्य भयो ।
तर, श्रीमान सादुराम केसीले शान्तालाई उक्साउन थाले । शान्ताले कमलालाई बेहोस हुने गरी कुटपिट गरिन् । घटनालगत्तै पीडित परिवार टोखा प्रहरी चौकी पुग्यो । त्यसपछि कमलालाई ग्रान्डी हस्पिटल लगियो । शान्ता र उनका श्रीमानलाई सामान्य सोधपुछ गरी टोखा प्रहरीले छाडिदियो ।
पीडितका आफन्त न्यायका लागि चक्रपथ प्रहरी चौकीमा दलित तथा महिला अधिकारकर्मी सरु सुनारको विशेष पहलमा ४ फागुनमा घटनाको विवरण चक्रपथ प्रहरी निरीक्षक टंक प्रसाद भट्टराईलाई जानकारी गराए । लगत्तै पीडकका दम्पतीलाई प्रहरीले पक्राउ गर्यो । दुवै पक्षबीच छलफल चलेपछि पीडित परिवारले न्यायका लागि प्रक्रिया अगाडि बढाउन माग गरे ।
तर, गाउँका भलादमीहरु आएर पीडित र पीडक परिवार राखी हिरासतमै मेलमिलापका लागि दबाब दिएपछि मेलमिलाप गरिएको छ ।
‘नयाँ संविधान २०७२ ले निजी तथा सार्वजनिक ठाउँमा गरिने अपमान विभेदलाई सामाजिक अपराध घोषणा भनेको छ,’ उनले भनिन्, ‘यो अमानवीय व्यवहार हो, जघन्य सामाजिक अपराध हो । यस्ता घटनाका दोषीलाई कारबाही हुनुपर्छ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१